शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीका यस्ता छन् विशेषता

शनिबार, १२ फागुन २०७४, ०९ : ५३
शनिबार, १२ फागुन २०७४

काठमाडौं - सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ । 

काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ । 

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ । 

दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका्े–१ मा समेत पर्छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भई पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । सो मार्ग करीब नौ किलोमिटरको छ । 

सामान्य रुपमा वरपर ढुंगाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ । संस्थाका अध्यक्ष जनक तामाङले चम्पादेवीको ऐतिहासिकताको संरक्षण तथा व्यवस्थापनका लागि पुरातत्व विभागबाट करिब आठ लाखको लागतमा मन्दिर निर्माणमा सहयोग प्राप्त भएको बताए । 

विशेषता
विशेष गरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न सकिने बताउँदै उनले सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिने बताए । त्यहाँबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । लालीगुराँसले ढकमक्क ढाकिएको यहाँको जंगल फागुनचैतमा गुराँस फुल्ने भएका कारण निकै सुन्दर देखिन्छ । 

पर्यटक
मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । 

जनप्रतिनिधको प्रतिवद्धता
पर्यटकीय गन्तव्यका लागि पर्याप्त सम्भावना भएर पनि करीब दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सो क्षेत्र ओझेलमा परेको थियो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चम्पादेवी मन्दिर तथा त्यस आसपास क्षेत्रका महत्व ओझेलमा परेको अहिलेको अवस्थामा आवश्यक पूर्वाधार विकासमा केही सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप