बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा र वित्तीय क्षेत्रको सम्बन्ध घनिष्ट हुनुपर्छः गभर्नर नेपाल

शुक्रबार, ११ फागुन २०७४, १९ : ३८
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले बीमा र वित्तीय क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताएका छन् ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय क्षेत्र एकअर्काका परिपूरक भएकाले सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताए । 

प्रतिष्पर्धी बन्दै गएको बीमा योजनालाई समय सुहाउँदो बनाउनुपर्ने उल्लेख गर्दै गर्भनर नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा जोड दिए । 

सो अवसरमा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्घि तथा सुरक्षित बचतका लागि बीमा व्यवसायकोे माध्यमद्वारा संस्थानलाई आन्तरिक स्रोत परिचालन र विदेशी विनियम बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । 

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले प्रतिष्पर्धी बन्दै कर्मचारीको दक्षता वृद्घि गर्न, सूचना प्रविधिको समूचित प्रयोग गर्दै लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । 

संस्थानका अध्यक्ष डा.खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए । 

दीर्घकालीन परियोजनामा लगानी गर्ने प्रयासस्वरूप मुलुकको वर्तमान अवस्थामा देखिएको बिकराल ऊर्जा आवश्यकता पूरा गर्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भई रु २१ करोड १८ लाख शेयर पूँजी र रु दुई अरब ऋण लगानी गर्ने प्रतिबद्धताअनुरुप रु एक अर्ब ८० करोड प्रवाह भइसकेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप