शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरका वडाध्यक्ष भन्छन् : ‘घरबहाल करमा छलछाम भइरहेछ’

शुक्रबार, ११ फागुन २०७४, १२ : ३३
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ । सङ्घीय संरचनामा गएपछि स्थानीय करहरू स्थानीय तहले उठाउन पाउने कानुन बनाइयो । सहरी क्षेत्रमा राजस्वको प्रमुख स्रोत भनेको व्यवसाय र घरबहाल कर नै हो । तर काठमाडौँ महानगरपालिकाभित्रै घरबहाल करमा घरधनीले छलछाम गरेको महानगरका जनप्रतिनिधि गुनासो गर्छन् ।

काठमाडौँ महानगरपालिका अन्तर्गत २४ नम्बर वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठको गुनासो पनि त्यही छ । विशालबजार लगायत न्युरोडका केही स्थान, मखन टोललगायतका व्यापारिक स्थानमा हजारौँ घर र सटर भाडामा लगाइएको छ । महँगो मूल्यमा भाडामा लगाइए पनि कानुन फितलो बन्दा घरधनीले बहाल करमा छली गरिरहेको श्रेष्ठ गुनासो गर्छन् । 

अहिले न्युरोड, विशालबजारलगायतका स्थानमा एउटा सानो सटर वा कोठाको मासिक भाडा ५० हजारको हाराहारीमा पर्छ । अझ राम्रो ‘लोकेसन’मा रहेको पसलको भाडा त मासिक १ लाखकै हाराहारीमा पर्छ । तर घरधनीेले भने मासिक १० हजारमा भाडामा दिएको भन्दै बहाल कर तिर्छन् । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘५० हजार मासिक भाडा लिएको हामीलाई थाहा छ । तर नीतिमा स्वघोषणा गर्ने भन्ने उल्लेख भएकाले उनीहरूले ७, ८ गुणासम्म घटाएर घोषणा गरेर थोरै मात्रै राजस्व तिर्छन् ।’

महानगरको विकासका लागि केही रकम केन्द्रबाट आए पनि अधिकांश रकम स्थानीय राजस्वबाट उठाउनुपर्छ । स्थानीयले सडक, ढल, पानी लगायतका विषयमा विकास निर्माण माग गरे पनि राजस्व छली र कम आम्दानीका कारण त्यस्ता क्षेत्रमा विकास गर्न नसकिएको श्रेष्ठको गुनासो छ ।

नेपाल सरकारले बहाल लिने रकमको १० प्रतिशत घरबहाल कर तिर्नुपर्ने नीति बनाएको छ । यद्यपि महानगरले भने यसअघिदेखि नै १२ प्रतिशत घरबहाल कर उठाएर १० प्रतिशत नेपाल सरकारको खातामा र २ प्रतिशत महानगरले आफ्नो खातामा राख्ने गरेको थियो । तर बहाल कर स्थानीय निकायले नै खर्च गर्न पाउने कानुन आएपछि पनि महानगरले भने १२ प्रतिशत नै बहाल कर उठाउँदै आएको छ । 

मुख्य सहरी क्षेत्रमा सरकारले बहालका लागि दररेट कायम गर्न सकेको छैन । केही समयअगाडि काठमाडौँ महानगरपालिकाले बहालमा लिने दिने सम्बनधमा दररेट कायम गरेको थियो । तर न्युरोड, खिचापोखरी, असन लगायतक्षेत्रका घरधनीले आपत्ति जनाउँदै नतिर्ने घोषणा गरेपछि महानगरले पूर्ववत स्वघोषणा गरी कर तिर्ने नीति अवलम्बन गर्यो । जसका कारण महानगरले पाउने बहाल करको राजस्वमा करिब ५ सय प्रतिशत घाटा छ । 

लिखित छलछाम
अहिले न्युरोड, खिचापोखरी, विशालबजार लगायतका क्षेत्रमा एउटा सानो सटरको भाडा मासिक ५० हजारभन्दा बढी छ । तर घरधनी र भाडामा बस्नेले भने मिलेमतोमै कम मूल्यमा घर बहालमा लिने सम्झौता गरेका हुन्छन् । न्युरोड, खिचापोखरी लगायत स्थानमा घर वा सटर भाडामा लिँदा र दिँदा अधिकांशले मासिक १० हजारको सम्झौता बनाएका हुन्छन् । जबकि बहालमा बस्नेले तिर्ने मासिक भाडा भने ५० हजारभन्दा माथि हुन्छ ।

बहाल कर बढाएर लिने गरेको छु : वडाध्यक्ष श्रेष्ठ
यी क्षेत्रमा कति सटर वा घर बहालमा छन् भन्ने एकिन तथ्याङ्कसमेत वडा कार्यालय वा महानगरसँग छैन । जब घरधनीहरू बहाल कर तिर्न आउँछन्, उनीहरूकै स्वघोषणाको आधारमा बहाल लिने गरिएको छ । पहिलो कुरा त घरधनीले भाडामा दिएको सबै सटर वा कोठाको सही तथ्याङ्क नै दिँदैनन् भने दिनेले पनि कम मूल्याङ्कन गरेर दिने गरेका छन् । ‘न्युरोडको एउटा सटरको भाडा मासिक ६०–७० हजार पर्छ । तर घरधनीहरू भने १० हजारमा दिएको भन्दै १ हजार २ सय बहाल कर तिर्न आउँछन् । म भने त्यसमा ३ गुणासम्म मिलाएर लिने गरेको छु ।’

मर्कामा व्यवसायी
यता व्यवसायीले भने दोहोरो बहालकर तिर्नुपरेको गुनासो गरेका छन् । न्युरोडका एक व्यापारी मनिष गुप्ता आफूहरू दोहोरो बहालकर तिर्न बाध्य भएको गुनासो गर्छन् । घरधनीले पनि आफूहरूसँग बहाल करका नाममा थप शुल्क असुलेको र राजस्व कार्यालयले पनि नवीकरण गर्न जाँदा वा कर तिर्न जाँदा बहाल कर पनि उठाएको भन्दै यो खारेज हुनुपर्ने बताउँछन् ।   
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप