बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँकै विद्यालय जहाँ ३ जना विद्यार्थी पढाउन छन् ४ जना शिक्षक

शुक्रबार, ११ फागुन २०७४, ११ : ०५
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ । सरकारले शिक्षक विद्यार्थी अनुपात मिलाउने भन्दै २०६८ सालदेखि नै योजना बनाएर काम सुरु गर्यो । शिक्षा मन्त्रालयले बनाएको शिक्षा नियमावलीअनुसार हिमालमा प्रतिकक्षा ३० जना, पहाडमा प्रतिकक्षा ४० जना र तराई तथा उपत्यकामा प्रतिकक्षा ५० जना विद्यार्थी हुनुपर्ने उल्लेख छ । 

तर उपत्यकामै कैयौँ यस्ता सरकारी विद्यालयहरू छन्, जहाँ शिक्षक विद्यार्थी अनुपात हेर्ने हो भने कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भेटिन्छन् ।

काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर २४ तारिनीबहालमा छ, तारिणी आधारभूत विद्यालय । कक्षा ५ सम्म पढाई हुने यो विद्यालयमा विद्यार्थी भने जम्मा ४ जना मात्रै छन् । तर उनीहरू पनि सँधै विद्यालय आउने भने होइनन् ।

बिहीबार अपरान्ह २ बजे हामी तारिणीबहालको तारिनी आधारभूत विद्यालयमा पुग्यौँ । विद्यालयमा एकजना विद्यार्थी पनि थिएनन् । ३ जना शिक्षिका र १ जना कर्मचारी भने विद्यालयको छतमा घाम तापेर बसिरहेका थिए । 

‘विद्यार्थी छैनन् ?’ हाम्रो प्रश्नमा विद्यालयकी प्रधानअध्यापिका सीता घिमिरेले भनिन्, ‘विद्यार्थी बिदा लिएर बसेका छन् ।’

कति विद्यार्थी छन् र ?

नियमित आउने ४ जना थिए, उनीहरू पनि बिदा लिएर बसेका छन् ।

खासमा यो विद्यालयमा भर्ना हुन १४ जना विद्यार्थी आएका रहेछन् । १४ जनामध्ये १० जना विद्यार्थी मधेसी मुलका थिए, जो दैनिक मजदुरी गर्छन् । उनीहरू नियमित विद्यालय आउन पनि सक्दैनन् । बाँकी रहेका ४ जना विद्यार्थी भने नियमित आउने गरेका रहेछन् र त्यही ४ जना विद्यार्थीलाई पठाउन ३ जना शिक्षिका र एक जना कार्यालय सहयोगी विद्यालयमा थिए ।


 
विद्यार्थीहरू बिदा लिएर गए पनि शिक्षिकाहरू भने विद्यालयमा हाजिर गरेर फर्कने गरेका छन् । 

महानगरको २४ नम्बर वडाकै अर्को विद्यालय केशचन्द्र विद्यालयको हालत पनि उस्तै छ । यस विद्यालयमा त अझ ३ जना विद्यार्थी छन् भने ४ जना शिक्षकको दरबन्दी छ । इटुम्बहालमा रहेको यस विद्यालयमा १२ जना विद्यार्थी भर्ना भए पनि जम्मा ३ जना विद्यार्थी मात्रै नियमित आउने गरेका छन् ।

हामी बिहीबार अपरान्ह साढे २ बजे यस विद्यालयमा पुग्दा विद्यालय बन्द थियो । न यहाँ विद्यार्थी थिए, न त शिक्षक शिक्षिका नै । विद्यार्थी नभएकै कारण होला, विद्यालयमा ताला झुण्डिएको थियो ।

यी दुई विद्यालयबाट १ मिनेटकै पैदल दूरीमा दुईवटा विद्यालय छन्, शान्ति विद्यागृह र कन्या स्कुल । यी दुई विद्यालयमा प्रशस्तै विद्यार्थी पनि छन् । तर ५ वर्षदेखि विद्यार्थी नहुँदा पनि पनि यी विद्यालय भने अझै मर्ज हुन सकेका छैनन् । पहाड र तराईका कतिपय जिल्लामा एउटै कक्षामा ७० जनासम्म राखेर पढाउनुपरेको छ, तर काठमाडौँमै विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी हुँदा पनि न शिक्षकको व्यवस्थापन भएको छ न त विद्यालय मर्ज नै भएका छन् । 

यसै विषयमा जिल्ला शिक्षा कार्यालय काठमाडौँका स्रोत व्यक्ति रुद्र कार्कीलाई सोध्दा उनले विद्यालय मर्ज गर्न प्रतिवेदन बुझाएको बताए । आफूले पटक पटक विद्यालय मर्ज गर्न महानगरपालिका र जिल्ला शिक्षा कार्यालयमा प्रतिवेदन बुझाए पनि मर्ज नभएको बताए । बरु शिक्षकको व्यवस्थापनको काम भइरहेको भन्दै ती शिक्षकलाई अर्को विद्यालयमा पठाउने तयारी भइरहेको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप