शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित

शुक्रबार, ११ फागुन २०७४, १० : ०५
शुक्रबार, ११ फागुन २०७४

कपिलवस्तु  नेपाल–भारतको सीमानाकामा पर्ने यहाँको दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ । 

दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुन पुगेको हो । यसले गर्दा दुवै देशका नागरिक फोहरबाट निस्कने दुर्गन्धले प्रभावित बन्दै आएका छन् भने फोहरको डम्पिङले गर्दा बजार नै प्रदूषित बनेको छ । 

दशगजामा दुवै देशका नागरिकबाट फोहर फाल्ने काम हुँदै आएको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए । सीमामा दुवै देशका व्यापारी र स्थानीयले फोहर फाल्दै आए पनि फोहर व्यवस्थापन गर्न कतैबाट पनि पहल नभएको अध्यक्ष गुप्ताले बताए । उनले भने, “यसमा दुवै देशका सरकारी निकायको चासो कम छ । एकले अर्काले गर्छ कि भनी मुख ताकेजस्तो देखिन्छ, यसले गर्दा बजार नै प्रदूषित भएको छ ।” 

भारतीय पक्षले चासो दिएन
फोहर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन । नेपाली पक्षबाट पटक–पटक फोहर व्यवस्थापन गर्न कोसिस गरे पनि भारतीय पक्षले चासो नदेखाउँदा फोहर व्यवस्थापन गर्न नसकिएको कृष्णनगरवासी सीताराम गुप्ताले गुनासो गरे । दशगजामा भएको फोहर दुर्गन्धले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई समेत नकारात्मक असर परेको स्थानीय समाजसेवीले बताउने गरेका छन् । 

व्यापार प्रभावित
दैनिक सयौँको संख्याका यहाँको सीमामा पर्ने भारतीय बजारमा बजार भर्न आउने नेपालीले दुर्गन्धका कारण नाकमुख थुनेर सीमा वारपार गर्ने गरेका छन् । नजिकको वातावरण प्रदूषित हुँदा व्यापार समेत कम हुने गरेको दुवै देशका व्यापारी बताउने गर्छन् । 

व्यापारीको गुनासो 
फोहर फाल्ने उचित ठाउँ नहुँदा दशगजामा फोहर फाल्दै आएका छौँ, त्यसले हामी आफैंलाई असर पु¥याएको छ, एक भारतीय व्यापारीले गुनासो गरे । दैनिक उपभोग्य सामग्री नेपालमा भन्दा केही सस्तोमा पाइने हुँदा भलवाड, बनगाई, पिपरा, गोरुसिङे, पत्थरकोटलगायतका जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दा कृष्णनगर पारि भारतीय क्षेत्रमा बजार गर्न जाने गरेका छन् । 

सीमापारि भारतीय बजारमा मास्क लगाएर सामग्री किन्दै गरेकी भलवाडकी लक्ष्मी घिमिरेले भनिन्,– “नेपालमा भन्दा केही सस्तो पाइन्छ भनेर यहाँ आयो, दुर्गन्धले गर्दा कति बेला यहाँबाट निस्किउँ भन्ने भा’छ ।” फोहर व्यवस्थापन गर्नसके यहाँ आउनेलाई निकै सहज हुने थियो, उनले भनिन् । 

वार्षिक अर्बौं राजश्व संकलन हुने यस सीमा क्षेत्रबाट दैनिक सयौँ सवारीसाधन र दैनिक हजारौँ नागरिक नेपाल भारत आवातजावत गर्दै आएका छन् । भारतको नयाँदिल्ली पुग्न यही नाकाबाट नजिक पर्ने भएकाले दाङ, रोल्पा, प्यूठान, रुकुम, अर्घाखाँची, गुल्मीसम्मका नागरिक रोजगारीका लागि यही नाकाको प्रयोग गरी भारत जाने गरेका छन् । 

बुद्धस्थल कपिलवस्तुको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले यही नाकाको प्रयोग गर्दै आएका छन् तर कृष्णनगर बजार क्षेत्रमा रहेको धुलो र फोहरको दुर्गन्धले गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्दै आएको छ । 

लापर्बाही
दुवै देशको लापर्बाहीले बजारकै गरिमालाई धमिल्याउने काम गरेको मानवअधिकारकर्मी लक्ष्मण भुसालले बताए । उनले भने, “दुई देशको सीमा निकै मनमोहक देखिनुपर्ने हो, तर दुःखको कुरा दशगजाजस्तो सार्वजनिकस्थल फोहरको डम्पिङ साइट बनेको छ ।” 

फोहरकै कारण यहाँका सर्वसाधारणलाई बेलाबेला, झाडापखाला, हैजाको महामारी हुने गरेको मानवअधिकारकर्मी भुसालको भनाइ छ । फोहर व्यवस्थापन गर्न जिम्मेवार निकायबाट पटकपटक आग्रह गरेपनि दुवै देशका सरकारी अधिकारी चुपचाप बस्ने गरेको उनले बताए । 

डम्पिङ साइट छैन
सीमा क्षेत्रको बजार भएका कारण दैनिक सयौँ मेट्रिक टन फोहर संकलन हुने गर्दछ । तर फोहर व्यवस्थापन गर्ने योजना अझै बनिसकेको छैन । कृष्णनगर बजारभित्रको फोहर व्यवस्थापनका लागि कृष्णनगर नगरपालिकाले डम्पिङ साइट अझै बनाइसकेको छैन । कृष्णनगर नगरपालिकाले जथाभावीरुपमा फोहर फाल्ने गरेकोप्रति सरोकारवालाले बेलाबेला कुरा उठाउँदै आएका छन् । 

हेपाहा प्रवृत्ति
उता भारतीय पक्षले नेपालमाथि जतिसक्यो त्यति हेपाइ प्रवृत्ति गर्ने गरेको पाइन्छ । फोहर व्यवस्थापनमा भारतीय पक्षले कुनै कदम नचालेको नेपालस्थित सरकारी अधिकारीको आरोप छ । यद्यपि नेपालका सरकारी निकायले पनि फोहर व्यवस्थापनमा कुनै चासो दिएका छैनन् । 

कृष्णनगर बजारभित्र कृष्णनगर भन्सार, आन्तरिक राजश्व कार्यालय, कृष्णनगर नगरपालिका, कृषि विकास बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सरकारी निकाय छन् । तर उनीहरुबाट कुनै जनचेतनाका कार्यक्रम हुन सकेका छैनन् । 

नागरिक स्तरबाट बजार सफासुग्घर राख्नुपर्छ भन्ने चेतना नभएका कारण कृष्णनगर फोहरी बजारमा परिणत हुन थालेको नागरिक अगुवा गोपाल प्यार चण्डेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप