शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेपालका ६ 'अध्यक्ष' ६ तिर

बुधबार, ०९ फागुन २०७४, १७ : २६
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–काठमाडौमा राजनीतिक सरगर्मी बढिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बीचमा भने भेटघाट हुन छाडेको छ ।  

सरकार गठनलगायतका विषयमा छलफल गर्न माघ २७ गते पार्टी कार्यालय बबरमहलमा राजपाको बैठक बसेको थियो । त्यसयता भने कुनै बैठक बस्न नसकेको हो । 

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने विषयमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यबीच चर्को मतभेद भएको थियो  । त्यसले गर्दा उनीहरुको बीचमा मनमुटाव छँदै थियो, पछि प्रदेश सरकार गठन हुँदा झनै दुरी बढ्यो । 

अहिले राजपा नेपालका छजना अध्यक्ष छ तिर छन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर धनुषाको महेन्द्रनगरस्थित सम्धीको घरमा बसेका छन् भने महेन्द्र राय यादव आफ्नो चुनावी क्षेत्र सर्लाहीमा छन् ।

त्यस्तै, अनिल कुमार झा रौतहटमा छन् भने राजकिशोर यादव हिजो मात्र सिरहा गएका छन् । शरतसिंह भण्डारी पनि हिजो महोत्तरी गएका छन् । राजेन्द्र महतो पनि जनकपुरमा छन् । 
छजना नेता छतिर भएका कारण उनीहरुको बीचमा कुनै छलफल हुन सकेको छैन । वाम गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपाललाई सरकारमा सहभागि हुनका लागि आग्रह गरेका छन् । तर, राजपाले कुनै जवाफ नपठाएको नेताहरुले बताएका छन् । 

उता, प्रदेश २ मा सरकारले अझै पूर्णता पाएको छैन । फोरम नेपालको भागमा परेको मन्त्रीको नाम तय भइसक्दा  राजपाले भने टुंगो लगाउन  नसकेको हो ।  राजपा नेपालले पाएका तीन मन्त्रालयमध्ये जीतेन्द्र सोनलमात्र मन्त्री बनेका छन् । बाँकी दुईटा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा  राजपाले नाम तय गर्न नसिकेको हो । 

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले नेताहरु आफ्नो क्षेत्रमा जनताको काममा लागेकाले बैठक  नबसेको दाबी गर्दै आवश्यक परे केहि घण्टामै निर्णय गर्न सकिने प्रतिक्रिया दिए । 
उनले पार्टीमा कुनै प्रकारको असन्तुष्टि समेत नरहेको दावी पनि गरे ।

उनले भने, ‘राजपा नेपाल गठन भएको एक वर्ष पनि पुगेको छैन । छ दल मिलेर बनेको पार्टी हो, कुनै पनि विषयमा फरक फरक कुरा आउनु स्वभाविक हो, त्यसमा छलफल हुन्छ, समाधान गरिन्छ ।’ 
फागुन ३ गते फोरम नेपालका तर्फबाट लालबाबु राउतले मुख्यमन्त्रीको सपथ लिँदा राजपा नेपालका महामन्त्री  तथा संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनलले पनि मन्त्री पदमा सपथ लिएका थिए । 
तर, सोनललाई मन्त्रीमा पठाएकोमा राजपा नेपालबीच असन्तुष्टि बढेको बताइन्छ ।  पार्टीभित्र सल्लाहै नगरिकन संयोजक ठाकुरले सोनललाई मन्त्रीमा पठाएको भन्दै नेताहरु बीच असन्तुष्टि बढेको बुझिएको छ ।  

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले संसदीय दलका नेतालाई मन्त्री नबनाउने निर्णय नभएपनि संसदीय दलको नेता भएपछि उसैको नेतृत्वमा सरकार बन्ने वा सरकारमा जाने  विगतमा हुने गरेको र अहिले पनि त्यही भएको प्रतिक्रिया दिए । 

फागुन ११ गते प्रदेश सरकारका मन्त्रीहरुको सपथ गराउने कार्यक्रम छ  । तर कुरा नमिलेकाले त्यो दिन पनि सपथ हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको राजपा नेपालका एक नेताले बताए  । यसअघि फागुन ६ गते नै सपथ खुवाउने कार्यक्रम थियो । तर राजपा नेपालले मन्त्रीको नाम टुगों नलगाएका कारण सपथ रोकिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप