बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजा वीरेन्द्रको पालामा सुरु भएको सिंचाई आयोजना अलपत्र

बुधबार, ०९ फागुन २०७४, १२ : ३५
बुधबार, ०९ फागुन २०७४

राधिका भुसाल, प्युठान–  २०४२ सालमा राजा वीरेन्द्रको हुकुमबाट सुरु भएको प्युठानको लुंग्रिमाडी सिंचाई आयोजनाको काम अझै अलपत्र छ । आयोजना सम्पन्न नहुँदा स्थानीयको सिंचाई गर्ने सपना बर्षौदेखि अधुरै रहेको हो ।
पञ्चायत, राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र गरी तीन ब्यबस्था परिवर्तन भएपनि लुंग्रीमाडीबाट सिंचाईको लागि पानी नआएकोमा माडी क्षेत्रका किसानहरु चिन्तित छन् ।
स्वर्गद्धारी नगरपालिका –५ सारीकाका गिरिराज खत्रीले आफु सानो छँदा लुंग्रीमाडी सिंचाई आयोजनाको चर्चा सुनेको बताए । ‘आउँछ, आउँछ भन्ने हुन्छ फेरी काम रोकिन्छ’ खत्रीले भने ‘कहिले राजनीतिक खिचातानी कहिले, सरोेकारवालाहरुको लापरवाहीले पानी कहिले आउँला?’ 

लुंग्रि सिंचाई आयोजना सञ्चालन नहुँदै भत्किएको छ । रोल्पाको सुवर्णावती गाउँपालिका कोइरालखर्क जोड्ने सडक निर्माण गर्दा नहरको केही भाग पुरिएको छ भने केही भाग भत्किएको छ । 
रोल्पाको तेवाङ, अरेस र गाम पू¥याउँने सडक खन्नेक्रममा पुरिदैँ आएको छ । विकास निर्माणमा सरकार र निर्माण पक्षको लापरवाहीका कारण निर्माण नसकिँदै आयोजना जिर्ण बनेको स्थानीय बताउँछन् ।  
सारी, बेल्वास र वर्जिवाङ गाविसका किसानहरुलाई बाह्रैमहिना सिंचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको हो । आयोजना शुरु भएको करिव ३० बर्ष भन्दा बढि हुंदा समेत सिंचाई आयोजना पूरा नहुँदा कृषकहरु आकाशे पानीको भरमा खेति गर्न बाध्य छन् । 
कर्मचारीनै राजनीतिकरणमा लागे
सारीमा लुंग्रीमाडीको पानी पहिल्यै आइपुग्ने भएपनि कर्मचारीले नै राजनीतिकरण गरेर सिंचाई योजनाको काम लम्बीएको स्थानीय जायश्वर भण्डारीले बताए । स्थानीय उपभोक्ता समितिमा राजनीतिक आस्था र कमिसनका लागि कर्मचारीहरुले आफु निकटका स्थानीय राजनीतिक दलका नेतालाई मच्चाएर आयोजना समयमा सम्पन्न हुन नदिएको भण्डारीको आरोप छ । द्धन्द्धकालिन समयामा कुलोमा ब्लास्टिङ गर्नपर्ने भएपछि सरकारले काम रोकेको थियो । पछि कर्मचारी, ठेकेदारले आर्थिक अनियमितता गरेको आरोप लगाउदै तत्कालिन ने.क.पा. माओवादीले जनकारबाहीको चेतावनी दियो । ‘गाउँका ठुला बडा भनिनेहरुबाट सिंचाई अवरोध भएकोछ’ पूर्वअध्यक्ष जायश्वर भण्डारीले भने ‘उनीहरु किसानको जीवनस्तर माथी उठेको हेर्न चाहान्नन् ।’ ६० लाख भन्दा बढी श्रमदान गरिसक्दा पनि सिंचाई गर्न नपाउँदा दुःख लागेको उनको भनाई छ ।
आयोजना निर्माण शूरु भएदेखि गत कात्र्तिकसम्म करिव १२ करोड २३ लाख ७५ हजार भन्दा वढि खर्च भइसकेको सिंचाई विकास डिभिजन कार्यालय प्यूठानले जनाएको छ । आयोजनाबाट ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिंचाई गर्ने लक्ष्य छ । 
प्रतिवद्धता चाहिन्छः सिंचाई कार्यालय
बर्षौदेखि ग्रामिण सडक निर्माणले नहरमा क्षति पू¥याउँदै आएको छ । सडक निर्माण गर्दा पुरिएर क्षति भएको जिल्ला सिंचाई विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख कृष्ण बहादुर बिकले बताए । 
‘यस बर्ष पानी चलाउने योजनामा थियौ, सडक निर्माण गर्दा पुरियो ’ प्रमुख बिकले भने ‘विकासका पूर्वाधार निर्माण गर्दा क्षति नपु¥याउँने प्रतिवद्धता गरे मात्रै थप वजेट स्वीकृत हुने विभागबाट निर्देशन छ ।’ पुरिएको ३ सय ६० मिटर नहर खुलाउन मात्रै ३ करोड ४ लाख ८६ हजार रुपैयाँ वजेट आबश्यक हुने उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप