बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

७ नम्बर प्रदेशलाई १ नम्बर बनाउँछु : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको अन्तरवार्ता

बुधबार, ०९ फागुन २०७४, १२ : ०१
बुधबार, ०९ फागुन २०७४

प्रदेश नम्बर ७ मा त्रिलोचन भट्टले मुख्यमन्त्रीको पदबहाली गरेको दुई दिन भएको छ । पदबहाली गरेको पहिलो दिन नै उनले सेती अञ्चल अस्पतालमा छड्के निरीक्षण गरे । अस्पताललाई चुस्त दुरुस्त राख्न आदेश दिए । मङ्गलबार पनि उनी प्रदेश नम्बर ७ मा भइरहेका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा छन् ।

पदभार ग्रहण गरेलगतैबाट प्रदेश नम्बर ७ मा केही गरेर देखाउँछु भन्दै उनी मैदानमा खटिन थालेका हुन् । विगतमा भारतमा चौकीदार हुँदै भारतबाटै माओवादीको राजनीति थालेका उनलाई गत चुनावमा उठेका बेला चौकीदार भनेर होच्याउने काम पनि गरियो । तर उनै भट्ट चुनाव प्रतिस्पर्धा पार गर्दै अहिले प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन् । यो प्रदेशलाई अरू ६ प्रदेशभन्दा पनि उत्कृष्ट बनाउने उनले सङ्कल्प लिएका छन् । प्रस्तुत छ प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा हाम्रा संवाददाता शम्भु दङ्गालले मुख्यमन्त्री त्रिलोचन भट्टसँग गरेको यो भिडियो अन्तरवार्ता :

तपाईं लामो सङ्घर्षपछि यहाँसम्म आइपुग्नुभएको छ, चौकीदारदेखि मुख्यमन्त्रीसम्म बन्नुभएको छ । कस्तो अनुभूति गरिरहनुभएको छ ?

लामो समयदेखि मैले माओवादी केन्द्रमा काम गरेँ । एउटा राजनीति गर्नेका लागि जिम्मेवारीहरू थपिँदै जान्छन् । जनताले मलाई जिम्मेवारी दिए र अहिले ७ नम्बर प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा मलाई पुर्याएका छन् । यो एउटा राजनीति गर्ने व्यक्तिका लागि एउटा स्वभाविक प्रक्रिया नै हो भन्ने मलाई लाग्छ । किनभने हाम्रो जीवन नै जनताका हितका लागि यो राष्ट्रको विकासका लागि समग्र विकासका लागि लगाउने भनेर नै राजनीतिलाई अपनाएका हौँ । त्यसकारणले यो स्वभाविक प्रक्रिया नै बुझेको र थप जिम्मेवारीका रूपमा लिएको छु ।

अब प्रदेश नम्बर ७ मा के नयाँ परिवर्तन हुन्छ, जनताले के त्यस्तो नयाँ परिवर्तन देख्न सक्छन् ?

अहिले हाम्रो देशले लामो राजनीतिक आन्दोलन क्रान्तिबाट जनताले लेखेको संविधान प्राप्त गरेका छ । संविधानमा धेरै कुरा जनताको हितका लागि उल्लेखित छन् र त्यसलाई स्थापित गर्ने कुरा नै मुख्य कुरा छ । त्यसकारण त्यहीअनुसार हाम्रो देशमा सङ्घीयता स्थापित भएको छ र सातवटा प्रदेश निर्माण भएका छन् । सबै प्रदेशमा सरकार गठन भएको छ । त्यहीअनुसार ७ नम्बर प्रदेशमा पनि हाम्रो सरकार बनेको छ । स्वभाविक रूपबाट यो एउटा चुनौतीको विषय पनि छ र सम्भावनाको विषय पनि छ । दुइटैलाई चुनौतीको सामाना गर्दै सम्भावनालाई मूर्त रूप दिने कुरा नै मुख्य मेरो उद्देश्य छ । त्यसकारण एकात्मक राज्य व्यवस्थाले अहिलेसम्म सुदूरपश्चिमाञ्चल र अहिलेको ७ नम्बर प्रदेश उपेक्षित र उत्पीडनमा परेको प्रदेश हो । अबका दिनमा जे सम्भावनाहरू छन्, खास गरेर प्राकृतिक स्रोतहरू, मैले धेरै ठाउँमा भनेको छु, हामीसँग प्राकृतिक स्रोतहरू धेरै छन् । जल छ, जमिन छ, जङ्गल छ, जडीबुटी छ, पर्यटन छ, यसको सही व्यवस्थापन र जग बसाल्ने हो भने धेरै सम्भावनाहरू भएको हुँदा यो प्रदेशलाई एउटा विकासको गतिमा अगाडि बढाउन सक्छौँ  । यो प्रदेशका समग्र कुराहरूलाई अगाडि बढाउन सक्छौँ भन्ने मलाई लाग्छ ।

तपार्इंले पदबहाली गरेलगत्तै यहाँ रहेको ठूलो अस्पताल सेती अञ्चल अस्पतालमा छड्के निरीक्षण गर्नुभयो । आगामी दिनमा पनि अरू विभागहरूमा पनि अनुगमन गर्ने बताउनुभएको छ । अनुगमन गरेर मात्र पनि समस्याको समाधान हुँदैन । ठोस रूपमा समस्या समाधानका लागि तपाईंले ठोस रूपमा केकस्ता काम गर्नुहुन्छ ?

मलाई लाग्छ अनुगमन भनेको दुईवटा हिसाबबाट गरिन्छ, पहिलो कुरा त अहिलेसम्म हामीसँग जुन कुराहरू छन्, राज्यसँग जे उपलब्ध छ, राज्यले जनतासँग जे दिने भनेर अगाडि बढाएको छ, त्यो कुरा सही तरिकाले जनताका माझमा पुगेको छ कि छै्रन, सजिलो तरिकाले पुगेको छ कि छैन, जनताले सेवा पाएको छ कि छैन, त्यहाँ खटिएका कर्मचारीले ठीक ढङ्गले काम गरेक छन् कि छैन भनेर हेर्ने कुरा रहन्छ । दोस्रो कुरा आफैँ ठाउँमा पुगिसेकेपछि त्यहाँ रहेका समस्या र हामीले हेर्नुपर्ने कुरा सरकारले गर्नुपर्ने कामका बारेमा पनि पत्ता लगाउने काम हुन्छ । पहिलो दिन नै म सेती अञ्चल अस्पतालमा गएँ । त्यहाँ जनतासँग पनि भेट भयो । केही समस्या पनि देखिए । केही अभावका कारणले समस्याहरू देखिए र केही हामीले गर्न सक्ने कुरा पनि समयमा ध्यान नदिएका कारण पनि समस्या देखियो । जुन समस्याहरू त्यहाँ देखिएका छन्, सरकारले गर्नुपर्ने चीजको अस्पतालले विधिगत कागजीगत रूपमा सरकारलाई विवरण बुझाऊँ मैले भनेको छु ।

अस्पतालले तत्काल गर्नुपर्ने कुरालाई तत्काल लागू गर भनेको छु, केही कुरा भोलिका लागि गर्नुपर्नेछ, तीनवटा कुरा बुझेर आएको छु । त्यसलाई कार्यान्वयनमा ल्याउँछु र अरू ठाउँमा पनि त्यो कुरा अगाडि बढ्छ ।

प्रदेश नम्बर ७ का जनाका आवश्यकता असीमित छन्, त्यसलाई पूरा गर्नका लागि यो प्रदेशसँग त्यति नै मात्रामा आर्थिक स्रोत हुनुुपर्छ, आर्थिक स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ ? त्यसका सम्भावनाहरू तपाईंले के के देख्नुभएको छ ?

यो स्वभाविक नै हो । किनभने मैले सुरुमै भनेँ, हाम्रो देशमा धेरै पटक राजनीतिक आन्दोलनहरू भए, क्रान्तिहरू भए, चाहे त्यो १० वर्षको जनयुद्ध होस्, चाहे ०६२–०६३ को जनआन्दोलन होस्, चाहे त्यसभन्दा अगाडिका आन्दोलनहरू हुन्, यी सबै आन्दोलनहरू जनताले केका लागि गरेका थिए भने समग्र विकासका लागि जनतालाई कमसेकम सरकारको अनुभूति हुने र जनताको मानव अधिकारको सही मूल्याङ्कन हुने र जनताको समग्र विकास गर्ने र दूरदराजमा रहेको जनतालाई पनि कमसे कम विकासको अनुभूति हुनुपर्छ भनेर नै आन्दोलन भएका हुन् ।

त्यसकारण स्वाभाविक रूपमा राजनीतिक परिवर्तन भइसकेपछि जनताका इच्छा आकाङ्क्षा बढ्ने स्वभाविक नै हो । यसलाई पूरा गर्नका लागि केही विधि र सिस्टमहरू बसाल्नुपर्ने हुन्छ । सङ्घीयता पहिलो चोटि हामी अभ्यास गर्दैछौँ । मैले के देखेको छु भने एउटा सिस्टम बसाल्यौँ भने त्यो सिस्टमले काम गर्नुपर्छ । सिस्टम बसालिसकेपछि आर्थिक कुरा पनि त्यहीँ उपलब्ध हुन्छन् र हामीले आगामी दिनका काम गर्न सक्छौँ । मलाई लाग्छ हाम्रो ७ नम्बर प्रदेशमा धेरै कुराहरू छन् । जसको सही परिचालन गर्ने हो भने हामी आर्थिक जुटाउन सक्छौँ । आर्थिक कारणबाट नै धेरै कुराहरू रोकिँदैन किनभने जसरी हामीसँग जे कुरा प्राप्त छ, जति हामीसँग आर्थिक रूपबाट प्राप्त हुन्छ, त्यही अनुसार कामको सुरुवात गर्नुपर्छ, केही ठूला प्रोजेक्टहरू अहिले हामी गर्न नसकौँला तर जे कुराहरू सम्भव छ, त्यसलाई गर्न सुरु गर्यौँ भने त्यहीबाट आर्थिक उपार्जन हुन्छ । जस्तै जडीबुटी प्रशोधन केन्द्रसहित बिक्री गर्यौँ भने त्यहाँबाट आयआर्जन हुन सक्छ, आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याएर तिनलाई रमणीय ठाउँमा पुर्याउन सक्यौँ भने तिनबाट आर्थिक लाभ हुन सक्छ । कृषिलाई आधुनिकीकरण गरेर कृषिलाई साँच्चै नै इज्जतिलो पेसा बनाएर सबैको साझा पेसाका रूपमा अगाडि बढाउन सक्यौँ भने बाहिरबाट सामान ल्याउने रोक्न सक्यौँ भने त्यहाँबाट आर्थिक वृद्धि हुन सक्छ ।

यी सबै कुराहरू छन्, पानीको कुरा छ, यी अगाडि बढाउने कुरा हुन् । यसलाई अगाडि बढायौँ भने आर्थिक जुटाउन सकिन्छ ।

तपाईं आफैले देखेको प्रदेश नम्बर सातका मुख्य चुनौतीहरू के–के हुन् ?

हामी सङ्घीयतामा पहिलो पटक प्रवेश गर्दैछौँ, अब सङ्घीय कानुनहरू बनाउनुपर्नेछ । स्थानीय निकाय, प्रदेश र त्यसपछि केन्द्र यी तीनवटैको एउटा समन्वय जोड्नुपर्नेछ । कैयौँ कानुनहरू सङ्घीय सरकारले बनाउनुपर्ने, कैयौँ कानुनहरू हामी प्रादेशिक सरकारले बनाउनुपर्ने र तलका निकायहरूलाई पनि त्यो प्रकारले चलाउनुपर्नेछ । पहिलो कुरा भनेको हामी जसरी सङ्घीयताको अभ्यास गर्दैछौँ, यसलाई स्थापित गर्ने कुरा र वास्तमा यो एउटा जग हो । यो जगलाई सही तरिकाले बसाल्ने कुरा नै हाम्रो चुनौतीको विषय छ । किनभने अहिलेसम्म नेपालमा सिस्टमले काम गर्दैन, व्यक्तिको सनकमा काम हुन्छ । अस्थायी सरकारहरू हुन्छन्, वर्ष वर्षमा सरकार परिर्वन गर्ने, एउटाले आएर एउटा कार्यक्रम सुरु गर्छ, अर्कोले आएर अर्को गर्छ, यस्तो अखालका एउटा जुन विधि छ, त्यसलाई सिस्टममा ल्याउने कुरा नै हाम्रो प्रदेशमा चुनौती छ । अर्को कुरा यो सँगसँगै जनताहरूका आकाङ्क्षाहरू बढेका छन् । हामीसँग साधन स्रोतहरू कम छ, त्यसलाई त्यही अनुसार परिर्वन गरेर जाने कुराको पनि हामी जग बसाल्दै छौँ । त्यसकारणले केही दुःख हुन सक्छ भोलिका लागि भविष्य राम्रो हुन सक्छ भनेर जनतामा स्थापित गर्ने कुरा र साधन स्रोत जुटाउने कुरा धेरै चीजहरू हामीले बनाउनुपर्ने छ । त्यसकारण यो चुनौतीपूर्ण छ र यसलाई  सम्भावनाले जितेर जान्छ, यसमा कुनै समस्या हुँदैन ।

अन्त्यमा, मुख्यमन्त्रीको पदबहाली गरिसक्नुभएको छ, अब जनताका लागि तपाईंले गर्नसक्ने तत्कालका दुई चारवटा कुरा के हुन सक्छन् ?

मैले के भनेको छु भने जनतालाई सुशासन दिनुपर्छ, स्थानीय निकायबाट पाउनुपर्ने कुराहरू जनताले जुन सेवा सुविधा पाउनुपर्नेछ । त्यो एकदमै सहज र सजिलो तरिकाले पाउनुपर्र्छ । प्रादेशिक हिसाबबाट पाउनुपर्ने कुरा पनि पाउनुपर्छ, केन्द्रबाट पाउनुपर्ने कुरा पनि सहज रूपमा पाउनुपर्छ । जनतालाई कुनै तरिबाट पनि अप्ठ्यारो नहुनेगरी सहज तरिकाले पाउनुपर्छ ।

कमसेकम जनताले सङ्घीयतामा यो सङ्घीयता भनेको जनताका लागि हो र जनताले त्यसमा धेरै कुरा पाउँछन्, सङ्घीय गणतन्त्रमा जनताले धेरै सुविधा पाउँछन्, कमसेकम जे कुराहरू हामीसँग छ, त्यसलाई सही तरिकाले परिचालन हुन्छ भने जनताले धेरै कुरा पाउँछन् । अर्कोतर्फ भ्रष्टाचारका जुन कुरा अहिले हामीले देखिरहेका छौँ, भ्रष्टाचारका कारणले देश सबैभन्दा धेरै डुबेको छ । यसको अन्त्य गर्ने कुरा, यसलाई शून्य सहनशीलतामा ल्याउने कुरा नै मेरो दोस्रो काम रहनेछ ।

तेस्रो कुरा भनेको प्रादेशिक सरकारले प्रादेशिक कानुन निर्माण गर्नुपर्नेछ । कानुन नबनी कुनै पनि कुरा अगाडि बढ्नसक्ने स्थिति छैन । यसलाई अगाडि बढाएर हामीले जनताको भावनाअनुसार अगाडि बढ्ने कुरा हो र अरू विकासका कुरा, राष्ट्रिय महत्वका कुरा, केन्द्रबाट सञ्चालित योजनालाई द्रुत गतिमा अगाडि बढाउने कुरा र प्रदेशले दिने कुराहरूको पनि प्रक्रियामा बढेका छौँ । जनतालाई केही दिनमै कमसेकम नयाँ अनुभूति हुने काम गर्ने प्रयास गर्छु ।  

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप