शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालीमा फैलँदै गाँठे रोग

बुधबार, ०९ फागुन २०७४, ०९ : ५८
बुधबार, ०९ फागुन २०७४

ललितपुर - केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ । 

गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । “झण्डै १५ वर्ष पहिले छिटफुट देखिएकामा अहिले यो समस्या व्यापक बनिसकेको छ”, उहाँले भन्नुभयो, “त्यतिबेला नियन्त्रण गर्न सक्ने अवस्थामा भए पनि अहिले यो समस्या व्यापक बनिसकेको छ ।” 

पहिले काठमाडौँ उपत्यकामा देखिएको यो समस्या उपत्यका नजिकका जिल्ला हुँदै अहिले पूर्वपश्चिम सबैतिर फैलिएको खरेल बताउनुहुन्छ । अहिले यो समस्या रायोलगायत तरकारीमा समेत देखिन थालेको र बीउ, बिरुवासँगै माटाबाट रोग फैलिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रोमा माइती÷मावलीबाट कोसेलीका रुपमा बिरुवा लाने चलन छ तर बिरुवासँगै रोग पनि लगिरहेका हुन सक्छौँ । बालीमा सर्ने रोगका बारेमा किसानमा सचेतना पाइँदैन । ” 

देश बाहिरबाट बीउ वा बिरुवा ल्याउँदा र यहाँबाट विदेश लैजाँदा स्वस्थता प्रमाणित गर्नुपर्ने नियम छ । बाली संरक्षण निर्देशनालयअन्तर्गतको सो कार्यालयले देशका १६ नाकामा रहेका कार्यालयबाट स्वस्थता प्रमाणपत्र दिँदै आएको छ । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा भने सो नियम लागु हुँदैन । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा रोग तथा कीरा फैलिएर किसानले हैरानी बेहोरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप