शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात अर्बको हकप्रद शेयर आउँदै, ६ बीमा कम्पनीको आवेदन

मङ्गलबार, ०८ फागुन २०७४, १६ : ०२
मङ्गलबार, ०८ फागुन २०७४

– रमेश लम्साल 

काठमाडौँ– विभिन्न ६ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । 

आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२/७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो । 

यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता शेयर बराबर ३।५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो । 

यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२/७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो । 

यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२/७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो । 

हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३/७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ । 

हकप्रद शेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१/७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ । 

पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक 

चालू आवकोे पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सत्रवटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् ।  समीक्षा अवधिमा १५ बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ ।

उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बीमा दाबी भुक्तानी गरेको छ । सबैभन्दा कम खुद नाफा कमाउने बीमा कम्पनीमा एभरेष्ट रहेको छ । एभरेष्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप