केन्द्रीय संस्करण

लुम्बिनी बैठकबाट नयाँ नेतृत्वमा नयाँ शक्ति

person explore access_timeफागुन ८, २०७४ chat_bubble_outline0

नेपाली राजनीतिमा पुरानै अस्तित्वको राजनीतिक खेल चलिरहेको छ । यो राजनीतिक खेलमा कुनै नयाँ राजनीतिक वैचारिक सिद्धान्त छैन । विशुद्ध आत्मरति, शासकीय र जातीय सङ्कुचित मानकिताको तालमेत छ । आफ्नो बिग्रिँदो निजी राजनीतिक स्वार्थको वचावट र आत्मरक्षाका लागि पुरानोमा नयाँको विलय हो । यो विचलित राजनीतिक आत्मसमर्पण हो । यसलाई नयाँ राजनीतिक प्रयोग र अभ्यासको रङ्ग हालिँदै छ । यसखाले राजनीतिक अभियानले हजारौँको बलिदान र आफ्नो वर्गीय राजनीतिलाई धोका दिन्छ । त्यो राजनीतिक अभियानले कुनै पनि वर्गको रक्षा गर्न सक्दैन् । त्यसैले लुम्बिनी बैठकतिर सबैको प्रश्नचिन्ह छ । के नयाँ शक्ति लुम्बिनिबाट नयाँ बन्न सक्छ ? मुलुकको गलत राजनीतिक विरासतलाई तोड्न अभियन्ताहरू जनता र विरक्तिएका नेताकर्यकर्ताको नेता बन्न सक्छन् ?

अहिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सवाल निकै सतहमा पुगेको छ । अर्कोतिर मुलुकको वैकल्पिक राजनीतिक शक्तिको चर्चा पनि सर्वत्र चलिरहेको छ । मुख्यगरी वैचारिक, साङ्गठनिक र सैद्धान्तिक हिसाबमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चर्चा फरक ढङ्गले चुलिएको छ । चुनावी गठजोड र परिणाबाट परिष्कृत देखिएको नयाँ शक्ति पोखराको ल्वाङ बैठकबाट मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा फरक ढङ्गले अगाडि बढ्ने निर्णय तर्जुमा गरेका छन् । त्यसैको जगमा फालगुन ९, १० र ११ गते कपिलवस्तुको लुम्बिनीमा सङ्घीय परिषद्को बैठक बस्दैछन् । यो बैठकबाट सबै गलत राजनीतिक विरासतको हिसाबकिताब हुन्छ । विरक्तिएको वाम र लोकतन्त्रिक राजनीतिलाई नयाँ र युगसापेक्ष वैकल्पिक राजनीतिसँग जोड्ने नयाँ राजनीतिक अभ्यास हुन्छ, जुन वैकल्पिक राजनीतिक सूत्रमा सबैको नीति, सिद्धान्त र विचार अट्नेछन् । सबै वर्ग, जाति र क्षेत्रका जनता आफ्नो दीर्धकालीन भविष्यको ग्यारेन्टी देख्न सक्छन् । यसमा देश र जनता ‘विन विन’ हुनेछन ।

वाम एकताबाट नयाँ शक्तिको भविष्य

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गठजोड हात्तीको देखाउने दाँत जस्तै हो । यो एकता एमाले र माओवादीबीचको एकता होइन । खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालबीचको मात्र हो । प्रचण्डले आफ्नो राजनीतिक सङ्कट सामाधान गर्न बीचबीचमा यस्ता चमत्कारी राजनीतिक निर्णय गर्दै आएको इतिहास साक्षी छ । दश वर्षे जनयुद्धलाई सेफ ल्यान्डिङ गराउन सात बुँदे सहमतीदेखि धोबीघटसम्म आइपुग्दा प्रचण्ड राजनीति आत्मसमर्पण हुँदै निकै कमजोर भइसकेको छ । दुई लाइन सङ्घर्षले पार्टी अध्यक्षको कुर्सी हल्लिसकेको थियो । पार्टी अध्यक्षको कुर्सी बचाउन केन्द्रीय समितिको बैठक नै सारेका थिए । केन्द्रीय समितिमा आफ्नो वर्चस्व कायम गर्न राजनीतिक हिसाबकिताब गरे ।

प्रचण्डले मुलुकका सबै कम्युनिस्ट पार्टीबीचको एकताका लागि कम्युनिस्ट केन्द्रको नारा दिए । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गरेर पार्टीभित्रै आफ्ना सहयात्रीहरूसँग राजनीतिक चतुर्याइँ गरे । केन्द्रीय समितिमा आफ्नो वर्चस्व जमाए । त्यो एकता पनि नेकपा माओवादी र मसाल बीचको थिएन् । यो प्रचण्ड र प्रकाशबीचको एकता थिएन, त्यो एकता केवल पुष्पकमल र नारायणकाजी बीचको थियो । त्यहाँ थुप्रै राजनीतिक बेमेल थिए । त्यसलाई सेटमा ल्याउन हम्मेहम्मे थियो । अहिले पनि त्यहाँ माके र मसालबीच राजनीतिक अन्तर्विरोध छन् । प्रचण्डको यस्तै ‘हाइटेक’ अवसरवादी र आत्मसमर्पणवादी राजनीतिक चरित्रले नेकपा माओवादी पार्टी चिराचिरामा विभक्त भए । प्रचण्ड र प्रकाशको ‘ब्रान्ड’ नै फरक थियो । त्यो ‘ब्रान्ड’को निरन्तरता प्रचण्डले दिनसकेनन्, नयाँ राजनीतिक वर्गीय ब्रान्ड ‘प्रचण्डपथ’ थियो ।

वाम एकताको नाममा नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता कति सत्य हो ? त्यो भोलि एकतापछि सावित हुने विषय हो । यदि एकता नै भयो भन्ने त्यहाँभित्रको जनपक्षीय इमानदार र कर्मठ नेताहरू निरूत्साहित हुन्छ । अहिलेदेखि नै स्खलनको सुरुवात भइसकेको छ । पार्टी एकतापछि दुवै पार्टीमा देखिएका ‘ब्रान्ड’ नेतृत्वहरूको ताँतीबाट पद प्रतिष्ठा उब्रिने देखिँदैन् । त्यही राजनीतिक बेमेल दुवै पार्टीमा चर्किएको छ । प्रचण्ड र केपीको राजनीतिक ‘ब्रान्ड’ फरक छन् । त्यसको बाबजुद्ध एकताको व्यापक चर्चा छ । यसखाले एकताको राजनीतिक चरित्रबाट असल नेताकार्यकर्ताले केन्द्रीय राजनीतिक वृत्तमा पुगेर जनताको सेवा गर्ने अवसर पाउँदैनन्, न त केन्द्रीय शासकको ठाउँ कहिले दाबी गर्न सक्छन् । थोरै अवसर पायो भन्ने पनि त्यो जनताको घरदैलोसम्म गर्न पाउने मात्र हो । उनीहरूकै जग र मिहिनेतमा वरिष्ठ नेताहरू केन्द्रीय शासक बनिराख्ने अवसर पाउँछन् । त्यो भनेको मालिक, नोकर र दासको राजनीतिक चरित्र हो । यसमा केन्द्रीय नेताहरू मालिक, मध्यम नेताकार्यकर्ताहरू नोकर र जनता दासको भूमिकाको रूपमा रहने छन् । त्यसैले कपिलवस्तुबाट वैज्ञानिक तवरबाट नयाँ शक्ति चुम्बकीयगुणले पुनः निर्माण भयो भने नयाँ पुराना सबै राजनीतिक शक्तिको आकर्षणको केन्द्र नयाँ शक्ति बन्ने छन् ।

वैकल्पिक राजनीतिक भविष्यको निर्धारण

इतिहासदेखि नै ‘लेफ्ट’ र ‘राइट’ अर्थात् वाम र लोकतान्त्रिक राजनीतिक शक्तिको अभ्यासले मुलुक निकै कमजोर भइसकेको छ । यसले आधारभूत समस्याको सामाधान गर्न सकेन । शासकीय स्वरूपमा मात्र परिवर्तन ल्याए । यसबाट हुनेखाने र गरिखाने वर्गबीचको समस्या र समाजिक विभेदलाई युगसापेक्ष रूपमा झन् मजबुत परे । अहिले पनि नेपाली राजनीतिमा यसको अभ्यास हुँदैछ । यो ‘डेट एक्स्पायर’ राजनीतिक अभ्यास हो । यसले मुलुक र जनताको हित गर्दैन । लुम्बिनी बैठकले सबै कुराको छिनोफानो गर्नेछन्  । जहाँ देश र सबै क्षेत्रका अधिकारउन्मुख जनता हरेक हिसाबले आफ्नो अधिकारको ग्यारेन्टीसहित सुखद दीर्घकालीन भविष्यको सपना सकारको बाटो देख्नेछन् ।

विगतका तीतामीठा विषय र अभ्यासबाट पाठ सिक्दै नयाँ आवरणबाट नयाँ शक्ति वैकल्पिक शक्तिका रूपमा लुम्बिनीबाट उदाउने छन् । वैठकले मुलुकमा देखिएका सबै क्षमताका वैकल्पिक शक्ति अटाउने भाँडोको निर्माण गर्छन् । अर्को सबै क्षेत्रमा खड्किएको राजनीतिक अधिकार र युवा नेतृत्वको ग्यारेन्टी पनि गर्छन् । अर्थात मुलुकलाई सबै क्षेत्रबाट समृद्धि ल्याउन वैकल्पिक राजनीतिक अस्त्रको निर्माण गर्ने छन् । सबै अभियन्तालाई फेरि नयाँ बनाएर स्थानीय तहमा सारा शक्ति केन्द्रित गर्नेछन् । यसले घिनलाग्दो पुराना र सङ्गठित राजनीतिक अखडाहरू तोड्नेछन् । यसर्थ पुराना राजनीतिक अखडाले आफ्नो दीर्घकालीन राजनीतिक भविष्य देख्नेगरी नयाँ शक्तिको नीति निर्माण गर्नुपर्छ । पद प्रतिष्ठाभन्दा ठूलो जनताको सेवक बनेर स्थानीय स्तरमा प्रवेश गर्नुपर्छ ।

पाँच वर्षसम्म मिहिन तरिकाले मिहिनेत गर्नुपर्छ । अरूभन्दा फरक र युगसापेक्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको निर्माण गर्नुपर्छ । नयाँ चिन्तनको राजनीतिक अभियानले मात्र मुलुक समृद्ध र सबल हुन्छ । यसबाट मुलुकमा देखिएको राजनीतिक दल एकातिर र नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्तिको रूपमा अर्कोतिर देखिनेछन् ।

त्यसैले माथि उलेखित ट्रेनको आधारमा अहिले मुलुकमा खड्किएको राजनीतिक आवश्यकतालाई नयाँ शक्तिले लिड गर्नुपर्छ । कपिलवस्तु बैठकले यी तमाम विषयको ख्याल गरे आगामी दिनमा नयाँ शक्ति साँच्चिकै नयाँ शक्ति बन्नेछन् ।

कपिलवस्तुबाट नयाँ शक्तिको राजनीतिक अभियानले बिग्रिँदो मुलुकको राजनीतिक संस्कार र संस्कृतिबाट आजित जनता र नेताकार्यकर्ताहरू नयाँ शक्तिमा लाम्बद्ध हुनेछन् । यसर्थ नयाँ शक्ति निकट भविष्यमा नयाँ र जिम्मेवार राजनीतिक आवरणमा मुलुको आवश्यक्ता पूरा गर्नेछन् । तीन करोड नेपाली जनता र विरक्तिएका राजनीतिक दलका नेताकार्यकर्ताको नेताको नेता बन्दैछन् । एक जना नयाँ शक्तिका अभियनताले हजारौँको राजनीतिक कमान्डर बन्नुपर्ने छन् । त्यसैले कपिलवस्तु बैठकमा संसारभरिको ध्यान केन्द्रित छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...