मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा रहेन’

मङ्गलबार, ०८ फागुन २०७४, १६ : ४५
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौमा भएको साक्षात्कारमा सचिव ज्ञवालीले भने,‘भोलि नै हामी सरकार विस्तार गर्छों, मन्त्रिमण्डिलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिश गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन् ।’

साक्षात्कारमा बोल्दै उनले अबको सरकार मिशन ओरियन्टेड हुने विश्वास दिलाए । उनले भने,‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०–५ कार्यालय आउने–जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरिक्षामा छौँ ।’ उनले सुशासन र आर्थिक समृद्धि हाँसिल गर्नको लागि सरकारले दत्तचित्त भएर काम गर्ने पनि विश्वास दिलाए । 

उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउनेपनि स्पष्ट पारे । 

ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए । 

उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हाँसि गर्ने (सर्वोच्च प्राथमिकता तिव्र आर्थिक वृद्धि) गर्ने र यसको लागि राज्यको लगानी बढाउने । त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने रहेको छ । उनले नीजी क्षेत्रले जति कमाएपनि हुने तर उक्त कमाई फेयर हुनुपर्ने र राज्यलाई कर तिर्नुपर्ने पनि बताए । 

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रवीचको एकता घोषणा ऐतिहाँसिक भएकोले यसले मुलुकमा राजनीतिक स्थायित्व दिने विश्वास दिलाए । 

एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउनको लागि तीन हप्ता समय लाग्नेपनि उनले बताए । उनले भने,‘कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ, यसको लागि समय तीन हप्ता करिब लाग्न सक्छ।’ त्यस्तै उनले फागुनको अन्तिमसम्म राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुने भएकोले आफूहरु त्यतातिर केन्द्रित हुने पनि जानकारी दिए । 

हिजो भएको दुई पार्टीवीचको एकता घोषणालाई दुवै पार्टीका  केन्द्रिय कमिटीले अनुमोदन गर्ने र आगामी फागुनको अन्तिम वा चैत्रको पहिलो साता विशाल कार्यक्रम आयोजना गरि एकता घोषणा गर्ने पनि उनको भनाई थियो । 

ज्ञवालीले एकता महाविधेशनको लागि करिब डेढ वर्ष समय लाग्ने पनि सुनाए । उनले भने,‘महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ।’ उनले एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो, र केन्द्रिय कमिटि छरितो बनाउने स्पष्ट पारे । 

हिजो राति भएको दुई पार्टीवीचको एकता समझदारीलाई उनले ऐतिहाँसिक दिनको संज्ञा दिए । उनले भने,‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीहरु ०१९ साल हुँदै ०२२ सालबाट विभाजन भएका थिए, अब हिजोको एकताले विभाजन क्रमको अन्त्य गरेको छ, दुई तिहाई जनमत कम्युनिष्टहरुको छ, हिजोको एकता विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि प्रेरणादायी भएको छ ।’ 

उनले दुवै पार्टी एक भएकोले अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा नरहने पनि जिकिर गरे । ज्ञवालीले भने,‘अब पार्टी एकता भैसक्यो, दुवै पार्टी एउटै हो नि, एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ ? बरु कार्यविभाजन हुन सक्छ ।’

उनले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्विकार्दै दोहोरिने संभावना रहेको सुनाए । उनले भने,‘हो, राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउनेबारे छलफल चलेको छ, उहाँहरुकै निरन्तरता हुने पनि बलियो संभावना छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप