शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सङ्घीयता क्षमता देखाउने मौका हो’ (प्रदेश २ का प्रदेशप्रमुखसँग अन्तरवार्ता)

मङ्गलबार, ०८ फागुन २०७४, १२ : २२
मङ्गलबार, ०८ फागुन २०७४

रत्नेश्वरलाल कायस्थ नेपाल सरकारको पूर्वसचिव हुन् । मुलुक सङ्घीयतामा गएपछि प्रदेश नम्बर दुईको प्रदेश प्रमुख बन्न सफल भएका कायस्थलाई सरकारले जनकपुर चुरोट कारखानाभित्र कार्यालय र निवासको व्यवस्थापन गरिदिएको छ । शनिबार बिहानै जचुकालीस्थित निवासमा पुग्दा सुटेड–बुटेड भएर रातोपाटीसँग कुराकानीका लागि तयार भएका कायस्थ भन्दै थिए, ‘मुलुक प्रदेश संरचनामा गएपछि जनताले पनि आफ्नो ठाउँको अपनत्वको बोध गरेका छन् ।’ 
दुई नम्बर प्रदेशका प्रमुख कायस्थसँग रातोपाटीका लागि राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश : 

मुलुक पहिलो पटक सङ्घीय ढाँचामा गएको छ, तपाईंले पहिलो पटक दुई नम्बर प्रदेशको प्रमुख बन्ने मौका पाउनुभयो कस्तो महसुस भएको छ ? 
अहिले सम्पूर्ण नेपालकै नवनिर्माणको कुरो हो, त्यसमा प्रदेश पनि एउटा एकाइका रूपमा रहेको छ । मुलुक प्रदेश संरचनामा गएपछि जनताले पनि आफ्नो ठाउँको अपनत्वको बोध गरेका छन् । जनतादेखि लिएर जनप्रतिनिधि पनि अत्यन्त उत्साहित भएका छन् । मलाई के लाग्छ भने सबै मिलेर प्रदेशको विकास भयो भने समग्र रूपमा देशकै विकास हुन्छ । त्यसैले त्यो अपनत्वको भावना लिएर विकास तथा सामाजिक उत्थान कार्यहरू अझ बढी बेगमा र एउटा नयाँ आयामा लिएर हुन्छ कि भनेर मलाई विश्वास छ । 

प्रदेश प्रमुखको जिम्मेवारी लिएर आएपछि अहिलेसम्म के–के काम गर्नुभो ? 

संविधानले दिएको जिम्मेवारी अनुसार प्रदेशसभाको सञ्चालन, सांसदज्यूहरूको शपथ ग्रहणका कुराहरू भए । मुख्यमन्त्री नियुक्ति उहाँको शपथ ग्रहणका कुराहरू, सभामुखको निर्वाचनको कुराहरू भए । अहिले सानो मन्त्रिपरिषद् पनि गठन भइसकेको छ ।

 त्यसैले, निकायहरू आफ्नो ठाउँमा छन् । निकायले गर्नुपर्ने काममा भौतिक संरचना देखि लिएर नियम कानुनका कुराहरू पनि छन्, त्यो  अहिले प्रोग्रेमा छ, तर सबै हुन सकेको छैन । 

प्रदेश सरकारसँग चाहिँ कसरी समन्वय गर्नुहुन्छ ?
प्रदेश प्रमुखको नाताले मेरो एउटा संवैधानिक जिम्मेवारी छ । मलाई लाग्छ, जुन प्रकारले प्रदेश सरकार अगाडि बढ्छ र मैले सम्पादन गर्नुपर्ने संवैधानिक कार्यहरू विधायकका कुराहरू हुन् । संविधानमा किटान भएका कुराहरू छिटो छरितो होस् र प्रदेश सरकारलाई काम गर्न सजिलो होस् भन्ने मेरो त्यो चाहना रहेको छ । 

केन्द्र सरकारसँग चाहिँ कसरी समन्वय गरिरहनुभएको छ ? 
मैले केन्द्र सरकारसँग अहिले भर्खर प्रधानमन्त्री आउनुभएको छ । उहाँसँग शिष्टाचार भेटमा म जान्छु, कतिपय प्रदेशका कुराहरू पनि भन्छु । त्यसका लागि उहाँसँग समय लिनका लागि प्रयासरत छु, प्रधानमन्त्रीको अति व्यस्तता होला ।
 मलाई के लाग्छ भने दुई नम्बर प्रदेशमा प्रदेशमा जुन प्रकारका कठिनाइहरू आउँछन् प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयमा समय समयमा कोअर्डिनेसन गरिरहनेछु ।  मेरो त्यो चाहना छ । 

हामी अहिले एउटा नयाँ अभ्यासमा छौँ, कार्यक्षेत्रको विषयलाई लिएर मुख्यमन्त्री र प्रदेश प्रमुखबीच विवाद पनि आउन सक्छ, त्यसमा चाहिँ कत्तिको सचेत हुुनुहुन्छ ?  
विवाद आउँछ कि आउँदैन भविष्यको कुरो हो । सकभर विवाद नआउला जस्तो मलाई लागिराखेको छ, किनभने सबैले मिलेर प्रदेशको विकास गर्नु छ । त्यसैले जुन कुरा संविधान संवत् नियम संवत् हुन्छ, त्योअनुसार सबैले प्रदेशलाई अगाडि बढाउन प्रयास गर्ने हो । त्यसैले कुनै मतभिन्नता नै आउँछ भनेर मलाई लाग्दैन । 

हुन त त्यो तपार्इंको पाटोमा पर्दैन होला, अब दुई नम्बर प्रदेशमा कर्मचारी व्यवस्थापनको समस्या त तपार्इंले देखिरहनुभएको छ नि, के छ अवस्था ? 
अब समस्या छ, खटिएका कर्मचारीहरू आइसकेको छैनन् । आएका कर्मचारीहरूलाई पनि बसोबासको व्यवस्था अफिसको व्यवस्था र सबैभन्दा बढी जुन छ नि, ऐन कानुनको सिर्जना भइसकेको छैन । त्यसैले काम कारवाहीमा कसरी गर्ने हो अन्योल छ । मलाई लाग्छ, त्यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

सरकार गठन भएपछि आवश्यक पूर्वाधारको व्यवस्थापन कसरी भइरहेको छ ? 
सरकार गठन भएपछि त्यो क्रममा छ मैले भनेँ । अहिले कतिपय कुराहरू बजेट विनियोजनका कुराहरू, बजेटलाई कसरी खर्च गर्नुपर्ने हो, त्यसका लागि ऐन नियमहरू तुरुन्तै आउनुपर्ने हो त्यसबारेमा पनि छलफल भइरहेको छ । मलाई के लाग्छ भने यसमा मन्त्रिपरिषद्ले चाँडै निर्णय गरेर काम गर्नेछ । सरकारको कानुनी सल्लाहकारका रूपमा प्रमुख न्यायाधिवक्ता नियुक्तिको प्रक्रियामा छ, अब अन्य कामहरू पनि चाँडै हुँदै जानेछन् । 

दुई नम्बरमा फरक जातजाति र भूगोलका मान्छेहरूको बसोबास छ, यहाँ विभिन्न दलहरू राजनीतिमा सक्रिय छन्, उनीहरूको बीचमा समन्वय गराउन चाहिँ तपार्इंको भूमिका के हुन्छ ? 
मलाई लाग्छ, अब बहुजातीयको चरित्र त हरेक प्रदेशमा छ, मात्रामा थोरबहुत होला । त्यो प्रदेश २ मा पनि छ र हिजो मात्रै पनि एमालेका संसदीय दलका नेतासँग कुरा भएको थियो । उहाँले मसँगको भेटमा अब प्रदेश विकासका लागि हामी सहयोग गर्छौं र प्रदेशलाई अगाडि बढाउन हाम्रो कस्तो भूमिका आवश्यक पर्छ, हामी त्यो भूमिका निर्वाह गर्न तयार छौँ भनेर बडा राम्रो विचार राख्नुभएको छ । 

अन्त्यमा केही छ ? 
अहिलेको परिवेशमा अब नयाँ प्रधानमन्त्री आइसक्नुभएको छ । केन्द्रमा पनि नयाँ सरकार बनेको छ । अहिलेको परिस्थिति सबैका लागि केन्द्र सरकारदेख प्रदेश सरकारसम्मका लागि च्यालेन्जको विषय हो र आफ्नो सक्षमता सावित गर्ने मौका पनि  हो । मलाई लाग्छ, केन्द्र सरकार र प्रदेश सरकार मिलेर समग्र नेपाललाई कसरी सम्मुन्नत बनाउनुपर्ने हो, त्यसका लागि सहयोगात्मक भूमिका हुन्छ भन्नेमा आशावादी छु । 

(फोटोः कृष्ण खड्का) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप