आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

७ बुँदे एकताको आधार तय भएको भोलिपल्टै प्रचण्ड र चिनियाँ अधिकारीबीच भेटवार्ता

मङ्गलबार, ०८ फागुन २०७४, १० : ५६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं–चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ग्व येझाऊ र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।  एमाले र माओवादी केन्द्रबीच ७ बुँदे एकताको आधार तय भएको भोलिपल्टै प्रचण्ड र उपमन्त्रीबीच भेटवार्ता भएको हो । 

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।
भेटका अवसरमा उनले  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा समेत राखेका थिए । 

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताए । 

अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए । 
चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए । 

 चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउनुहुँदै उनले  एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । 

 नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले बताए । 
भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेखेको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए । 

उनले हिजो प्रम केपी ओली र आज पूर्व प्रम तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप