आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा जुट्यो यस्तो सहमति

मङ्गलबार, ०८ फागुन २०७४, ०० : १७
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले  दुई कार्यदल समेत गठन गरेका छन् ।  प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको हो । 

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ । 

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।  

उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।  बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो  प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ  । 

एमाले र माओवादीबीच सहमति भएका ७ बुँदे आधारपत्रमा पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन ।  यद्यपी  एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तामा  महाधिवेशनसम्म दुबै  जना अध्यक्षको भूमिकामा रहने र ओली प्रधानमन्त्री रहने भद्र सहमति भएको बताइएको छ ।  

एकताका लागि भएका प्रारम्भिक आधारपत्रमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहने उल्लेख गरिएको छ । 

यसैगरी एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको आधारपत्रमा  उल्लेख गरिएको छ ।

सहमतिमा एमालेको जबज र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । 

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने पनि आधारपत्रमा जनाइएको छ । 
सहमतिपत्रमा एमालेका  अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्दा माओवादीबाट तीन नेताहरु प्रचण्ड,  रामबहादुर थापा र  नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

गत असोज १७ गते दुई पार्टीबीच वाम गठबन्धनको घोषणा गरिएको थियो र विभिन्न चरणको छलफल हुँदै अहिलेको स्थितिमा आइपुगेएको हो । 

यसैबीच ७ बुँदे एकताका आधार तय भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागि हुने विश्वास गरिएको छ । यसअघि  एमालेले पार्टीको मार्गदर्शक सिद्धान्तमा अडान नछाड्दा  माओवादीले सरकारमा जान आनाकानी गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप