बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिको अबको गन्तव्य

सोमबार, ०७ फागुन २०७४, १२ : ३७
सोमबार, ०७ फागुन २०७४

राजनीति एउटा यस्तो नीति हो, जसले विद्यमान समाजको अन्तरविरोध पहिचान गर्छ र त्यसलाई हल गर्ने प्रयत्न गर्छ । त्यस्तै राजनीति सामूहिक निर्णय प्रक्रिया र पद्धति पनि हो । जसले राज्यको संरचना निर्माणसँगै शासन पद्धतिको अभ्यास गर्छ । राजनीतिले राज्यसँग भएका वा सिर्जित स्रोत साधन अनि अधिकारको प्रत्यायोजन गर्दै व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध तुल्याउने लक्ष्य लिएको हुन्छ । अनि स्वभावैले राजनीति र राजनीतिक पार्टीहरूको उद्देश्य एउटै भए पनि तिनीहरूले अवलम्बन गर्ने कार्यशैली र तत्कालीन अवस्थाको सामाजिक विश्लेषण फरक हुन्छ । अनि त्यही विश्लेषणका आधारमा अन्तरविरोध पहिचान र समाधान गर्ने नीति, कार्यक्रम र योजना पनि फरक हुन्छन् नै । जब अन्तरविरोधको पहिचान ठीक ढङ्गबाट हुन सक्दैन, निःसन्देह त्यसको समाधान सही हुन सक्दैन । त्यही अन्तरविरोधको पहिचान गर्ने सवालमा राजनीतिक पार्टीहरू भिन्न हुन्छन् ।

समयक्रमसँगै व्यक्ति, समाज र राष्ट्रको अवस्था र आवश्यकता बदलिन पुग्छ । यसरी बदलिएको परिस्थितिमा राजनीतिको गन्तव्य पनि बदलिन जान्छ । यसर्थ, फरक कालखण्ड र परिवेशमा देखापर्ने फरक प्रवृत्तिका अर्थराजनीतिक अन्तरविरोध समाधान गर्दै बदलिएको राजनीतिक गन्तव्यलाई स्पष्ट दिशानिर्देश गरी देशलाई आर्थिक विकास र समृद्धितिर लैजानु अबको राजनीतिक कार्यभार हो । अनि मूलधारका राजनीतिक पार्टीहरू तत्कालीन राजनीतिक कार्यभारमा भन्दा बढी पारम्परिक व्याख्यान अनि राजनीतिक शैली र संस्कारमा लिप्त भएको हुँदा बदलिएको राजनीतिक कार्यभार पूरा गर्न अब विकल्प खोज्नैपर्छ । 
यही बदलिएको राजनीतिक व्याख्यानलाई सार्थक पार्न वैकल्पिक राजनीति जरुरी छ । अनि नयाँ शक्ति पार्टी त्यही समयक्रमा देखापरेको अर्थराजनीतिक अन्तरविरोधको पहिचान र समाधानमा कसरतरत छ । नयाँ शक्तिले सुरु गरेको वैकल्पिक राजनीतिक धारको संरक्षण गर्दै ‘५ स’ले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्नका लागि अब वैचारिक राजनीतिक स्पष्टताका साथ पार्टीको साङ्गठनिक स्वरूप र कार्ययोजनालाई पनि नवीन र वैकल्पिक बनाउनु जरुरी देखिन्छ । 

नयाँ शक्ति पार्टीले आफूलाई पुनर्गठन गर्दै बदलिएको राजनीतिक गन्तव्यमा पुग्ने नयाँ विचार, सिद्धान्त, साङ्गठनिक प्रणाली र राजनीतिक कार्यक्रम तय गर्नका लागि आउने फागनु ९–११ मा लुम्बिनीमा सङ्घीय परिषद्को विस्तारित बैठक बस्दैछ । त्यही बैठकबाट नयाँ शक्तिको भविष्यमुखी राजनीतिक यात्राको नक्सा कोरिने छ । यस आलेखमा वैकल्पिक राजनीतिका लागि नयाँ शक्तिले अवलम्बन गर्नुपर्ने केही वैचारिक, साङ्गठनिक एवम् राजनीतिक कार्यदिशासम्बन्धी धारणाहरूलाई बहसमा ल्याउने प्रयन्त गरिएको छ । 

वैचारिक पक्ष
विकल्पको कुरा राजनीतिमा मात्र होइन विचार, दर्शन, समाज, अर्थतन्त्र, शिक्षा, संस्कृति हुँदै साहित्यमा पनि आउँछ । यसर्थ, यी सबैको समष्टिगत स्वरूप नै वैकल्पिक राजनीति हो । हामीले प्रतिपादन गर्न खोजेको वैकल्पिक राजनीति कस्तो हो ? खासगरी नयाँ शक्ति र साझा विवेकशील पार्टीले उठाउन खोजेको वैकल्पिक राजनीतिको वैचारिक पक्ष के हो र हुनुपर्छ ? यो पारम्परिक राजनीतिको समग्र विकल्प हो या राजनीति गर्ने वैकल्पिक तरिका ? अनि वैकल्पिक राजनीतिका लागि साझा विवेकशीलले भनेजस्तो ‘वाद छोड, विकास रोज’को सामान्य ‘उत्तरवाद’युक्त थ्योरीले मात्र काम गर्छ ? ‘विचार छोड, विकास रोज’ भन्नुको अर्थ अर्को किसिमले विचार र चेतनाविहीन फलोअर उत्पादन गर्न खोज्नु छ होइन ? त्यसो हो भने विचार र चेतना शून्य समाजको परिकल्पना कसरी गर्न सकिन्छ ? 

बरु यसो भनौँ समयक्रमसँगै विचार बदलिन सक्छ । अझ ज्ञान र विज्ञानको पछिल्लो आविश्कार अनि सूचना प्रविधिमा आएको क्रान्तिले विचारका अवयवहरू बदलिन सक्छन् र विचारलाई समय सापेक्षित रूपमा पुनव्र्याख्या गर्नु जरुरी हुन्छ । हो, वैकल्पिक राजनीतिको कुरा गर्दैगर्दा यी र यस्ता केही प्रश्नहरूको उत्तर आउनु अपरिहार्य देखिन्छ । साथै आम नागरिकको दैनिकी र जीवनशैलीसँग जोडिएका सवालहरूलाई पनि ध्यान दिनैपर्छ । तब मात्र हामी विकल्प निर्माणमा अग्रसर हुन सक्छौँ ।

विचार र दर्शनको कुरा गर्दा विश्वमा दुई विचार स्थापित छन् पुँजीवादी र साम्यवादी । पुँजीवादी दर्शनले दुई विपरीत प्रवर्गहरू एउटा नियमित गोलचक्करमा अर्थात् साइक्लिक अर्डरमा हुन्छ भन्ने मान्यता राख्छ भने पारम्परिक साम्यवादी दर्शनले चाहिँ दुई विपरीत प्रवर्गहरूले एकले अर्कोलाई निषेध गरेर आफ्नो अस्तित्व खडा गर्ने व्याख्या गरेको हुन्छ । तर यथार्थतामा हेर्दा पुँजीवादी दर्शनले व्याख्या गरेजस्तो दुई विपरीत प्रवर्गहरू साइक्लिक अर्डरमा स्थिर भएर बस्दैनन् । अर्थात् त्यो नियमित गोलचक्करमा होइन, समयको बहावसँगै ती प्रवर्गहरू गतिमा रहन्छन् र त्यो साइक्लिक अर्डरमा होइन किन्तु स्पाइरल अर्डरमा रहन्छ, अगाडि बढ्नको निमित्त । अनि साम्यवादी दर्शनले व्याख्या गरेजस्तो दुईबीच निषेधको सम्बन्ध पनि हुँदैन । दुईबीच सहअस्तित्व भएरै वस्तु अस्तित्वमा आउने हो । 

यसर्थ, यी दुईबीचको अर्को दर्शन भनेको समाजवादी दर्शन नै हो । हिजोका दिनमा समाजवादलाई साम्यवादमा पुग्ने आधारका रूपमा मात्रै व्याख्या गरियो । तर, यो कुनै वादमा पुग्ने माध्यम नभएर दुवैको विकल्पका रूपमा खडा भएको छुट्टै ध्रुव हो । यसर्थ, अब गैरकम्युनिस्टहरूले समाजवादी ध्रुवलाई नै सशक्त विकल्पको रूपमा अगाडि बढाउने घोषणा र हिम्मत गर्नैपर्छ । विकल्पले व्यक्ति, समाज र समग्र राष्ट्रको जीवनमै परिवर्तन खोज्छ । अहिलेको विद्यमान अवस्थामा परिवर्तन नै गतिको नियम हो । अनि प्रगतिशीलता नै परिवर्तनको मुख्य प्रक्रिया र गतिशीलताको अभ्यास पनि हो । समाजवाद पुँजीवादी आर्थिक प्रणाली अनि राजनीतिक सिद्धान्तको उत्कृष्ट विकल्प हो । यसर्थ, नयाँ शक्तिले अब ‘प्रगतिशील समाजवाद’ (प्रोग्रेसिभ सोसलिज्म) लाई आफ्नो मुख्य वैचारिक एवम् मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्नु उपयुक्त हुने देखिन्छ । 

राजनीतिक कार्यदिशा 
माथि नै उल्लेख गरियो, राजनीतिक पार्टीको मुख्य उद्देश्य विद्यमान समाजको अर्थराजनीतिक अन्तरविरोध पहिल्याउनु र त्यसको समाधान गर्नु हो । अहिलेको हाम्रो समाजको अन्तरविरोध र त्यसलाई हल गर्ने तरिकालाई नयाँ शक्तिले ‘५ स’को सिद्धान्तमा सङ्क्षेपीकरण गरेको छ । नयाँ शक्तिले अवलम्बन गर्दै आएको ‘५ स’मध्येको एउटा स समुन्नत समाजवाद) नयाँ शक्तिको राजनीतिक ध्येय अर्थात् गन्तव्य हो । समाजवाद एउटा यस्तो आर्थिक एवम् राजनीतिक प्रणाली हो, जसले उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र लोकतान्त्रिक नियन्त्रणको पक्ष पोषण गरेको हुन्छ । यसोभन्दा राज्यको नियन्त्रण बढी हुन्छ कि भन्ने जिज्ञासा आउन सक्छ । तर, समुन्नत समाजवादको व्याख्यानले व्यक्ति र समाजबीचको सम्बन्धलाई अझ बलियो गरी स्थापित गरिदिन्छ । यसले मानिसको निजत्वसहितको सामूहिकतालाई प्रवद्र्धन गर्छ । अनि राज्यको सीमाभित्र बस्ने हरेक नागरिकको जीवनस्तरमा एउटा न्यूनतम् मापदण्डसहितको प्रगतिलाई यसले मुख्य ध्येय बनाएको हुन्छ । 

नयाँ शक्तिले लिएको समुन्नत समाजवादको लक्ष्य पूरा गर्ने माध्यम भनेको अर्को स अर्थात् ‘समतामूलक समृद्धि’ नै हो । हामी राजनीतिक रूपले अगाडि भयौँ तर आर्थिक उत्पादनका हिसाबले निकै पछाडि छौँ । हाम्रो अर्थतन्त्र यति पिछडिएको छ, त्यसको विकास नगरेसम्म संविधानप्रदत्त राजनीतिक अधिकारहरूको उपयोग पनि हुन सक्दैन र तिनको संरक्षण पनि सम्भव छैन । त्यसकारण हामीले निर्धारण गरेको राजनीतिक अभिष्ट पूरा गर्न समतामूलक समृद्धि हाम्रो मुख्य साधन हुनेछ र बनाउनुपर्छ । अब बाँकी रहेका तीन स (समानुपातिक÷सहभागितामूलक लोकतन्त्र, स्वाधिनता÷सार्वभौमिकता र सदाचार÷सुशासनको व्याख्यान समतामूलक समृद्धिको पूर्व शर्तको रूपमा गर्न सकिन्छ । 

व्यवहारतः हामीले औपचारिक वा कर्मकाण्डी खालको लोकतन्त्रमार्फत सामाजिक न्याय र समतामूलक विकासको खाका कोर्ने जमर्को गरिरहेका छौँ । परिणामतः हामी अहिलेसम्म सफल हुन सकेका छैनौं । अब लोकतन्त्रकै समृद्धीकरणका लागि विशिष्ट प्रकृतिको समानुपातिक, सहभागितामूलक अनि समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्छ । नेपालको विकास र समृद्धिका लागि हामीले आफ्नो राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै यी दुई ठूला अर्थतन्त्र चीन र भारतको आर्थिक विकासबाट लाभ लिँदै देशको सार्वभौमिकता र स्वाधीनताको प्रवद्र्धन गर्न सक्नुपर्छ । अनि अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा हामीले नारामा भ्रष्टाचाररहित सुशासित अनि चरित्रवान् आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित र स्खलित राजनीतिकै संरक्षण गर्ने द्वैध चरित्र प्रदर्शन गर्यौँ । यसर्थ, यसको अन्त्य गरेर व्यवहारतः सुशासन र सदाचारयुक्त स्वच्छ र सफा राजनीति अवलम्बन गर्न जरुरी छ । अब यही ‘५ स’को राजनीतिक कार्यदिशा अँगालेर निर्धारित राजनीतिक लक्ष्य हासिल गर्न सकिन्छ ।

राजनीतिक मुद्दा
नागरिकको अवस्था फेर्ने अभियानमा वैकल्पिक शक्तिले गर्नुपर्ने तत्कालीन कार्यभार भनेको उनीहरूका दैनिकीसँग जोडिएका आर्थिक एवम् सामाजिक विषयवस्तुहरूलाई तत्कालीन राजनीतिक मुद्दा बनाउनु नै हो । यो देश वर्षौंदेखि गरिबी, बेरोजगारी, भ्रष्टाचार अनि अनियमितताको चपेटोमा परेको छ । राजनीति गर्ने पुरानै तरिका, संस्कार र पात्रका कारण आम नागरिकमा आशाको सञ्चार हुन सकेको छैन । यसर्थ गरिबी, बेरोजगारी, भ्रष्टाचार र कुशासनका विरुद्ध सामाजिक अभियान सञ्चालन गर्नु अबको पहिलो कार्यभार हो । 

त्यसैगरी अहिलेको शासकीय स्वरूपले देशमा राजनीतिक स्थायित्व पनि नदिने र त्यसले राजनीतिलाई पारदर्शी एवम् सुसंस्कारित बनाउन पनि नसक्ने हुँदा अब शासकीय स्वरूप फेर्ने विषयमा पनि अझ सशक्त अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । नयाँ शक्तिले अगाडि सारेका राजनीतिक कार्यदिशा लागू गर्न, नागरिक आवाजलाई मुखरित गर्ने सामाजिक अभियानहरू संचालन गर्ने र समृद्धिमुखी राजनीति गरी आम नागरिकको अवस्था फेर्ने नै यसको मुख्य राजनीतिक मुद्दा हो । अनि पार्टी अभियन्ताहरू आर्थिक, सामाजिक, सांस्कृतिक निजी र पारिवारिक जीवनमा पनि खुल्ला र पारदर्शी बनेर अघि बढ्ने नै यसको वैकल्पिक संस्कृति हो । 

वैकल्पिक सङ्गठन
हिजोको अनुभवले के देखाएको छ भने नयाँ शक्ति केवल टाउकाहरूको थुप्रो जस्तो मात्र भयो । अब पार्टीको सङ्गठन निर्माण र अन्य व्यवस्थापकीय काम, जनपरिचालन, प्रचार एवम् नागरिक सम्बन्ध विस्तारका कामहरू गर्नका लागि कुनै न कुनै वैकल्पिक तरिका अवलम्बन गर्नैपर्छ । विगतको जस्तै अभ्यास र प्रयासहरू अब अपुग हुनेछन् । त्यसैले अब भुइँतहमा छोपिएका प्रतिभा र क्षमताहरूलाई उजागर गरेर नै नयाँ शक्तिले आफ्नो वैकल्पिक प्रस्तुति दिन सक्छ । यसका लागि मुख्यतः प्रदेश प्रमुख, केन्द्रीय विभाग तथा जिल्ला प्रमुखको जिम्मेवारी प्रदान गर्नका लागि अभियन्ताहरूबाट कार्य सम्पादनको स्पष्ट योजनासहित आफ्नो योग्यता, क्षमता, दक्षता, साङ्गठनिक योजना र स्रोतसाधन परिचालनको कुशलता सम्मिलित रणनीतिक योजना लिई सोही अनुसार काम, कर्तव्य र अधिकार निक्षेपण गर्नुपर्छ । त्यसो भयो भने मात्र ‘उचित व्यक्ति उचित स्थान’को मापदण्ड लागू गर्न सकिन्छ । 

पार्टीको साङ्गठनिक संरचना चुस्त र दुरुस्त बनाउँदै व्यवस्थित रूपमा कार्य सञ्चालन गर्न तथा पार्टीमा नेतृत्व विकासको अभ्यास अपरिहार्य देखिन गएको छ । अनि वैकल्पिक साङ्गठनिक संरचना निर्माणका लागि पार्टीको कामलाई कार्यकारी र गैरकार्यकारीमा विभक्त गरी कार्यकारी भूमिकामा युवा पुस्ता र गैरकार्यकारी भूमिकामा प्रौढ पुस्ताको अनुभव र सिकाइलाई स्थान दिने व्यवस्था मिलाउनुपर्छ । यदि नयाँ शक्तिले आफूलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने हो भने नयाँ पुस्तालाई कार्यकारी भूमिकामा अगाडि सार्नैपर्छ । बुढो सुगाले भन्दा तन्नेरी सुगाले नै छिटो सिक्न सक्छ भन्ने तथ्यलाई नजरअन्दाज गर्न पटक्कै मिल्दैन । 

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप