शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरा लागि सपनाभन्दा ठूलो केही होइन : पुष्कर शाह (अन्तरवार्ता)

सोमबार, ०७ फागुन २०७४, १२ : ०९
सोमबार, ०७ फागुन २०७४

राजधानी काठमाडौँ देखि झण्डै १४० किलोमिटर पूर्व दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे । केही गरेर देखाउने जुनुन राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन्,  एउटा विम्ब नै हुन् ।
 
विश्व साइकल यात्रामा निस्किने बेलामा उनको खल्तीमा जम्मा सय रूपियाँ थियो, त्यो पनि आमाले दिएको । तर आमाले दिएको त्यो नोट उनले कहिल्यै खर्च गरेनन्, किनभने त्यो उनका लागि प्रेरणाको स्रोत र आशीर्वादको थियो । यात्राका समय उनी कहिल्यै चीनको सडकमा फालिएको सुन्तलाको बोक्रा खाएर सडकपेटीमा सुत्थे भने कहिले जापानको फाइब स्टार होटलको विस्तरामा निन्द्रा नलागेर भुइँमा तन्ना ओछ्याएर निदाउँथे । 
 
कहिले साहारा मरुभूमिको पोल्ने गर्मीमा एक्लै साइकल चलाइराख्थे भने कहिले रक्की माउन्टेनको ठिर्याउने जाडोमा साइकलका माध्यमबाट आफूलाई न्यानो पार्थे । कहिले मेक्सीकोमा तिर्खाका कारण अपहरण पर्थे त कहिले अचानक टेन्टमा सुतिरहेका उनले आफ्नो घाँटीमा चक्कु राखिएको महसुस गर्दै मृत्युसँग पौँठेजोरी खेल्थे । तर उनको यात्रा पूरा गर्ने दृढ इच्छा शक्तिका अघि उनलाई केहीले पनि रोक्न सकेन । त्यसैले त विश्वको फन्को लगाएर फर्किने बेला उनले त्यही एक सयको नोट आमालाई फर्काउँदा आमा र छोराको आँसु थामिन सकेन ।
 
जम्मा ११ वर्ष अर्थात ४ हजार १५ दिन लगाएर उनले संसारको १५० देशहरूका विभिन्न भूभाग, समाज, संस्कारलाई आफ्नै आँखाले नियाले, बुझे र वर्तमान समाजलाई र भावि पिढीलाई शान्ति तथा सहअस्तित्वको सन्देश प्रवाहित गरे । यस क्रममा उनले ३ साइकल, २७० टायर, १९५ ट्युब, १४० साइकल चेन, २६ जोडी पाइडल, १४ हेलमेट, ५३ जोडी पञ्जा, ८१ चस्मा र ११४ जोडी साइकिलिङ कस्ट्युमको प्रयोग गरे ।
 
यसबीच कैयौँ दिलचस्प तथा मुटु थर्काउने घटनाहरू यी ४ हजार १५ दिनमा घटित भए । शाहलाई त्यो दिन अझै सम्झना छ, जब अघिल्लो दिन उनी आकाश चुम्दै गरेको वल्र्ड टे«ड सेन्टरमा पुगे तर त्यसको भोलिपल्ट नै उनका अघिल्तिर वर्ड टे«ेड सेन्टर माटोमा मिसिएको थियो । मानिसहरू अमेरिकामा के भएको हो भन्नेसमेत बुझ्न सकिरहेका थिएनन् । उनी हमला हुने दिनै वल्र्ड टे«ड सेन्टरमा घुम्न जाने उनको र उनका साथीहरूको योजनामा थियो तर अघिल्लो रातको वियरको नशाले उनी ढिला हुँदा बाँचे ।
 
सुःख–दुःखका साथ आफ्नो यात्रालाई टुङ्ग्याउने निकै थोरै सफल मानिसहरूको नाममा आज उनको नाम थपिन्छ । उनको यात्राको समयमा भएका घटना तथा अनुभवलाई समेटेर केही वर्षअघि उनले ‘संसारलाई साढे पाँच फन्को’ भन्ने पुस्तकसमेत लेखे । उनको यात्राको उद्देश्य, परिणाम तथा यात्राजन्य अनुभूतिका बारेमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको संक्षिप्त कुराकानीः
 
 
तपाईंले शान्तिको सन्देश फैलाउन आफ्नो आधा जीवन व्यतित गर्नुभयो । तपाईंले पाठकहरूलाई के बताइदिनुस् भने रक्सीको भट्टीमा आफ्ना साथीहरूसँग बसेको एउटा साधारण युवा विश्व साइकल यात्रामा निस्कने निर्णयसम्म कसरी पुग्यो ?
 
मलाईं थाहा छैन, त्यस दिन ममा त्यो निर्णय गर्न सक्ने ऊर्जा कहाँबाट आयो तर एउटा कुरा के निश्चित थियो भने म उच्च शिक्षाको अध्ययन गरेर जागिर खानुको सट्टा विश्वको अध्ययन गर्न चाहन्थेँ । तर मेरा अघिल्तिर एउटा ठूलो प्रश्न थियो– मैले मेरो पैतृक सम्पत्तिको बलमा कसरी विश्वको अध्ययन गर्न सकुँला । मैले त सबै सम्पत्ति बेचँे पनि चीन र भारतसमेत घुम्न पुग्ने अवस्था थिएन । तर इच्छाशक्ति भन्ने यस्तो कुरा हो जसका अघिल्तिर केही कुरा पनि अडिन सक्दैन । मेरो इच्छाशक्ति भयो र साइकलले मलाई आफ्नो लक्ष्यसम्म पुर्यायो ।
 
आज फर्किएर हेर्दा साइलले के दियो जस्तो लाग्छ ?
 
मलाई साइकलले संसार घुमायो, संसारभरीको पानी खुवायो र आफ्नो पाखुरीमा सुरक्षा दियो । मैले यसैबाट साहारा मरुभूमि, एन्ड्रिज पर्वतमाला, रक्की माउन्टेनलाई नियाल्न सकेँ । भनौँ संसारमा जति पनि आश्चर्य छन्, ती सबै ठाउँमा मलाई साइकलले नै पुर्यायो । आज तपाईंका अगाडि पनि मलाई साइकलले नै पुर्याएको हो ।
 
अनि नेपालीहरूले के पाए ?
यदि तथ्यहरूकै कुरा गर्ने हो भने पाँच सय पत्रिकाहरूको ३८ भाषामा, संयुक्त राष्ट्रसङ्घको ‘यूएन रेडियो’मा दुई चोटि तथा संसारको एउटै मुलुकमा दशौँ चोटि रेडियो तथा टेलिभिजनमा मैले हजारौँ अन्तरवार्ता दिएँ । यसबाट मैले नेपाल र नेपालीलाई वश्वभरी चिनाउने प्रयत्न गरेँ । 
 
तपाईंको भनाइलाई आधार मान्ने हो भने तपाईंले नेपाललाई विश्वमा चिनाउन सकारात्मक भूमिका खेल्नुभयो तर यसलाई आलोचनात्मक ढङ्गले हेर्ने हो भने तपाईं विश्वको जुनसुकै मुलुकमा जानु भयो त्यहाँ तपाईंले आफ्नो यात्राका लागि माग्ने गर्नु हुन्थ्यो त, यसले देश र देशवासीको छवि नकारात्मक गराएन ? 
 
मैले सहयोग मागेँ त कस्का लागि ? आमालाई साडी किन्न ? मैले मागेको सहयोग शान्तिका लागि थियो । साइकल यात्रा पनि शान्तिका लागि थियो । त्यसकारण मलाई मैले नेपाल र नेपालीहरूको बनामी गराएँ भन्ने लाग्दैन । सूर्यले पनि त २४ घण्टामा जम्मा १२ घण्टा मात्रै उज्यालो छर्छ भनेपछि त्यो दोष सूर्यमा छ कि हामीले त्यसलाई हेर्ने दृष्टिकोणमा ? 
 
 
तपाईंले सहयोगको अपिल गर्दा मानिसहरूको रेस्पोन्स कस्तो पाउनु हुन्थ्यो ?


 
मैले कहिलै पनि कसैलाई जोर–जबरजस्ती गरिनँ । म जहाँ जाँदा पनि मानिसहरूलाई भन्ने गर्थें तपाईंहरूसँग केही खाने कुरा छ भने कृपया सबैले मिलेर खाऊँ । म यस्तो यस्तो उद्देश्यका साथ विश्व साइकल यात्रामा निस्किएको हुँ । मेरो यात्रालाई लिएर विश्वभरी छरिएका नेपाली समुदायमा भने निकै चासो थियो । उनीहरू मलाई कसरी हुन्छ सहयोग गर्नुपर्छ भन्ने भावमा हुन्थे । मलाई खासै पैसाको आवश्यकता भएन, म थोरै पैसामा पनि काम चलाइ हाल्थेँ ।
 
तर जब तपाईं एउटा माहादेशबाट अर्को माहादेश, एउटा देशबाट अर्को देश जाने हुनु भयो भने भिजालगायत कैयौँ कुराका लागि पैसा लाग्ने गथ्र्यो । त्यसैले मैले जहिले पनि एउटा नारा दोहर्याई रहन्थेँ– ‘आई निड मनी बट आई डन्ट लभ मनी’ । मैले यदि पैसालाई नै प्रधानता दिन्थेँ भने सन् २००० मा म जापान पुगेको थिएँ । मलाई साथीहरूले अलिकति भए पनि काम गर्नुस् भनेर भनिरहेका थिए । म त्यहाँ राम्रो गरी सेटल हुन सक्ने थिएँ र आज तपाईंका अगाडि साइकल यात्री पुष्कर शाह होइन करोडपति पुष्कर शाह बसिरहेको हुन्थ्यो । तर मैले आफ्नो सपनाभन्दा ठूलो केही पनि ठानिनँ । मैले आफ्नो समग्र यात्राका क्रममा १ करोड ७० लाख रूपियाँ खर्च गरेँ । 
 
तपाईं कैयौँ पटक चोरी, अपहरण तथा हत्या प्रयासको पनि शिकार हुनुभयो, त्यति बेला तपाईंको मनमा कस्ता कुराहरू खेले ?
 
जब तपाईंले आफ्नो अघिल्तिर मृत्युलाई देख्नुहुन्छ नि त्यसपछि तपाईंमा निकै डर पैसा हुन्छ । मैले पनि त्यस्तै अनुभव गरेको हो । अनि तपाईंलाई हे भगवान आज नमरे हुन्थ्यो भन्ने लाग्छ । (...केही बेरको मौनतापछि) मृत्युलाई शब्दमा व्यक्त गर्न सकिँदैन, कम्तीमा मलाई त आउँदैन । तपाईंले त्यसबेला के महशुस गर्नुभयो भन्ने पटक्कै भन्न सकिँदैन ।  
 
यतिबेला तपाईं जब लाखौँ मानिसहरूको प्रेरणा हो, त्यति नै बेला पुष्कर शाह के हो भन्ने लाग्छ ?
 
पुष्कर शाह घाम हो । ऊ त सूर्यको प्रकाश जसरी अगाडि बढ्यो । (...लामो हाँसो)
 
 
पाठकहरूलाई आफ्ना बारेमा केही कुरा भन्नु न, जुन कुरा तपाईंलाई भनुँभनुँ लागिरहेको छ ?
 
म पहिले शिक्षक बन्न थाहन्थेँ । शिक्षक बनेको भए आज म विद्यालयदेखि घर र घरदेखि विद्यालय गरिरहेको हुन्थेँ र मेरो जीवन त्यसैगरी बित्ने थियो । तर आज मैले विश्वको साढे पाँच फन्को लगाएर फर्किएको एउटा विद्यार्थी भएको छु । मलाई त्यो कुरामा गर्व लाग्छ । मैले ११ वर्षसम्म संसारको सबै महादेशको १५० मुलुकहरूमा पाइला टेकेँ, पसिना खसाएँ । २ लाख २१ हजार किमि मैले साइकलमा यात्रा गरेँ । कहिले बाटोमा फालिएको सुन्तलाको बोक्रा खाएर फुटपाथमा गहिरो निन्द्रामा लीन भएँ भने कहिले फाइभस्टार होटलको विस्तरामा निदाउन सकिनँ ।
 
कहिले रक्की माउन्टेनको ‘माइनस फाइभ डिग्री’ तापक्रममा त कहिले साहारा मरुभूमिको ‘प्लस पचास डिग्री’ तापक्रममा पनि आफ्नो उद्देश्यमा लागिरहेँ । १ अगस्त १९९८ मा मैले यात्रा आरम्भ गरेको थिएँ भने १७ मई २०१० मा मैले सगरमाथा चढेर आफ्नो यात्रालाई बिट मारे । यसक्रममा मैले सधैँजसो डायरी लेखेँ, टिपोट गरेँ, त्यसैको फलस्वरूप मैले पछि किताब पनि निकालेँ ।  
 
आगामी दिनमा के गर्ने सोच राख्नु भएको छ ? कुनै योजना ?
 
हिमालको फेदबाट निकालिएको ‘ग्रेट हिमालयन टे«ल’मा साइकल पर्यटनलाई प्रवद्र्धन गर्न सकिने नसकिने सम्भावनाबारे हालका दिनहरूमा अध्ययन गरिरहेको छु । यदि हामीले त्यहाँबाट साइकल टे«ेलको विकास गर्न सक्यौँ भने त्यो ठाउँ साइकल यात्रीहरूका लागि विश्वमा नयाँ गन्तव्यका रूपमा हुनेछ । यो टे«ल पश्चिम दार्चुलादेखि इलामसम्मको रहेको छ । यो संसारको निकै अग्लोमा रहेको टे«ल हो । यसको उचाइ ५४०० मिटर रहेको छ तथा यसको कुल लम्बाइ १८०० किलोमिटर छ । यसका साथै मैले काठमाडौँमा साइकल अधिकारका बारेमा पनि आवाज उठाइरहेको छु ।
 
एक लिटर पेट्रोलको अर्थ हो महिनामा ४२०० रूपियाँको खपत, जसमा तपाईंले २ वटा एलपी ग्यास किन्न सक्नु हुन्छ । त्यसैगरी एक लिटर पेट्रोल खर्च गर्नुको अर्थ हो करिब ८ सय ग्राम कार्वनडाई आक्साइडको उत्सर्जन । कार्वनडाइ आक्साइडलाई रोक्न सक्नु भनेको हामीले प्रकृतिलाई थप स्वच्छ र सुन्दर बनाउनु नै हो । साथै साइकलले मानिसलाई स्वस्थ कसरी बनाउँछ भनेर छलफल चलाइरहेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप