बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोर गर्नेलाई अब ‘अन द स्पट’ डण्डा हान्नुपर्छ : लालबाबु

आइतबार, ०६ फागुन २०७४, २१ : ०९
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई अब ‘अन द स्पट’ कारबाही गरेर दण्डित गर्नुपर्ने बताएका छन् । उनले वातावरणलाई स्वच्छ राख्नको लागि निर्दयी कदम चाल्नुपर्ने भएकोले आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए । 
आईतबार राजधानीमा  वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्त रुपमा नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘म ईमानदारीपूर्वक काम गर्छु, सबैको कुरा सुन्छु, देश र जनताको हितमा काम गर्छु।’
मन्त्री पण्डितले जनताले आफूले जिताएका प्रतिनिधिमार्फत देशको विकास र समृद्धि चाहेको भन्दै त्यसको लागि आफूहरुकाम गर्न तयारी अवस्थामा रहेको सुनाए । उनले भने,‘मैले वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, काठमाडौंलाई धुलोबाट मुक्त बनाउनुछ, मलाई सबैले यही प्रश्न गर्नुहुन्छ, मास्क लाउन नपर्ने दिन कहिले आउँछ भनेर ? अब म छिट्टै केही निर्णय लिन्छु, अहिले आन्तरिक परामर्शमा व्यस्त छु।’
उनले फोहोर गर्नुहुँदैन है भन्ने अवस्था सिर्जना गर्नुपर्ने बेला आएको सुनाए । उनले भने,‘अब फोहोर गर्नेलाई डण्डा चलाउनुपर्छ, अन द स्पट डण्डा हान्नुपर्छ।’ उनले अधिकार र कर्तब्य सँगसँगै आउने भएकोले जे गर्दा पनि मानवअधिकार उल्लंघन हुन्छ भनेर त्यतिकै बस्न नहुने धारणा राखे । पण्डितले भने,‘गाला सुमसुमाएर र रोएरमात्रै देश बन्छ त ? हेरक क्षेत्रका दण्डहिनताको अब अन्त्य गर्नुपर्छ।’
उनले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउनको लागि आफू ऐन तथा नियम नै संशोधन गर्नपनि तयार रहेको सुनाए । उनले प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोले अब त्यस्ता खाले (प्लाष्टिकजन्य) उत्पादनहरुमा पनि ध्यान पुर्याउनुपर्ने बताउँदै भने,‘जस्तो चाउचाउको खोल कति समयभित्र डाईलुट हुन्छ ? यदि हुँदैन भने त्यस्ता उत्पादनहरुलाई बन्द गर्नपनि अब पछि हट्नुहुँदैन्।’
उनले फोहोर गर्ने काम कसले गरेको हो त भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘हामीले नै गरेको हो नि, यतातिर पनि ध्यान दिनुपर्छ, यो गलत काम गर्न अब कोही पनि अघि सर्नुहुँदैन।’ नेपालमा फोहोर गर्ने दायित्व मेरो हो तर सफा गर्ने दायित्व चाहीँ सरकारको हो भन्ने प्रवृत्ति देखिएकोले अब यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । 
उनले आफू राष्ट्रिय सम्पदालाई नेपालीहरुको हितम प्रयोग गर्ने र वातावरणलाई मानवमैत्री बनाउने परिवर्तनको पक्षमा रहेको पनि सुनाए । उनले भने,‘हामी त हेर्नुहोस्, अहिले विहान उठेदेखि राति नसुन्जेलसम्म पनि मास्क खोल्न सक्ने अवस्थामा छैनौं, कतिपय काठमाडौंका घरहरुमा २ वर्षदेखि झ्याल खोलिएका छैनन्, मलाई त आश्चर्य लाग्छ, हामी कसरी बाँचेका छौं, यो उकुसमुकुसताको जीवनयापन अब बदल्नुपर्छ, स्वच्छसँग बाँच्नुपर्छ।’
उनले आयोजक संस्था र यसकी नेतृत्वकर्ता एवम् समाजसेवी राधिका पोखरेलले आफूलाई सम्मान गरेकोमा बधाई दिए । उनले भने,‘माला, दोसल्ला र प्रमाणपत्र दिएर जिम्मेवारीको भारी बोकाउनुभयो, म जिम्मेवारी बोक्न तयार छु, ईमानदारितापूर्वक काम गर्न तयार छु।’
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान कार्यान्वयन गर्नेतर्फ मुलुक अघि बढेकोले अबको सरकारको मुख्य ध्येय नै विकास र समृद्धि भएको सुनाईन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप