शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं ४ को उपसभामुखमा शर्मा निर्वाचित

आइतबार, ०६ फागुन २०७४, २१ : ०५
आइतबार, ०६ फागुन २०७४

पोखरा - प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ । 

पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना शर्मासँग नेपाली काँग्रेसका तर्फबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट पियारी थापाको उम्मेदवारी परेको थियो । 

प्रदेशसभा बैठकमा उपस्थित ५६ मतमध्ये वाम गठबन्धनबाट निर्वाचित शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठकमा जानकारी गराउनुभएको थियो । उपसभामुखको चयन मत विभाजनको प्रक्रियाबाट गरिएको थियो । 

प्रदेश नं ४ को प्रदेशसभामा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति नेपालका दुई रहेका छन् भने मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले शपथ खाएका छैनन् । 

सभामुख नेत्रनाथ अधिकारीले नवनिर्वाचित उपसभामुख सिर्जना शर्मालाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप