बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘डे टू डे’ हुन्छ ‘वान टु वान,’ तर किन आउँदैन नतिजा ?

आइतबार, ०६ फागुन २०७४, १७ : ३३
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । पछिल्लो केही दिनयता एमाले–माओवादीका दुई अध्यक्षबीच ‘डे टू डे’ जस्तै ‘वान टु वान’ बार्ता भइरहेका छन् । गत मंगलबारयता दिनहुँजसो ‘वान टु वान’ वार्ता भएपनि त्यसको नतिजा भने सुन्य जस्तै छ ।

नेताहरुबीच शक्ति बाँडफाँडमा कुरा नमिलेपछि एकता प्रकृया र सरकार विस्तार पनि अलमलमा पर्दै आएको छ । 

‘वान टु वान’मा ‘अपन डाउन’

यसबीचमा दुई नेताबीच भएका वान टु वान बार्तामा पनि ‘अपन डाउन’ जस्तै हुने गरेका छन् । कहिले मिलिहाले जस्तो त कहिले टाढिएजस्तो । गत मंगलबार र बुधबार लगातार वान टु वान त्यो पनि घन्टौँ वार्ता भए । मंगलबार र बुधबार बेलुकासम्म बार्ता सकारात्मक भएका चर्चा भए । तर, अचानक बुधबार बेलुकाबाट माहोल विग्रिएजस्तै भयो । बिहीबार प्रधानमन्त्रीको सपथले हुन नसकेको ‘वान टु वान’ दुई दिन टुट्यो । 

विहिबार र शुक्रबार छुटेको ‘वान टु वान’ फेरि शनिबार र आइतबार जारी रह्यो । तर, कुनैपनि सहमति भने हुन सकेन । बरु आइतबारको ‘वान टु वान’ पछि पार्टी एकतामा ‘ब्रेक थु्र’ हुन्छ भन्ने आम अपेक्षाविपरित आइतबार बस्ने भनिएको एकता संयोजन समितिको बैठक नै स्थगित हुन पुग्यो ।  

यसअघि गत बुधबार सैद्धान्तिक र सांगठानिक विषयमा दुई दलका नेताहरुबीच विवाद भएपछि उनीहरुबीचको एकता नै टुट्ने हो कि भनेजस्तैगरी नेताहरुका प्रतिकृयाहरु सार्वजनिक भए । तर, दुई दिनपछि शनिबार बिहान प्रचण्ड र ओलीबीचको वार्ता सकारात्मक भएको प्रतिकृया आयो । 

शनिबारको बार्ता लगत्तै महोत्तरी पुगेर माओवादी अध्यक्ष प्रचण्डले वार्ता सकारात्मक भएको भन्दै आइतबारको ‘वान टु वान’पछि पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति भएको बताए । तर, प्रचण्डको घोषणा र आम अपेक्षाविपरित आइतबार बस्ने भनेको समितिको बैठक नै स्थगित हुन पुग्यो । 

आइतबार ओली र प्रचण्डबीच भक्तपुरमा झण्डै साढे ५ घण्टा भएको ‘वान टु वान’मा पनि कुनै सहमति हुन नसकेपछि थप गृहकार्य गर्ने भन्दै दुवै नेता बाहिरिएका थिए । 

सरकार विस्तार अनिश्चित 
पहिलो प्राथमिकता शक्ति बाँडफाँडलाई बनाएका नेताहरुबीच पहिला राज्यका निकायमा गर्नुपर्ने पदपुर्तिको भागबण्डा मिलाउन नै केन्द्रित भएको बताइएको छ । सत्ताका पद बाँडफाँड सकेपछि मात्रै पार्टी एकताबारे औपचारिक गृहकार्यमा जुट्ने नेताहरुको तयारी छ । तर, अर्को भन्दा आफू नै बढि शक्तिमा रहने उदेश्य र चाहानाका कारण अहिलेसम्मका ‘वान टु वान’बार्ता अपन डाउन जस्तै भइरहेका छन् । त्यसमाथि दुई शीर्ष नेताबाहेक अन्य नेताको व्यवस्थापनले पनि पार्टी एकतामा चुनौति थपिएको छ । 

यसरी भागबण्डामा कुरा नमिल्दा पार्टी एकता मात्रै होइन, सरकार विस्तार पनि अनिश्चित बन्दै गएको छ  बिहिबार आफुले नियुक्ति र सपथ लिएकै दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले आफुले सपथ लिएको चार दिन बित्दा पनि सहयात्री दल नेकपा माओवादीलाई सरकारमा सहभागि गराउन सकेका छैनन् ।

उनले सरकारमा सहभागि हुन गरिरहेको आग्रहलाई माओवादीले प्याकेजमा सहमति नगरी सरकारमा सहभागि नहुने अडान नछोडेपछि ओली दवावमा परेका छन् भने प्रचण्ड रक्षात्मक स्थितिमा पुगेका छन् । 

सत्ताका तत्काल बाड्नुपर्ने पदहरु 
१.राष्ट्रपति

२.उपराष्ट्रपति

३.सभामुख

४.उपसभामुख

५.मन्त्रीहरु

६.राष्ट्रियसभामा मनोनित गर्ने तीन सांसद

बिहीबार नै दुई दलबीच शक्ति बाँडफाँड गर्ने र माओवादीलाई सरकारमा सहभागि गराउने सहमति तयारी भएको भनिएपनि त्यसयता औपचारिक बार्ता नै हुन सकेका छैनन् । 

बिहीबारको भाका यसरी सर्यो

बुधबार रातिसम्मको दुवै दलका शीर्ष नेतासहितको बैठकमा नेताहरुवीच बिहीबार प्रधानमन्त्रीले नियुक्ति लिएसँगै दुवै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुडमा केपी ओली र प्रचण्ड थिए । त्यसका लागि बिहीबार पुनः बैठक बस्ने नेताहरुबीच मौखिक सहमति बनेको थियो । तर, बिहीबार प्रधानमन्त्रकिो नियुक्ती, सपथ लगायतले गर्दा दुई दलबीच बैठक नै बस्न सकेन । 

बिहीबार हुन नसकेको बर्ता शुक्रबार हुने नेताहरुको प्रतिकृया आयो । तर, शुक्रबार पनि नेताहरुबीच ‘वान टु वान बार्ता हुन सकेन । बिहीबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्ति हुदै गर्दा प्रचण्ड भने सिन्धुली तिर हानिएपछि कतिपयले एकता र सरकार गठनमा समस्या भएको अनुमान गरिसकेका थिए, तर ओलीको सपथमा प्रचण्ड फर्किएपछि उक्त अनुमान फेल खाएको थियो । त्यसको भोलिपल्ट शुक्रबार अध्यक्ष अ‍ोली दिनभर बालकोटमा बसेर बधाइ थापे भने ललितपुरमा एकछिन पुगेर एउटा कार्यक्रममा सम्बोधन पनि गर्न भ्याए । त्यस्तै प्रचण्डले पनि शुक्रबार काठमाडौमा माओवादीनिकट शिक्षकहरुको सम्मेलनमा छोटो सम्बोधन गर्न भ्याए । 

ओलीको प्राथमिकता सरकार 
प्रधानमन्त्रीको सपथ खाएपछि ओलीले पहिलो प्राथमिकता सरकार विस्तारलाई दिएका छन् । तर, माओवादी सरकार विस्तारमात्रै नभई आगामी दिनमा सरकारले गर्ने राजनीतिक नियुक्ति समेतलाई समेटेर अघि बढ्नुपर्ने पक्षमा उभिएको छ । यसबारे माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार काठमाडौमा भएको शिक्षकहरुको सम्मेलनमै प्रश्ट बताएका छन् । योसँगै एमाले–माओवादीबीच एकीकृत पार्टीको सिद्धान्तमा पनि कुरा मिलेको छैन । सैद्धान्तिक र सांगठानिक र नेतृत्वमा समेत कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीको यथावत नै छ । 

कारक जवज ?
जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमतिबाट बुधबार राती अन्तिममा एमाले पछि हटेपछि पार्टी एकता सरकार विस्तारको प्रकृया लम्बिएको हो । 

एमालेको यहि अडानका कारण बुधबार रातीसम्म पार्टी एकताको खाका सार्वजनिक गर्ने भनेर दिनभर वान टु वान र संयुक्त छलफल गरेका दुई पार्टीले अन्तिममा एकताको खाका लिपिबद्ध गर्न सकेनन् । जसले गर्दा एमाले नेताहरु मात्रै सहभागि गराएर ओलीले पहिलो मन्त्रिपरिषद गठन गर्नुपर्यो । 

माओबादी समेतको समर्थनमा प्रधानमन्त्री भएका ओलीलाई एक्लै निर्णय गर्न धेरै अप्ठ्याराहरु छन् । पार्टी नै एकीकरण गर्ने भनेर गृहकार्य भइरहेका बेला एकलौटी अघि बढे गठबन्धनमा थप गडबडी हुनेमा ओली जानकार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप