शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हर्टअट्याक दिने टोली’

आइतबार, ०६ फागुन २०७४, १६ : ३३
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । वान्डरर्स स्पोर्ट पार्कमा अहिलेसम्मकै उत्कृष्ट ‘अन्त्य’ हेरेको आधा घण्टापछि उक्त नाटकीय प्रस्तुतिको केन्द्रविन्दुमा रहेका दुई पत्रहरुलाई सोधेको थिएँ, ‘के तपाईंहरु यसअघि क्रिकेटको कुनै पनि स्तरमा यस्तै स्थितिमा सामेल हुनुहुन्थ्यो ?’

‘म थिएँ, म थिएँ,’ युवा लेगस्पीनर सन्दीप लामिछानेले उत्साहित हुँदै चिच्याए, ‘अन्तिम पटक नामाबियाबिरुद्ध । म बसन्त रेग्मी दाईसँग ब्याटिङ गर्दै थिएँ । १९ रन आवश्यक थियो र म अन्तिम खेलाडी बाँकी थिएँ ।’

उफ !

विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालको हरेक खेलको अन्त्य मुटुको चालनै बन्द गर्ने किसिमको थियो । नामिबियाविरुद्ध १ सय ३९ रन पछ्याउने क्रममा १ विकेटको जीत हासिल गर्दै नेपालले प्रतियोगिताको शुरुवात गरेको थियो । त्यसपछि केन्याबिरुद्ध जीतका लागि अन्तिम बलमा दुई रनको आवश्यकता थियो । त्यसपछि विश्वकप छनौटमा स्थान बनाउन क्यानाडाविरुद्धको अन्तिम खेलमा दुवै खेलको उत्साहलाई मिश्रण गर्न सफल रह्यो ।

यसपटक लामिछाने फेरि अन्तिमसम्म थिए । उता, करण केसीले सेसिल पर्भेजको बलमा छक्का हिर्काएपछि अन्तिम बलमा दुई रन आवश्यक थियो । त्यतिबेला खेल मैदानको वातावरण अद्भूत थियो, जसलाई साल्भाडोल डालीले पनि क्यानभासमा उतार्न सक्दैन थिए होला ।

सात दिनको खेलपछि पनि तीन टोलीको भविष्य राउन्ड रबिनको त्यही अन्तिम बलमा टिकेको थियो । 

नेपाल र क्यानाडाबीचको खेल क्लाइम्याक्समा पुगिरहँदा सँगै रहेको अर्को मैदानमा युएईले नामिबियालाई १७ रनले हराउँदै जिम्बाव्वेमा आफ्नो स्थान सुरक्षित गरेकोमा ढुक्क थियो । उनीहरुको खुसीयालीको उत्सव वान्डरर्ससम्म सुन्न सकिन्थ्यो ।

युएई र नामिबिया दुवैको समान ६ अंक रहेको थियो । तर, नेट रनको आधारमा ऊ अघि थियो । अब उनीहरुले मात्र यति मात्र आशा गर्नुथियो कि नेपाल र क्यानाडाबीचको खेल बराबरीमा नटुंगियोस् । 

ठीक त्यही बेला क्यानाडाका बलरले लेगसाइडमा वाइड फाले । अब एक बलमा एक रन आवश्यक थियो । यतिबेलासम्म फाइनलमा युएईको स्थान पक्का हुने सम्भावना ‘जीवित र मृत’ दुवै थियो ।

परभेज आफूलाई सम्हाल्दै फेरि बलिङ गर्न रनअप लिन थाले । उनले आफ्नो ओभरको पहिलो चार बलमा कुनै सुपरहिरो म्युट्यान्टजस्तै ‘योकरको सुपरपावर’ वर्षा गरे । तर, अन्तिम बल आइसक्दा भने उनी फेरि मानवरुपमा आइसकेका थिए । सायद त्यतिबेला उनी कतै उडेर जान पाउने शक्ति आफूमा होस् भन्ने सोच्दै थिए । करणले अन्तिम बलमा नेपालका, र सँगै युएईका, लागि विजयी रन हिर्काए ।

परभेज मैदानमा थुचुक्क बसे । उता, जीतको उत्सव मनाइरहेका सन्दीप आफूभन्दा दुई गुणा ठूला उमेरमा क्यानाडियन खेलाडीलाई अङ्गालो हालेर उठाउन पुगे ।

‘उनीहरुले पनि राम्रो क्रिकेट खेले,’ क्यानाडाबारे बोल्दै सन्दीपले भने, ‘हामी हाम्रो क्रिकेटलाई उच्च स्तरमा पुर्याउन चाहन्थ्यौँ । तर, एउटा टोली छनौट हुनुपर्ने थियो । मसँग कुनै शब्द छैन । उनीहरुलाई त्यस्तो स्थितिमा देख्दा दुःख पनि लाग्यो ।’

खेलको शुरुवातमा सन्दीपले क्यानाडाको ब्याटिङक्रमलाई ध्वस्त बनाउँदै थिए । ५ ओभरमा उनले ७ रन खर्चेर दुई विकेट लिइसकेका थिए । तर, घुँडामा चोट लागेर उनले मैदान छाड्न पर्यो । जब उपचार गरेर उनी मैदान पुनः फर्किए, पहिलाजस्तो जादु देखाउन सकेनन् । २४ बलमा उनले ३३ रन खर्चिए । श्रीमान्था विजरत्नेको शतकको मद्दतले क्यानाडा बलियो स्थानमा पुग्यो ।

रन पछ्याउने क्रममा परभेजले सातौँ ओभरमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई आउट गरेपछि नेपालको इनिङ धर्मरायो । ३४ ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाउँदा आकाशमा विजुली चम्कन थालेपछि अम्पायरले खेलाडीहरुलाई मैदान बाहिर लगे । २० मिनेटपछि मैदानमा फर्किँदा क्यानाडाले फेरि नेपालको विकेट लिन थाल्यो ।

नवौँ विकेट खस्दा नेपाललाई ४७ बल ५१ रन आवश्यक थियो । त्यसपछि भने करणले आफ्नो खेल देखाए ।

‘जब उनले बलर डिल्लोन हेलिगरतर्फ हिर्काउँदै चार रन बनाए म निकै आत्तिएको थिएँ । हे भगवान ! उनले बललाई कति साह्रो हिर्काउँदै छन्,’ सन्दीपले भने, ‘नन स्ट्राइकर एन्डमा म डराइरहेको थिएँ । त्यसपछि जब उनले छक्का हिर्काए, ठूलो छक्का, ९० देखि १०० मिटर टाढा, मैले थाहा पाएँ उनी अब मुडमा छन् र अब सिध्याउने छन् । मलाई उनीमाथि विश्वास थियो र उनले त्यो पूरा पनि गरे ।’

खड्का बाहेक नेपालका प्रायः खेलाडी होचो कदका र दुब्ला छन् । करण पनि होचा छन् तर उनको छाती चौडा र शक्तिशाली हात छन् । हिल्लीको बलमा हिर्काएको छक्काले नेपालसँग पनि असम्भवलाई सम्भव बनाउने फायरपावर छ भन्ने देखियो । 

अब नेपाललाई एक विकेट हातमा रहँदा ३६ बलमा ४० रन चाहिएको थियो ।

‘त्यतिबेला म छक्काको बारेमा मात्र सोचिरहेको थिएँ,’ करणले भने, ‘मलाई छक्का, छक्का, छक्का र छक्का मात्र हान्न थियो किनभने हामीलाई जित्न थियो । क्वालिफायरको सवाल जो थियो । मैले सन्दीपलाई नियमित खेल खेल्न भने चौका छक्काको बारेमा नसोच भने । मात्र सिधा खेल, ६ बल तिमी खेल अर्को ओभर म खेल्नेछु ।’

अन्तिम दुई ओभरमा जब २१ रन आवश्यक भयो, दुईले सल्लाह गरे, नम्बर १० का ब्याटस्म्यान करणले गियर बदल्ने निधो गरे ।

लङ अनमा छक्का हिर्काए पछि विकेटकिपर माथिबाट अर्को बाउन्ड्री हिर्काए । अन्तिम बलमा एक रन लिँदै अन्तिम ओभरमा करणले स्ट्राइक लिने भए । 

तर, परभेजले ६ बलबाट आठ रन ल्याउनुपर्ने स्थितिलाई दुई बलबाट आठ रन बनाउने स्थितिमा पुर्याए ।

‘बलरले निकै राम्रो योकर फ्याँके,’ करणले भने, ‘म नर्भस थिएँ तर, साथसाथै छक्का हिर्काउन सक्छु भन्ने आत्मविश्वास पनि थियो । त्यही भएर होला मेरो ध्यान एक रनभन्दा पनि छक्का हिर्काउने भन्नेमा थियो ।’

पाँचौ बलमा करण क्रिजमा अलिपछि सरे, परभेजको योकरलाई टक्कर दिन । उनको यो परिवर्तनले फल दियो, पाँचौ बलमा उनले छक्का हिर्काए ।

त्यसपछि आयो वाइड जसले नेपाललाई विश्वकप छनौटमा पुर्याउने पक्का गर्यो । तर, मैदानमा रहेका खेलाडीहरुलाई आफूले टोलीलाई छनौटसम्म पुर्याएको होस पनि थिए ।

‘हामीले मात्र हाम्रो खेललाई ध्यान दिइरहेका थियौँ,’ सन्दीपले भने, ‘हामीलाई युएईले जितेको थाहा थिएन । हामी मात्र त्यो खेल जित्न चाहन्थ्यौँ । मैले करणलाई भने – मात्र बललाई हिर्काउनु । यदी त्यो तिम्रो रेन्जमा छ भने त्यसलाई बाउन्ड्री कटाउन सक्छौँ । मलाई विश्वास छ ।’

विश्वकप छनौटमा नेपालको दोस्रो यात्रा हुनेछ । 

पहिलोमा पनि नेपालको खेल यस्तो नाटकीय थियो । विश्व सन् २०१३ मा क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमा अमेरिकालाई अर्को डिभिजनमा प्रवेश गर्न मात्र एक जीत आवश्यक थियो । तर, वर्मुडासँग पराजित भयो । यता नेपालले इटालीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य मात्र १४.५ ओभरमा पछ्याउँदै नेट रनरेटमा अमेरिकालाई पछि पार्यो ।

‘वर्मुडादेखि यहाँसम्मको यात्रा निकै अद्भूत रह्यो,’ कप्तान खड्काले भने, ‘तर, यो खेल म सहभागी भएको अहिलेसम्मकै उत्कृष्ट खेल हुनेछ । यस्तो बिरलै हुन्छ, तर आज भयो, त्यो पनि हाम्रो पक्षमा ।’

उता, काठमाडौँमा नेपालका समर्थकहरु राहतको सास फेर्दै थिए । खड्काको ‘कार्डियाक किड्स’ (हृदयघात दिने खेलाडी) हरुले नेपालका समर्थकहरुलाई हप्ताभर आच्छुआच्छु पारेका थिए ।

‘हामी अब फेरि यस्तो खेल खेल्न चाहँदैनौँ,’ सन्दीपले हाँस्दै भने, ‘हामी चाँडै खेल सक्न चाहन्छौँ । तर, यो क्रिकेट हो, क्रिकेटमा जे पनि हुनसक्छ ।’

इएस्पीएन क्रिकइनफोका लागि पिटर डेला पेना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप