बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ : कसरी गरिएकाे छ भीआईपीको सुरक्षा ?

आइतबार, ०६ फागुन २०७४, १२ : १८
आइतबार, ०६ फागुन २०७४

जनकपुर-  दुई नम्बर प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र अन्य भीआईपीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको तल्लो एकाइबाट सुरक्षाकर्मी कटौती गरिएको छ । नेपाल प्रहरीले प्रदेशसभा स्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, मर्यादापालक तथा भीआईपीका लागि पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) तल्लो तहका थाना र चौकीहरूबाट २–२ जनाको दरले कटौती गरेर व्यवस्थापन गरेको हो ।

‘गृह मन्त्रालयबाट थप दरबन्दी आएको छैन, प्रदेशका विभिन्न एकाइहरूबाट कलेक्सन गरेर सुरक्षा व्यवस्था मिलाएका छौंँ’ दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख (एआईजी) विजयलाल कायस्थ भन्छन्, ‘संसदभवनको सुरक्षाका लागि ५५ जनाभन्दा बढी खटिएका छन्, व्यवस्थापनको समस्याका बाबजुद सुखदुःख मिलाएका छौँ ।’

संदसभवनको सुरक्षाका लागि आवश्यक ५५ जना जनशक्तिसहित अन्य सुरक्षा व्यवस्था र भीआईपीहरूसँग खटिने पीएसओसमेत कुल १५० नयाँ दरबन्दीको आवश्यकता रहेको दुई नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिए पनि प्रहरीले दुईजना अङ्गरक्षक (पीएसओ) खटाएको छ । मुख्मयन्त्रीबाहेक प्रदेश प्रमुख, सभामुख र उप–सभामुखका लागि नेपाली प्रहरीबाट प्रतिव्यक्ति दुई जनाको दरले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) खटिएका छन् ।

त्यस्तै आन्तरिक मामिला मन्त्री र आन्तरिक मामिला मन्त्रालयका सचिवलाई पनी अङ्गरक्षक उपलब्ध गराइने प्रदेश प्रहरी प्रमुख (एआईजी) कायस्थले जानकारी दिएका छन् ।
     

    जचुकालीको सुरक्षा सशस्त्रको जिम्मा
प्रदेश २ को मुख्य प्रशासनिक केन्द्र जनकपुर चुरोट कारखाना लिमिटेड परिसरको सुरक्षाका लागि शसस्त्र प्रहरीले पोस्ट स्थापना गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा स्थापित उक्त पोस्टले जनकपुर चुरोट कारखाना परिसरको सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

त्यस्तै आन्तरिक मामिला मन्त्रीसहित प्रदेश सरकारका अन्य मन्त्रीहरूको सुरक्षा सशस्त्र प्रहरीले गर्ने भएको छ । सशस्त्र प्रहरी बल रुद्र बाहिनीका एक उच्च अधिकारीका अनुसार आन्तरिक मामला मन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरीले सातजना सुरक्षा अधिकारी उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला मन्त्रीको सुरक्षाका लागि नेपाल प्रहरीले पनि अङ्गरक्षक खटाउने बताइएको छ ।  

सशस्त्र प्रहरीले प्रदेश प्रमुखका लागि दुई जना अङ्गरक्षक (पीएसओ) खटाएको छ भने मुख्मन्त्रीका लागि सशस्त्रले सुरक्षा अधिकारी खटाएका छैनन् ।

सशस्त्र प्रहरीले पनि भीआईपी सुरक्षाका लागि दुई नम्बर प्रदेशभित्रका विभिन्न युनिटहरूबाट सुरक्षाकर्मी कटौती गरेको छ ।

प्रदेश संसद भवन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले १ प्लाटुन फोर्स परिचालन गरेको छ । मध्यक्षेत्रका विभिन्न युनिटहरूबाट कलेक्सन गरिएको फोर्सले नपुगेको अवस्थामा सीमा सुरक्षा कार्यालय धनुषाबाट थप मद्दत उपलब्ध गराउँदै आएको बताइएको छ ।


 
त्यस्तै मुख्मन्त्री र प्रदेश प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको धनुषास्थित गोरखनाथ गणबाट सुरक्षा अधिकारीहरू खटिएका छन् । नेपाली सेनाले जम्दारको कमान्डमा प्रदेश प्रमुखको सुरक्षामा १२ जना र मुख्यमन्त्रीको सुरक्षाको कमान्डमा १२ जना सुरक्षा अधिकारी खटाएको छ ।

मुख्मन्त्री र प्रदेश प्रमुखको निवास सुरक्षा पनि नेपाली सेनाले गरिरहेको छ भने अन्य मन्त्रीहरूको सुरक्षामा सैन्य अधिकारी खटिएका छैनन् ।  

(फोटो : कृष्ण खड्का)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप