शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् मन्त्री लेख बहादुर थापा मगर ?

शनिबार, ०५ फागुन २०७४, १८ : २१
शनिबार, ०५ फागुन २०७४

राजेन्द्र न्यौपाने
 

गोरखा । आमा भद्र कुमारी थापा मगर  र बाबु भीम बहादुर थापा मगरका माइला सन्तान लेख बहादुर थापा मगर यतिबेला नेपाल सरकार प्रदेश नं. ४ अन्तर्गत रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । २०३२ साल मंसिर ५ गते विहान पाँच बजेको समयमा गोरखाको साविक ताप्ले गाउँ विकास समिति वडा नं. ५ मा जन्मेका थापा विद्यालय तहदेखिनै राजनीतिमा सक्रिय रहँदै आएका उनका घरपरिवारले बताउने गरेका छन् । औपचारिक शिक्षामा गोरखा क्याम्पस गोरखाबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण थापा व्यवहारीक शिक्षा तर्फ भने अग्र स्थानमा रहेर काम गर्दै आएका छन् ।  १८ औं वसन्त देखिनै राजनीतिमा होमिएका नेता थापा २०५० सालमा गोरखा क्याम्पसमा मगर विद्यार्थी संघको अध्यक्ष भएर काम गरे । सोही समयमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएर राजनैतिक प्रशिक्षण लिँदै २०५२ सालबाट सुरुभएको जनयुद्धमा थापा २०५३ साल देखि भूमिगत भएर लागे । भूमिगत भएको केही समय पछि नै २०५४ सालमा पक्राउ परेका थापाले गोरखा,भैरहवा, विरगंज र कास्कीका कारागारमा २०५७ साल सम्म ४ वर्ष विताउनु परेको थियो । 

जेलबाट छुटेसँगै २०५८ सालमा जनमुक्ति सेनाको प्लाटुन, कम्पनी हुँदै बटालियन कमिसार बने । तत्कालिन सरकारले संकटकाल घोषणा गरी किलोसेरा टु अपरेशन सञ्चालन गरेका समय थापाले जिल्लामा सैन्य कमाण्डर बनेर काम गरेका थिए । २०६० मा माओवादी गोरखाको जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी र २०६१ मा क्रान्तिकारी जिल्ला जनपरिषद गोरखाको अध्यक्ष भएर काम गरेका थिए । 
२०६२/०६३ को जनआन्दोलन पछि माओवादी र सरकारवीच शान्ति सम्झौता भएपछि तमुवान राज्य सदस्य रहेका थापा २०६४ मा तमुवान राज्य सचिवालय सदस्य रहेका थिए ।  २०७० मा नेकपा माओवादीको गोरखा जिल्ला अध्यक्षमा निर्वाचित भएका थापा प्रतिष्पर्धीहरुले भन्दा धेरै मत ल्याएर विजयी भएका थिए । २०७२ सालमा एकिकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थापा, २०७३ साल देखि  नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो सदस्य र गोरखा जिल्ला अध्यक्ष भएर काम गरिरहेका थिए । थापा नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । 
विगतका एक दशक के गरे थापाले ?
    नेपाल सरकारले  तत्कालिन जिल्ला विकास समितिमा स्थानीय राजनैतिक दलहरु सहितको जिल्ला समन्वय समिति निर्माण गरेपछि माओवादी पार्टीको तर्फबाट जिल्ला समन्वय समितिको नेतृत्व थापाले गरेका थिए । द्वन्द्वका समयमा धेरै भूगोलका  अनुभव सम्हालेका थापाले राखेका विकास योजनाका प्रस्तावहरु सुनेर अन्य राजनैतिक दलका नेताहरु अनविज्ञ रहने र माओवादी मार्फत थापाले ल्याएका योजनाहरु जस्ताको तस्तै पास हुने गरेको लामो समय सम्म सोही कार्यलयमा रहेर काम गरेका एक कर्मचारी बताउँछन् । सहि योजनाहरु अडानका कारण माओवादी गोरखामा आज सम्म आफ्नो प्रभाव कायम राख्न सफल भएको अन्य राजनैतिक पार्टीका नेताहरुले समेत बताउने गरेका छन् । 

गोरखा कहाँबाट भए विजयी
२०७४ मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ प्रदेश (क) बाट उम्मेदवारी दिएका थापा प्रतिस्पर्धी नेपाली काँग्रेसका धिरन थापालाई पछि पार्दै जीत हासिल गरेका थिए । नेपाली काँग्रेसको राम्रो प्रभाव रहेको सो क्षेत्रमा थापालाई जनताले नेतृत्व क्षमता देखेर मत दिएको जानकारहरु  बताउँछन् । 

के भन्छन् थापाका बाबुआमा ?
हाल गोरखा नगरपालिका २ स्थित घरमा रहेका बाबुर भीम बहादुर थापा र आमा भद्र कुमारी थापा कान्छा छोराले बनाउँदै गरेको घरमा यत्रतत्र छरिएका समान मिलाउँदै थिए । तपाईँको छोरा खै भन्ने प्रश्नमा पोखरा गएको सुनाए । किन गएको भन्ने प्रश्नमा उसको राजनीति काम हामी बुझ्दैनौ बाबु भन्दै बहिनी कान्छीका अनुसार माइला छोरा लेख बहादुर कृषि मन्त्री बनेको कुरा सुनेको उनका बाबु भीम बहादुर थापाले बताए । चार दाजूभाई र दुई दिदी बहिनीका माइला छोरा लेख बहादुर थापा रहेछन् । उनी जन्मेको दिन घरमा शुभ दिन परेको उनका बाबुले बताए । 

मन्त्री छोराले के गर्नुपर्छ ?
छोरालाई हामीले जिताएको होइन, भोट दिने जनताहरुले जिताएका हुन, जनताको काम राम्रो गर्ने, कसैको लोभ नगर्ने, जनताले जसरी जिताए त्यसरी नै उनीहरुको सेवा गरेर पैंचो तिर्नुपर्ने उनका बाबु भीम बहादुरले बताए ।

छोरा माओवादीमा हिँड्दा सुरक्षा निकायले दुःख दिएन ?
आर्मीले तीन पटक दामगाडेमा लगेर छोरा कहाँ छ भनेर सोधेका थिए । मैले मेरो छोरा कहाँछ थाहा छैन, तपाईँहरुले खोजेर मलाई बुझाईदिनु पर्यो भनें । यो बुढा कस्तो नगलेको भन्दै छाडिएको उनले सुनाए । 
  पंक्तिकार मन्त्री थापाको घरमा पुग्दा भूकम्पबाट भत्केका घरहरु बनाउँदै गरेको अवस्थामा रहेको थियो । मन्त्री थापाका लागि दाजुभाईहरुको सहयोगमा घर बन्दै गरेको उनका बाबुले बताए । 

के गर्छन् मन्त्री थापाले ?
नेता थापाले आफू मन्त्रीमा नियुक्त भएसँगैे जमिनको अध्ययन गरेर कृषि पकेट र कृषि सुपर जोन कार्यक्रम लागू गर्नेे भू–उपयोग नीति बनाएर जग्गाको बर्गीकण गरेका कृषि क्षेत्रमा ल्याण्ड पोलिङ र जमिन विकासको वाध्यकारी कानून बनाउने, खेती योग्य जमिनलाई न्यूनतम शर्तमा भाडामा दिने, व्यवसायिक खेती गर्नेलाई स्पष्ट नीतिगत रुपमा सुविधाको प्याकेज घोषणा गर्ने, कृषकको परिचय तथा वर्गीकरण गरिने, कृषि पर्यटनलाई महत्व दिँदै आफ्नो मन्त्रालयले कार्यक्रम संचालन गर्ने बताए ।    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप