बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रलोभन र धम्की दिएर एकता भाँड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

शनिबार, ०५ फागुन २०७४, १७ : ५०
शनिबार, ०५ फागुन २०७४

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् ।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताएका हुन्।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।” अध्यक्ष प्रचण्डले भने, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्षले बताए। अध्यक्षले भने, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउनुहुँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताए । “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं ।” अध्यक्षले भने, “हामीले जुन ऐतिहासिक मिसन गरेका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”

दुई नम्बर प्रदेशका सबै पार्टीका नेता कार्यकर्तालाई आ–आफनो पार्टीका नेतालाई सतर्क तुल्याउने र गठबन्धनलाई सफल पार्न समेत अध्यक्ष प्रचण्डले सम्बोधन आव्हान गरे ।

अध्यक्ष प्रचण्डले अगाडि भने, “एक वर्षअघि म प्रधामन्त्री हुँदा मधेश र पहाड के हुने हो ? छिमेकीहरुसँग सम्बन्ध के हुने हो ? संविधान बनेपनि कार्यान्वयन हुने हो कि होइन, निर्वाचन हुने हो कि होइन ? भन्ने अवस्था विद्यमान थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि क्रान्तिको नेतृत्व गरेको कारण मधेश र पहाडी जनतालाई विश्वासमा लिएर संविधानमा कार्यान्वयन गर्नेतर्फ लैजाने मेरो जिम्मेवारी र कर्तव्य थियो । मैले त्यो जिम्मेवारी पुरा गर्न प्रधानमन्त्री भएदेखि मधेशसँग संवाद गर्ने, असन्तुष्ट पक्षसँग बारम्बार वार्ता गर्ने र निर्वाचनसम्म देशलाई लैजान सके, त्यसमा मलाई गर्व छ ।”

मधेसका जनताले आफ्नो अपीललाई निकै उच्च महत्वका साथ लिएको समेत प्रचण्डले बताए । “पहाडमा ७३ प्रतिशत भोट खस्दा मधेसमा ७७ प्रतिशत भोट खस्यो । मधेसका जनताले मेरो अपीललाई गम्भीररुपमा लियो । यसमा मलाई गर्व छ ।” उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप