शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मतदाता सूचिमा नाम रहेको विषयमा बोले सांसद सुरेशचन्द्र दास यादव

शनिबार, ०५ फागुन २०७४, १६ : ५७
शनिबार, ०५ फागुन २०७४

काठमाडौं–माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद सुरेशचन्द्र दास यादवको नाम भारतीय मतदाता सूचिमा भेटिएको समाचारपछि नयाँ बहस शुरु भएको छ । सिरहा औरही गाउँपालिका–५ का यादव सिरहा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

भारत, बिहारको दरभंगा जिल्ला अन्तर्गत दरभंगा नगरपालिका अन्तर्गतको मतदाता सूचिमा उनको नाम रहेको छ । 

दासको भारतीय मतदाता नामावलीमा बुवाको नाम देवनाथ दास उल्लेख छ । उनको परिचयपत्र नम्बर आइएजी ०३७३१८३ रहेको  छ । 

भारतीय नागरिकको पहिचानपत्र जस्तै भएको छ मतदाता प्रमाणपत्र तर दास भन्छन्, ‘मतदाता परिचयपत्र भारतीय नागरिकता जस्तो होइन ।’

काँग्रेस पृष्ठभूमिका दास प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रबाट चुनाव जिते । 

काँग्रेस पार्टीको संस्थापमध्येका एक देवनाथ दास यादवका छोरा हुन् सुरेशचन्द्र दास यादव । काँग्रेसले टिकट नदिएपछि उनी माओवादी केन्द्र प्रवेश गरेका थिए । लगत्तै उनले प्रतिनिधिसभाको टिकट पनि पाएका थिए । 

भारतीय मतदाता नामावलीमा उनको नाम रहेको कुरा बाहिर आएपछि हामीले दाससँग सम्पर्क गर्र्यौँ । उनले यस बारेमा दिएका प्रतिकृया जस्ताको त्यस्तैः

राणाकालदेखि हाम्रो परिवार नेपाली राजनीतिमा छ । नेपाल निर्माणमा हाम्रो परिवारको पनि योगदान छ । अर्थात नेपाल स्थापनादेखि नै हाम्रो परिवार नेपालमा रहेको छ । मेरो वंशजको नागरिकता छ । यदि म भारतीय भएको भए वंशजको नागरिकता हुने थिएन । खुल्ला बोर्डर भएका कारणले थुप्रै नेपाली भारतमा घर बनाएर बसेका छन् । त्यसमध्ये नेपालका धेरै नेता पनि पर्छन् । 

भारतीयहरुको पनि नेपालमा घर छ । जग्गा छ । घर जग्गा हुँदैमा भारतीय वा नेपाली हुन्छ भने होइन । १९५० को नेपाल–भारत सन्धिमा नेपालको नागरिकले भारतीय नागरिक सरह सुविधा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो भएको कारणले भारत र नेपालका जनता एक अर्काको देशमा घर, जग्गा किनेका छन्, खुल्ला रुपमा व्यवसाय गरेका छन्, पढ्न लेख्न पाएका छन् यो सबै कुरा समान्य भइसकेको छ ।  

घर बनाएपछि त्यहाँको नगरपालिकालाई कर तिर्नुपर्ने हुन्छ । घर नम्बर लिनु पर्ने हुन्छ । गाउँ टोलमा बसेपछि त्यहाँको हरेका आधारभूत कानुन प्रकृया पुरा गर्नुपर्छ । 

भारतको दरभंगामा मेरो घर छ भन्ने कुरा सबैलाई थाह छ । बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत सबैलाई थाह थियो । त्यसपछिका नेताहरुलाई पनि मेरो घरका बारेमा थाह छ, किनभने नेपाली काँग्रेसको सेल्टर थियो मेरो घर । 

नेपाल काँग्रेसको पार्टी कार्यालय भएको थियो मेरो घर । २०१७ सालमा राजा महेन्द्रले कु गर्दा नेपाली काँग्रेसका नेताहरु भारत प्रवासमा गएर बस्नु भएको थियो । त्यसमा मेरो बुवा पनि हुनुहुन्थ्यो । पछि, भारत प्रवासमा रहेका नेताहरुलाई नेपाल फर्किन भन्यो । केही नेताहरु फर्किनुभयो । फर्केका थुप्रै नेताहरु पक्राउ पर्नुभयो । तर, मेरो बुवा भारतबाट फर्किनु भएको थिएनन् । 

मेरो बुवा नफर्केपछि नेपालमा रहेका सबै जग्गा जमिन सरकारले जफत गर्यो । अनि मेरो बुवा बालबच्चा लिएर भारतमै बस्नुभयो । धेरै दिनसम्म त त्यतिकै भौतारिनु भएको थियो । पछि केही नलागेपछि दरभंगामा जग्गा लिएर उतै घर बनाउनुभयो, त्यो बाध्यता थियो । कुनै रहरले हामी घर बनाएका होइनौ त्यहाँ । नकुनै व्यापार व्यवसायी गर्न बनाएका थियौं । नेपालको राजनीतिक अवस्थाले गर्दा त्यस्तो गर्न बाध्य पार्यो जुन हाम्रो इच्छा थिएन । 

बुवाले घर बनाएपछि काँग्रेसका थुप्रै नेताहरु त्यहाँ आउ जाउँ गर्न थाल्नुभयो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुका लागि त्यो सेल्टर नै भयो । पार्टी कार्यालय नै त्यही भयो । नेपालमा हुने आन्दोलनका सबै गतिविधि त्यहीबाट हुन्थ्यो । गिरीजाप्रसाद कोइराला पनि कतिपटक त्यहाँ गएर बस्नुभएको, त्यो म आफैले देखेको छु ।

जनयुद्धकालमा माओवादीले पनि भारतमै सेल्टर लिएर बसेको थियो । त्यहाँ लुकेर बस्दा धेरैले धेरै प्रकारका सुविधा लिएर बसेका थिए । कतिपयले त राशन कार्ड पनि बनाएका थिए । खोज्यो भने भोटर लिस्टमा पनि कतिपयको नाम होला । त्यो राजनीतिक परस्थितिले त्यस्तो गरायो । र, मेरो बुवाले पनि राजनीतिक परस्थितिका कारण त्यहाँ घर बनाउनुभयो । 

घर बनाइ सकेपछि त्यहाँका राजनीतिक दलहरुले सायद हाम्रो परिवारको नाम भोटर लिस्टमा राखदिएको होला । त्यो कुरा हामीलाई जानकारीमा पनि छैन । त्यति बेला म आफै नेपाली काँग्रेसका क्रियाशिल नेता, त्यहाँ जाबो एउटा भोट हाल्न म किन जान्थे र ? 

मेरो बुवा २०१५ सालमा सांसद भइसकेका मान्छे, मन्त्री भसकेका मान्छे, उहाँ पनि एउटा भोट खसाल्नका लागि भारत किन जानु पथ्र्यो र । भोट हाल्ने आवश्यकता नै हामीलाई परेन । भोटर लिस्टमा नाम हालेपछि म कुनै पदमा गएको छु कि मेयरमा लडेको छु, कि कुनै सवैधानिक पदमा गएको छु वा त्यसबाट कुनै फाइदा लिएको छु । मैले त्यसबाट कुनै फाइदा लिएको छैन । 

हामी नेपालमै राजनीतिकमा व्यस्त रहने मान्छे । दरभंगामा गएर एउटा भोट खसाल्ने खालको परिवारका मान्छे हामी होइनौँ । मतदाता नामावालीमा त्यहाँ कसरी नामा लेखिन्छ भने मतदाता नामावली संकलन गर्ने व्यक्तिहरु आउँछन् र यो कसको घर हो, यो घरमा को को बस्छन् सोधेपछि अरु कसैले भनि दिएपनि उनिहरु नाम लिएर जान्छन् ।

भोट बढाउनका लागि त्यहाँका नेताहरुले पनि खोजी खोजी नाम हालेका हुन्छन् । कसैले हाम्रो नाम पनि लेखाई दिएका होलान् । भोटर लिस्टमा मेरो नाम छ भने कुरा मलाई थाह पनि थिएन र आजसम्म भोट पनि खसालेको छैन । भोटर लिस्टमा नाम हुनु भनेको भारतीय नागरिकता होइन । भोटर लिस्टमा नाम भोट खसाल्नसम्मका लागि मात्र सिमिति हुन्छ ।

यहाँ मधेशीलाई हेर्ने वित्तिकै भारतीय हो भनि ठान्छन् । यो मानसिकतामा परिवर्तन नभएसम्म देशको समस्या समाधान हुँदैन । समस्या समाधान गर्नका लागि मानसिकतामा परिवर्तन गर्नुपर्छ । मधेशी हुने वित्तिकै कोही भारतीय हुँदैन ।

सुरेशचन्द्र दास यादवको परिवारसँग काँग्रेस र माओवादीको साइनो

काङ्ग्रेसको ‘रूख’ बन्यो वामपन्थीको ‘छहारी’ !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप