बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिहेको अघिल्लो रात हराएका खरेल भारतमा

शनिबार, ०५ फागुन २०७४, ०८ : ४१
शनिबार, ०५ फागुन २०७४

नवलपरासी - झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैंडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । 

खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए । 

खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग नगरे पनि फेसबुक अनलाइनमा आउने गरेका कारण त्यसको स्थान भारतमा देखिएको अनुसन्धानका क्रममा थाहा हुन आएको हो । 

भारतीय प्रहरीको सहयोगमा प्राप्त सूचनानुसार गोरखपुरमा रहेको सुन्दर गेस्ट हाउसमा समेत खरेलले रात बिताएको अनुसन्धानका क्रममा खुल्न आएको छ । 

गत माघ २२ गते खरेलको स्थानीय युवतीसँग विवाह गर्ने तय गरिएको थियो तर उनी विवाहको अघिल्लो दिन राति एकाएक बेपत्ता भएका थिए । 

बेपत्ता खरेलको खोजी गरिदिन खरेलका दाजु गुरुप्रसादले हुलियासहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएपछि खोजतलास अगाडि बढाउने क्रममा यस्तो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । 

खरेल बसेको होटेलको अभिलेख हेर्दा फेला परेको परिचयपत्रको फोटोकपी, होटलका कामदारको भनाइका साथै प्राप्त सिसीटिभी भिडियो फुटेजअनुसार खरेल सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

विवाह हुने भनेर मिति तोकिएपछि एकाएक बेपत्ता भएका खरेललाई  तत्काल नेपाल ल्याइने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप