शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

शुक्रबार, ०४ फागुन २०७४, ११ : ५५
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौँ– आफूले नियुक्ति र शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने भएका छन् ।
बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना भए पनि अन्तिममा आएर उक्त तयारी रद्द भएको थियो ।

माओवादीसँगको पार्टी एकताको टुङ्गो नलाग्नु र एमालेभित्रकै माधव नेपाल समूहको चित्त बुझाउनुपर्ने भएकाले ओलीलाई तत्काल मन्त्रिपरिषद विस्तार गर्न त्यति सहज नभएको जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तत्काल मन्त्रीमण्डल विस्तारको कुनै तयारी भएको छैन । ‘प्रधानमन्त्रीको शुक्रबार दिनभर बाहिर जाने कार्यक्रम पनि छैन, पार्टीसँगको छलफल पनि तय भएको छैन, आज बधाई र शुभकामनाको मात्रै कार्यक्रम छ’, ओलीका प्रेश संयोजक चेतन अधिकारीले रातोपाटीलाई बताए ।

माओवादीसँगको सहमति अन्योल
एमाले–माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिइसकेको छ । अब मन्त्रिपरिषद विस्तार गर्दा माअ‍ेवादीलाई नसमेट्ने हो भने अर्थ अर्कै लाग्ने भएकाले पनि ओलीले माओवादीलाई सहमतिमा ल्याएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने हुन्छ ।

जबजले अड्कायो
जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुङ्गो लगाउने पूर्वसहमतिबाट अन्तिममा एमाले पछि हटेपछि माओवादी यी विषय नटुङ्गिदासम्म सरकारमा जाने सम्भावना नरहेको नेताहरूले नै बताइसकेका छन् ।

एमालेको यही अडानका कारण बुधबार रातिसम्म पार्टी एकताको खाका सार्वजनिक गर्ने भनेर दिनभर वान टु वान र संयुक्त छलफल गरेका दुई पार्टीले अन्तिममा एकताको खाका लिपिबद्ध गर्न सकेनन् । जसले गर्दा एमाले नेताहरू मात्रै सहभागी गराएर ओलीले पहिलो मन्त्रिपरिषद गठन गर्नुपर्यो । ब्ुधबारको छलफलपछि बिहीबारै यो विषय टुङ्ग्याउने भनिए पनि बिहीबार प्रधानमन्त्रीको शपथलगायतका कामले गर्दा नेताहरूबीच छलफल हुन सकेन । शुक्रबार पनि नेताहरूबीच यस विषयमा छलफल गर्ने तयारी नभएको र अर्को समयसमेत तय नभएकाले दुई दलका शीर्ष नेताबीचको वार्ता नै कहिले हुने भन्ने अनिश्चत छ । जसका कारण मन्त्रीमण्डल विस्तारमा थप ढिलाइ हुने निश्चित छ ।  

माओवादी समेतको समर्थनमा प्रधानमन्त्री भएका ओलीलाई एक्लै निर्णय गर्न प्राविधिक अप्ठ्यारो छ । पार्टी नै एकीकरण गर्ने भनेर गृहकार्य भइरहेका बेला एकलौटी अघि बढे गठबन्धनमा थप गडबडी हुने भएकाले पनि अघि बढ्न नसक्ने ओली निकट स्रोतले बताएको छ ।

यद्यपि नेताहरूले अब छिटै बस्ने शीर्ष नेताको बैठकले पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्याउने दाबी गरेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अबको बैठक निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिँदै शीर्ष तहमा त्यसबारे अनौपचारिक कुराकानी भइरहेका बताइन् । एमाले नेता सुवास नेम्वाङले शुक्रबार या शनिबारसम्म बैठक बसेर निर्णयमा पुगिने बताए ।

मन्त्रालयको भागबण्डा पनि भएको छैन
एमाले र माओवादीबीच कसले कति मन्त्रालय लिने भन्ने पनि निर्णय भइसकेको छैन । प्रारम्भमा ६०–४० भनिए पनि त्यसमा ठोस सहमति भइ नसकेकाले एमालेले कति मन्त्रालय र कुन राख्ने र माओवादीलाई कुन कुन भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।

त्यसपछि सम्बन्धित पार्टीले मन्त्री बन्नेको नाम टुङ्गो लगाउनेछन् । मन्त्रालय भागबण्डामा माअ‍ोवादीले पूर्वसहमतिअनुसार ६०–४० का आधारमा मन्त्रालय बाँड्नुपर्ने भन्दै आएको छ भने एमाले ७०–३० को अडानमा छ ।

आफ्नै पार्टीमा पनि छ समस्या
एमालेभित्र पनि मन्त्रीका आकाङ्क्षी धेरै छन् । बिहीबार नै एमालेका माहासचिव ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई मन्त्रीमण्डलमा समावेश गर्न लागेका ओलीले अन्तिम समयमा आएर पोखरेल र ज्ञवालीको नाम हटाएर लालबाबु पण्डित र थममाया थापाको नाम राखेका थिए ।

बिहीबार दिनभर ओलीसँगै पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चा भएको थियो । ओली निकटका दुवै नेता पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चाचलेपछि नेता माधव नेपालले ओलीलाई टेलिफोनमा ‘के गर्न खोजेको हो ?’ भनेर सोधेका थिए ।

माधवको आक्रोशपूर्ण फोन गएपछि तत्कालै ओलीले पोखरेल र ज्ञवालीको नाम हटाएर पण्डित र थापालाई शपथ खुवाउने जानकारी गराएका थिए । पण्डित नेपाल समूहका हुन् भने थपा ओली निकट मनिन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप