शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई कोरिया, एक झन्डा र एकीकरणका सम्झना

शुक्रबार, ०४ फागुन २०७४, १० : १९
शुक्रबार, ०४ फागुन २०७४

सिओल – राजधानी सिओलबाट ५० माइल पर रहेको दक्षिण कोरियाली टोलीको राष्ट्रिय प्रशिक्षण केन्द्रमा शुक्रबार किम टेइक सोे प्योङच्याङ ओलम्पिकको प्रत्यक्ष प्रशारण हेर्न आतुर थिए ।  उत्तरको शत्रु राष्ट्र भनेर चिनिएको दक्षिण कोरियामा ओलम्पिक आयोजना हुँदै थियो  । तर, छिमेकी उत्तरका जनताहरू पनि उत्साहित थिए । प्रतिक्षाको ढुकढुकी समाप्त हुन बाँकी नै थियो । रङ्गशालामा उपस्थित व्यक्ति हुन् वा टेलिभिजन अगाडि बसेका नागरिक, सबै उत्तर र दक्षिण कोरियाको टोलीले संयुक्त मार्चपास गरेको हेर्न आतुर थिए । किमले पनि मार्चपासअघिसम्म टेलिभिजन ट्युन अफ नगर्ने योजना बनाएका थिए । 

दुवै देशका खेलाडीहरू प्योङच्याङ ओलम्पिक स्टेडियममा एकसाथ प्रवेश गरे । काँधमा काँध मिलाएर जब उत्तर र दक्षिण कोरियाका खेलाडीहरू मार्चपासमा उत्रिए । त्यसपछि दुवै कोरियाका जनताले उनीहरूलाई ठूलै अभिवादन गरे । कोरियाको एकीकृत झन्डामुनि दुवै देशका खेलाडीले संयुक्त मार्चापासमा उत्रिए । यस झन्डामा निलो रङ्गले पूरै कोरियाली प्रायद्वीप र सेतो ब्याकड्रपले शान्तिको प्रतिनिधित्व गर्छ । कोरियाली प्रायद्वीपमा आणविक हतियारको विषयलाई लिएर उत्तरसँग दक्षिणले शत्रुतापूर्ण सम्बन्ध राख्दै आएको छ । दक्षिणमा आयोजना भएको ओलम्पिकमा उत्तरको सद्भाव र साझेदारीपूर्ण उपस्थितिले यो समस्या समाधानका लागि ढोका खोलिदिएको छ । 

यो दुर्लभ घटना थियो तर अप्रत्याशित अवश्य थिएन । यसअघि पनि दुवै टोलीले धेरैपटक संयुक्त मार्चपास गरिसकेका थिए । सन् १९९१ को विश्व टेबुल टेनिस च्याम्पियनसिप र सन् २००६ मा इटलीमा भएको विन्टर ओलम्पिकमा दुवै देशका खेलाडीले एकीकृत झन्डा प्रदर्शन गरेका थिए । अहिले ४७ वर्ष पुगेका प्रशिक्षक किम सन् १९९१ मा दक्षिणका चर्चित खेलाडी थिए । त्यतिबेला २१ वर्षका किमले संयुक्त टोलीबाट विश्व टेबुल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । ‘४५ दिनसम्म हामीले एकसाथ अभ्यास गर्यौँ । हाम्रो अभ्यास सबै पत्रपत्रिकाको फ्रन्टपेजको समाचार बन्ने गरेको थियो,’ किमले भने, ‘यसलाई धेरैले एकीकरणको पहिलो पाइला भनेका थिए ।’

सन् १९४५ मा ३५ वर्षे जापानी शासनको अन्त्यपछि दुई कोरिया विभाजनको दिशामा अघि बढेका थिए । विश्वयुद्धको समाप्तिसँगै अमेरिकी प्रभावको दक्षिण र सोभियत युनियनको प्रभाव रहेको उत्तर छुट्टिए । एउटा प्रजातान्त्रि मुलुक बन्यो । अर्कोले कम्युनिष्ट मोडललाई पछ्याउँदै गयो । त्यसयता, १९५० देखि ०५३ सम्म यी दुई देशबीच ठूलो युद्ध भयो । जसको घाउलाई अझै दुबै कोरियालीहरूले बिर्सिएका छैनन् । अहिले पनि सीमानामा दुवै देशबीच विवाद हुन्छ । 

उत्तरको आणविक कार्यक्रमलाई लिएर दक्षिणले पटक–पटक आपत्ति जनाउँछ । तर, प्रशिक्षक किम जनता–जनताबीच नभएर राजनीतिकस्तरमा मात्रै समस्या रहेको बताउँछन् । ‘युद्धलाई दुवै देशले भुल्न सकेका छैनन् । तर जनताले के बुझेका छन् भने युद्ध भुलेर शान्तिपूर्ण रूपमा हातेमालो गर्नुको विकल्प छैन । यो नै सत्य हो ।’

२६ वर्षअघि जतिबेला किम खेलाडी थिए । त्यतिबेला दुई कोरियाबीचको बरफजस्तै चिसो सम्बन्धलाई खेलकुदले पगालेको थियो । सन् १९८७ मा दक्षिण कोरियाको ‘कोरियन एयर फ्लाइट ८५८’ विस्फोटमा परेको थियो ।  त्यतिबेला विमानमा रहेका सबै ११५ जनाको मृत्यु भयो । उत्तर कोरियाली एजेन्टहरूले जहाजमा बम छाडेको तथ्य फेला परेपछि दुई देशबीचको सम्बन्ध चिसियो । त्यसको चार वर्षपछि दुवै देशको संयुक्त टोलीले विश्व टेबुल टेनिस च्याम्पियनसिप खेलेको थियो । सरकारले त्यतिबेला खेलाडीहरूलाई राजनीतिक विषयमा केही पनि नबोल्न कडा निर्देशन दिएको थियो । 

जपानमा भएको विश्व च्याम्पियनसिपमा उत्तर र दक्षिणका खेलाडी एउटै टोलीमा छ थिए । तर फरक–फरक फ्लोरमा बस्ने गर्दथे । उनीहरूले अभ्यासका क्रममा बेला एकअर्काको देशको अवस्थमा बारेमा चर्चा गर्ने गरेका थिए । किमले त्यतिबेला आफ्ना डबल्सतर्फका पार्टनर किम क्वोक चुलसँग धेरै विषयमा कुराकानी गर्ने गरेका थिए तर उनी यस विषयमा अहिले पनि मुख खोल्न चाहन्नन् । आफ्ना पार्टनरलाई कुनै समस्या नहोस् भनेर ।

संयुक्त महिला टोलीकी सदस्य ह्वाइन जङ ह्युन भने मुख खोल्न तयार छिन् । उनी अहिले सिओल सहरभन्दा केही पर रहेको क्षेत्रमा टेबुल टेनिसको प्रशिक्षण दिन्छिन् । उनले सन् ०९१ मा महिला डबल्सतर्फ उत्तरकी लि बुन हुईसँग मिलेर प्रतिस्पर्धा गरेकी थिइन् । उनीहरूबीच आफ्नो परिवार, टेबुल टेनिस र ब्वाइफ्रेन्डका विषयमा कुराकानी हुन्थ्यो । लिले उनलाई दक्षिण कोरियाको सङ्गीतका विषयमा सोध्थिन् । त्यसैले ह्युनले उनलाई उत्तर कोरिया लैजानका लागि केही अडियो क्यासेटहरू समेत दिएकी थिइन् । 

लि र ह्युवनको जोडीले चीनलाई हराएर यस विश्व च्याम्पियनसिपमा महिला डबल्सतर्फ स्वर्ण जितेको थियो । त्यसपछि दुवै खेलाडी दुवै कोरियामा सेलिब्रेटी बने । ‘उनले त्यतिबेला दक्षिण कति धनी छ र मेरो कमाइ कति हुन्छ भनेर सोध्ने गरेकी थिइन्,’ ह्युनले भनिन्, ‘हामी निकै मिल्थ्यौँ । अहिले म उनलाई निकै मिस गर्छु ।’

संयुक्त टोली तयार हुनभन्दा अघि किम टेइक सो र ह्युन दुवैले यो टोली यति धेरै शक्तिशाली हुनेछ भन्ने अनुमानसम्म गरेका थिएनन् । उनीहरू दुवै त्यतिबेला निकै युवा थिए । दुवैले आफ्नो खेलमा मात्रै ध्यान दिने गरेका थिए । तर अहिले उनीहरूले यस टोलीको शक्ति आफ्नो जीवनमा अनुभव गरिरहेका छन् । यसरी खेलेपछि उत्तरलाई हेर्ने उनीहरूको दृष्टिकोण परिवर्तन भयो । यस घटनापछि उनीहरूले पुनःएकीकरणका विषयमा सोच्न थाले । त्यसअघि यस्तो सोच दिमाग कहिल्यै आएको थिएन । 

विश्व च्याम्पियसिपन लगत्तै संयुक्त टोली हरायो । किमका डबलतर्फका पार्टनर र ह्युनकी पार्टनर दुवै सम्पर्कविहीन भए  किमले उनका पार्टनरका विषयमा अन्य उत्तर कोरियालीसँग सोध्ने गरेका थिए । तर उनीहरूसँग पनि केही जानकारी थिएन । उनी गायव नै भए । 

‘यो धेरै दुखद् छ कि सम्बन्ध नै सकियो । हाम्रो मात्रै होइन, दक्षिण र उत्तरबीचको सकारात्मक सम्बन्धको पनि,’ किमले भने, ‘तर मैले के बुझेँ भने खेलकुदले पनि शान्तिका लागि राजनीतिले जत्तिकै भूमिका खेल्न सक्छ र मलाई विश्वास छ, यस पटक पनि सम्बन्ध सकारात्मक बन्नेछ ।’

कूटनीतिका लागि खेलकुद एक महत्वपूर्ण माध्यम रहेको उनी बताउँछन् । त्यसो भए दुवै कोरियाको एउटै महिला हक्की टिम छ । तर युवाहरू किन यसको विरोधमा छन् ?

‘मेरो बुझाइमा अहिलेको युवा पुस्ता एकीकृत कोरिया चाहँदैन,’ किमले भने, ‘उत्तर कोरियासँग उनीहरूको त्यति गहिरो भावनात्मक सम्बन्ध नहोला जति पहिलेको पुस्तासँग थियो ।’ उनलाई टेबुल टेनिस खेलाडीहरूले संयुक्त टोलीबाट खेल्दाको अनुभवबारे सोध्ने गर्छन् । उनी यस अनुभवलाई आफ्नो जीवनकै सबैभन्दा स्मरणीय क्षण मान्छन् । 

सायद, यसपटकको हक्की टोली यस्तै अनुभव गर्ने मौका पाउला । छोटै समयका लागि भए पनि हक्की टोलीले यस पटक संयुक्त रूपमा अभ्यास गरेको छ । अहिले संयुक्त रूपमा प्रतिस्पर्धा गरिरहेको छ । तर टेबुल टेनिसको प्रशिक्षणमा व्यस्त रहेका किमले हक्की टोलीका विषयमा धेरै जानकारी राख्ने अनुभव भने पाएका छैनन् । न्युर्योक टाइम्ससँग बिहीबार दिएको अन्तरवार्तामा उनले संयुक्त हक्की टोलीले मार्चपास गरेको हेर्ने व्यग्र प्रतीक्षामा रहेको बताएका थिए । मार्चपास हेर्दा भावुक हुने उनको प्रतिक्रिया थियो किनकि यसले उनलाई  आफ्ना पुराना दिनहरूको याद दिलाउँदै थियो । त्यसो भए पहिले र अहिले के फरक  छ । ‘अहिलेको मार्चपास पहिलेजस्तो इमोसनल हुनेछैन् । कोरियामा अहिले पूरै फरक समय चलिरहेको छ । के संयुक्त टोलीले केही परिवर्तन गर्नसक्छ र ? मलाई लाग्छ खेलकुद होइन राजनीतिमा लागेकाहरूले मात्रै यसको उत्तर दिनसक्छन्,’ किमले भने । 

शान्तिको नयाँ प्रयास 
पछिल्ला वर्षहरूमा उत्तर कोरियाको आणविक शक्ति बढेसँगै उसका नेता किम जोङ उन शक्तिशाली बन्दैछन् । तर, आणविक तथा सीमा समस्याका कारण छिमेकी दक्षिणसँग उसको सम्बन्ध राम्रो छैन । त्यसैले दुई देशबीच टकराव बढ्दै जाने अनुमान गरिएको थियो । तर, नयाँ वर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै किम जोङले दक्षिणसँग उच्च स्तरीय वार्ता अघिबढाउने योजना सार्वजनिक गरे । २ वर्षपछि हुन लागेको उच्चस्तरी वार्ताअघि जोङले नयाँ प्रस्ताव पनि ल्याएका थिए, ओलम्पिकमा उत्तर कोरियाले पनि सहभागिता जनाउने । उत्तरको यो प्रस्तावलाई दक्षिणले पनि व्यग्र प्रतीक्षा गरिरहेको थियो । लगत्तै दुई देशको सीमाना पानमुनजोममा सहमति भयो । ओलम्पिकमा एउटै झन्डामुनि मार्चपास गर्ने र दुवै देशको एउटै आइस हक्की टोलीले प्रतिस्पर्धा गर्ने । सधैँ निहुँ खोज्ने गरेको आरोप उत्तरमाथि लाग्ने गरेको थियो । तर सहमतिका मामिलामा पनि उत्तर अघि देखियो । सन्काहा भनेर चिनिएका नेता किम जोङले आफ्नी कान्छी बहिनी किम यो जोङलाई उद्घाटन समारोहमा पठाए । नेता किमको परिवारका कुनै पनि सदस्यले २०औँ शताब्दीमा भएको कोरियाली युद्धपछि दक्षिण कोरियाको भ्रमण गरेको यो पहिलो अवसर थियो । बहिनी जोङले दक्षिण कोरियाली राष्ट्रपति मुन जेई इनसँग हात मिलाइन् । उनी अमेरिकाका उपराष्ट्रपति माइक पेन्सीसँगै विशिष्ट सिटमा बसेकी थिइन् । तर उनीहरूबीच बोलचाल भने भएन ।

(न्युर्योक टाइम्सबाट) 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप