बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं २ मन्त्रिपरिषद्को पहिलो निर्णयः शहीदका परिवारका एक सदस्यलाई रोजगारी

बिहीबार, ०३ फागुन २०७४, २१ : ४०
बिहीबार, ०३ फागुन २०७४

धनुषा । प्रदेश नं। २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । 


मुख्यमन्त्री र मन्त्रीहरुको सपथलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवार भन्नाले आमाबाबु, छोराछोरी र श्रीमती पर्नेछ । रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ । 

त्यस्तै बैठकले बन्द अवस्थामा रहेका सरकारी, अर्ध सरकारी उद्योगहरू पुनःसञ्चालनका लागि पहल गर्ने र प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा वैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ । 

यसैगरी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई चयन गरेको छ । 

यसअघि सपथ ग्रहण लिइसकेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालवावु राउत गद्दीले प्रदेशको विकासका लागि सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राख्ने घोषणा गरे । 

उपमाकुमारी देव उपसभामुखमा निर्वाचित 

प्रदेश नं. २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी प्रदेशसभा सदस्य उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छिन् । 

उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधिभित्र देवको मात्र उम्मेदवारी परेको हुँदा उनी निर्विरोध निर्वाचित भएकी हुन्। 

उनको प्रस्तावकमा फोरमका सांसद् ज्ञानेन्द्र यादव र समर्थकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सुरिता साह रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप