शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ६ : मोबाइलको उज्यालोमा यसरी मुख्यमन्त्रीको नियुक्ति लिए महेन्द्र शाहीले

बिहीबार, ०३ फागुन २०७४, २१ : ३०
बिहीबार, ०३ फागुन २०७४

सुर्खेत । प्रदेश नंबर ६ मा महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री नियुक्तिको पत्र बुझेका छन् । साँझ साढे ६ बजे प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख दुर्गा केशर खनालले नियुक्तिको पत्र दिएका हुन् । भोली दिँउसो ३ बजेका लागि सपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

मुख्यमन्त्रीमा नियुक्तिका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेताहरु प्रकाश ज्वाला, माओवादीका संसदीय दलका नेता महेन्द्र बहादुर शाही लगायतका सांसदहरु अपराह्न पौने पाँच बजे प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । प्रदेश प्रमुख खनाल समक्ष महेन्द्र शाहीले मुख्यमन्त्रीका नियुक्तिका लागि निवेदन दिएका थिए । 

लेटरप्याड बिहिन प्रदेश प्रमुखको कार्यालय
मुख्यमन्त्री लागि आवेदन परेपछि नियुक्ति दिन प्रदेश प्रमुखको कार्यालयले झन्डै डेढ घण्टा समय लगायो । सिरानमा रातो मसीले प्रिन्ट गरिएको कार्यालयको आधिकारिक लेटर प्याड नभएपछि साइबर गएर प्रिन्ट गरी ल्याइएको थियो । पत्र तयार भएर प्रदेश प्रमुखले सही गरेर पत्र दर्ता चलानीका लागि पठाइएको थियो । दर्ता गर्ने रेकर्ड फाइल नभएपछि कर्मचारीले पत्र दर्ता चलानीका १५ मिनेट भन्दा बढी समय लगाएका थिए । 

पत्र दिने बेला लोडसेडिङ, मोबाइलको उज्यालोको भर
प्रदेश प्रमुखको कार्यालय माओवादी, एमालेका नेता, सांसद, कर्मचारी तथा पत्रकारको टोलीले भरिएको थियो । मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले नियुक्तिपत्र दिएको  फोटो खिच्न पत्रकाहरु तयारी गरेर बसेका थिए । त्यतिनै बेला झ्याप्प बक्ति गयो । प्रदेश प्रमुखको कार्यकक्ष अन्धकार भयो । सबैले बिस्तारै मोबाइल बाल्न थाले । प्रदेश प्रमुखको कार्यालयमा जेनेरेटर त परको कुरा इर्मजेन्सी लाइट समेत नभएको थाहा भयो । प्रदेश प्रमुख खनाले नियुक्ति पत्र दिँदा सबैलाई मोबाइल बालेर उज्यालो पार्न आग्रह गरे । 

अँध्यारोमा एमाले नेता प्रकाश ज्वालाले भने पत्रकारहरुलाई समाचारको एङ्गल सिकाउन थाले । उनले भने– पहिलेका उर्जामन्त्री र अहिलेका मुख्यमन्त्रीले अँध्यारोमा मोबाइल बालेर नियुक्तिपत्र लिए भनेर अब समाचार लेख्नुस् । यामलाल कँडेलले भने–अब मुख्यमन्त्रीले हाइड्रोपावरको विकास गर्नुहुन्छ । 

लामो कुराइपछि दर्ता चलानी भएर पत्र आयो । कार्यकक्षमा सबैले मोबाइल बालिरहेका थिए । मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखको हातबाट मोबाईलको उज्यालोमा नियुक्तिपत्र लिए । नियुक्तिपत्र दिँदै प्रदेश प्रमुख खनालले भने–“मुख्यमन्त्री शाहीको कार्यकाल सफल रहोस् ।”

प्रदेश प्रमुखले सपथ गराउन खोज्दा कँडेल आक्रोशित
प्रदेश कार्यालयले आजै मुख्यमन्त्रीलाई सपथ खुवाउने भनेर कार्यक्रम राखेको थियो । मुख्यमन्त्रीका लागि निवेदन बुझाइसकेपछि प्रदेश प्रमुखले आजै सपथका लागि तयार हुनुस् भनेपछि एमालेका संसदीय दलका नेता कँडेल आक्रोशित भए । कसरी अहिले नै सपथ हुन सक्छ भनेर उनले उल्टै प्रश्न गरे । प्रदेश प्रमुखले आज मुख्यमन्त्रीलाई सपथ खुवाउने अन्तिम दिन भनेर लेखेकोले आफुले त्यसको तयारी गरेको बताए । कँडेलले हामीसँगको छलफल पछि मात्र सपथ हुन्छ भन्दै खनालाई जवाफ फर्काए । 

एमालेको दबाब र शाहीको बडिल्याङ्ग्वेज 

दिउँसो ४ बजेअघिसम्म मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अन्यौलको अवस्थामा थियो । सभामुखको निर्वाचन पछि एमालेले आलोपालो मुख्यमन्त्रीको प्रस्ताव राखेपछि माओवादीले त्यसको विरोध गर्दै उक्त प्रस्तावमा माओवादीले सहमती जनाएन । बिहिबार दिँउसो एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्र बहादुर शाहीबिच वान टु वान छलफल भएपनि सहमती जुटेको थिएन । 

दिउँसो ३ बजे माओवादी जिल्ला पार्टी कार्यालयमा माओवादीका जिल्ला इन्र्चाज, सांसदहरु पार्टी कार्यालयमा अन्यौलग्रस्त अवस्थामा कुराकानी गरिरहेका थिए । उता नजिकै रहेको एमाले पार्टीका कार्यालयमा एमाले नेताहरु छलफलमा थिए । दिउसो ४ बजे एमाले पार्टी कार्यालयबाट महेन्द्र शाहीलाई फोन आयो र उनी एमाले पार्टी कार्यालय पुगे । वीरेन्द्र नगरको हटियामा वल्लो पल्लो घरमा दुई पार्टीको कार्यालय रहेको छ । एमाले पार्टी कार्यालयमा कँडेल र शाहीले झन्डै आधा घण्टा वान टु वान छलफल गरे । ५ बज्न २० मिनेट बाँकीमा महेन्द्र शाहीको गाडिमा चढेर उनीहरु प्रदेश प्रमुखको कार्यालय तर्फ लागे ।

नियुक्तिपत्र दिँदै गर्दा बाहिर आएर पत्रकाहरुसँग कुरा गर्दै एमाले नेता यामलाल कँडेलले केन्द्रमा सरकार बन्ने र नेतृत्व गर्ने प्रक्रिया जस्तै प्रदेशमा पनि सरकारको समय अवधी, मन्त्रीमण्डल कस्तो बन्ने बारेमा माओवादीको जवाफ मागेको र बाहिर मिडियामा भएकोे भन्दा बढी कुरा आएको बताए । उनले मुख्यमन्त्रीका  लागि समर्थन गर्दै गर्दा दुई पक्ष बीचमा केही छलफल भएको बताउँदै त्यसबारे खुलेर बताएनन् ।  

नियुक्तिपत्र बुझेर बाहिरिने क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले प्रदेश नंम्बर ६ को विकासका लागि यहाँको स्रोत सधानको अधिकतम प्रयोग गर्ने बताए । मन्त्रीमण्डल दुई पाटीको सहमती अनुसार गठन हुने बताउँदै त्यसबारे छलफल हुने बताए । मुख्यमन्त्रीमा नियुक्त हुँदै गर्दा उनको मुहारमा त्यस्तो उल्लास भने देखिँदैनथ्यो । 

के भयो सहमती ?
दिउसो साँढे ३ बजे एमाले दैलेखका सांसद शुशिल थापालाई मुख्यमन्त्रीको प्रक्रिया अगाडि बढाँउने विषयमा के सहमती भयो भन्ने प्रश्नमा उनले मुख्यमन्त्रीका लागि महेन्द्र बहादुर शाहीलाई समर्थन गर्ने सहमती भएको बताए । उनले दुई पार्टीका बीचमा एमालेले उठाएको बिषयमा कुरा नमिले पनि तत्काललाई उक्त विषय थाती राखेर मुख्यमन्त्री नियुक्तिलाई अगाडि बढाउने बताए । यद्यपि एमालेले शाहीलाई मुख्य मन्त्री बनाँउन हिजो नै आफ्ना सांसदहरुबाट हस्ताक्षर संकलन समेत गरिसकेको थियो । थापाका अनुसार आलोपालो नेतृत्वबारे पछि फेरी छलफल अगाडि बढाउने गरी शाहीलाई समर्थन गरिएको जानकारी दिएका थिए । उनका अनुसार एमालेले आफ्नो माग त्याग नगरी मुख्यमन्त्रीलाई समर्थन गरेको हो । एमालेको यो प्रक्रियाका कारण महेन्द्र शाहीको चुनौती आफ्नै गठबन्धन बन्न पुगेको माओवादीका एक नेताले बताए । 


   

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप