शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान पारसको शतकका बावजुद फाइनलमा नेपाल पराजित

बिहीबार, ०३ फागुन २०७४, २१ : ०४
बिहीबार, ०३ फागुन २०७४

काठमाडौँ । छक्का.., छक्का.. छक्का..

कप्तान पारस खड्काले मोहमाद नाभेदले बलिङ गरेको अन्तिम ओभरमा छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे । एकै ओभरमा तीन छक्का प्रहार पनि गरे । तर, त्यतिबेलासम्म नेपालको हातबाट खेल बाहिरी सकेको थियो ।

पारसले मात्र १०३ बलमा बनाएको १ सय १२ रन त्यतिकै खेर गयो । नेपाल ७ रनले पराजित हुन पुग्यो । युएईले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७० रनमा सिमित बन्यो ।

योसँगै युएईले समूह चरणको खेलमा नेपालसँग बेहोरेको बदला लिन सफल भएको छ ।

कप्तान पारसले शतकीय इनिङ खेल्ने क्रममा ८ छक्का र तीन चौका प्रहार गरे ।

खड्कालाई दीपेन्द्र सिंह ऐरी र शरद भेष्वाकरले क्रमशः ३५ र ३० रन बनाउँदै राम्रो साथ दिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २४ रन बनाए भने रोहित कुमार पौडेलले पनि २३ रनको योगदान दिए ।

अघिल्लो खेलमा नायक बनेका करण केसीको ब्याट भने यो खेलमा चल्न सकेन ।

युएईका लागि अमिर हयातले ४ तथा इमरान हैदरले २ विकेट लिए ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको आज भने जादू चल्न सकेन ।

यसअघि पहिलो ब्याटिङ गर्दै आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको फाइनल खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपाल सामु २ सय ७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको युएईका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । दुवैले पहिलो विकेटका लागि १०९ रनको शतकीय साझेदारी गरे ।

कप्तान रोहन मुस्तफा ५१ रन बनाएर आउट भए भने अर्का ओपनर अस्फाक अहमदले १ सय १४ रन बनाए । सन्दीप लामिछानेको बलमा ४३ औँ ओभरमा आउट हुनअघि उनले १२३ बल खेल्दै ३ छक्का र १० चौका हिर्काए ।

त्यस्तै रमीज सहजादले ४१ र साइमान अनवरले ४० ले रन बनाए ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले १–१ विकेट लिए ।

युएईले निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन बनायो ।

डिभिजन टुको शीर्ष दुई स्थानमा पक्का गर्दै नेपालले विश्वकप छनौटमा यसअघि नै स्थान बनाइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप