शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं. ६ का प्रमुख दुर्गाकेशर खनाल– ‘नयाँ सिस्टममा सबै कुरा अलमल भयो’ (भिडियो अन्तरवार्ता)

बिहीबार, ०३ फागुन २०७४, १३ : १८
बिहीबार, ०३ फागुन २०७४

प्रदेश नं. ६ का प्रमुख दुर्गाकेशर खनाल हरेक दिन  बिहान ४ बजे उठ्ने गर्छन् । उठेर नित्यकर्म गरेपछि उनी झन्डै १ घण्टा मर्निङवाक गर्छन् । त्यसपछि घरमा आएर योग र ध्यानमा समय बिताउँछन् । बिहान ७ बजे बिहानको खाजा खान्छन् र भेट्न आउने व्यक्तिका लागि समय छुट्याउँछन् । प्रदेशसभाका सांसदका साथै दैलेख, बाँके बर्दियाबाट उनका साथीभाइहरू भेटघाटका लागि आउँछन् ।

उनको सरकारी निवास तयार भएको छैन । क्षेत्रीय वन निर्देशनालयको भवनलाई उनको निजी निवास बनाइँदै छ । अहिले उनी आफ्नै निवासमा बस्छन् । १० बजे कार्यालयमा आउँछन् र मिडियाका साथै विभिन्न निकायबाट आएका व्यक्तिहरूसँग भेटघाट  गर्छन् । मध्यान्न १२ बजे खाना खानका लागि घर जान्छन् ।

उनको कार्यालय अहिले मर्मत भइरहेको छ । कार्यालयमा कर्मचारी बस्ने, पाउना भेट्नेलगायतका कक्षको डिजाइनबारे छलफल गर्छन् । कार्यालय मर्मतको काम अवलोकन गर्छन् र ४ बजे घर जान्छन् । राति १० बजेभित्र सुत्छन् । 

झन्डै १ महिनादेखि प्रदेश नं  ६ का प्रदेश प्रमुखको भूमिकामा रहेका दुर्गाकेशर खनालसँग हाम्रा संवाददाता शम्भु दङ्गालले समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ उहाँसँगको कुराकानी :

तपाईंले पहिलो पटक प्रदेश प्रमुख बन्ने सौभाग्य प्राप्त गर्नुभएको छ, कस्तो महसुस भएको छ ?

अहिले राष्ट्रको नयाँ संरचनामा मैले एउटा काम गर्ने अवसर पाएको छु, त्यो अवश्य पनि सकारात्मक अनुभूति पनि हो र एउटा उत्साह पनि हो । साथै यो सुरुवातको अवस्था र हिजो कसैले पनि अनुभूति नगरेको परिस्थितिभित्र काम गर्नुपर्ने भएको हुनाले केही अलमल भएको पनि मैले अनुभव गरेको छु ।

कस्तो अलमलको अवस्था महसुस भएको छ ?

जस्तो, कर्मचारी, हरेक प्रदेशको प्रमुखको आफ्नो सचिवालय हुन्छ । कर्मचारीको सङ्ख्या, कर्मचारीको स्तर, हरेक कार्यालयलाई चाहिने बजेट, खर्चको कुरा, त्यसपछि कार्यालय सञ्चालनका लागि कार्यालयको आवश्यकता पर्ने हुन्छ । आवासको आवश्यक पर्छ, सबै तयार नभएको र सुरु भएको हुँदा केही अभाव चाहिँ मैले महसुस गरेको छु ।

प्रदेश सरकारसँग कसरी समन्वय गर्दै तपाईं अगाडि बढ्नुहुन्छ ?

सरकारसँग समन्वय नगरी प्रदेशको काम अगाडि बढ्दैन, अगाडि बढ्न गाह्रो छ, किनभने प्रदेश प्रमुखसँगको सुमधुर सम्बन्धले नै यहाँका हरेक कुरा अगाडि बढ्छन् । दैनिक क्रियाकलापका काम पनि अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।

तपाईंले आफ्नो जिम्मेवारी सम्हाल्नुभए पनि के के काम गर्नुभयो ?

अहिले जिम्मेवारी सम्हाल्ने क्रममा शपथ ग्रहण गरेको दिनदेखि मैले मेरो एकल नै जिम्मेवारी महसुस गरेको छु । मैले आफ्नो जिम्मेवारीमा आएका कुराहरू समयको सीमाभित्र नै फटाफट गरेको छु जस्तो मलाई लाग्छ । जस्तो तोकेकै समयमा प्रदेश सभासदहरूको शपथ ग्रहण गराउनु, त्यसपछि प्रदेशसभाको पहिलो बैठकलाई आवह्वान गर्नु, पहिलो बैठक सफलतापूर्वक बस्नु, त्यसपछि सभामुखको चयन हुनु आदि कुराहरू फटाफट भइ नै राखेका छन् । काम भइ नै राखेको छ जस्तो मलाई लाग्छ ।

केन्द्र सरकारसँग तपार्इंले कसरी समन्वय गरिरहनुभएको छ ?

केन्द्र सरकारसँग यहाँका कमीकमजोरी, यहाँका आवश्यकताहरूको बारेमा कुरा भइरहन्छ । नयाँ संरचना हो, केन्द्रका सबै पदाधिकारीहरूका लागि पनि यो नयाँ हो । सबैतिर यो अलमलकै कुरा छ, अलमल नै भएको जस्तो मैले महसुस गरेको छु । केही दिन अझै स्ष्पट हुन हामीलाई समय लाग्छ ।

प्रदेशमा सरकार र प्रदेश प्रमुखबीच कार्यक्षेत्रको विषयलाई लिएर विवाद उत्पन्न हुने अनुमान पनि गरिएका छन्, यसबारेमा कतिको सचेत हुनुहुन्छ ?

कार्य क्षेत्रको बारेमा विवाद होला जस्तो त लाग्दैन, किनभने म प्रदेश प्रमुख भएको नाताले मेरो जिम्मेवारी, नीति नियमहरूको वैधानिकताका साथ पालना हुनुपर्ने मेरो जिम्मेवारीका कुरा हुन् । फेरि मेरो जिम्मेवारी सेरेमोनियल हो । सेरेमोनियल भएको कारणले मैले कुनै सरकारले गर्ने क्रियाकलापमा हस्तक्षेप गर्ने भन्ने कुरा आँउदैन । तर के छ भने भविष्यमा कसैले जिम्मेवारी निभाउने कुराहरूमा ढिलासुस्ति भयो, अन्यौल भयो, प्रान्तले धान्न नसक्ने जस्ता कुराहरू भए भने केही सुझावका रूपमा मेरो भूमिका रहन्छ भन्ने लाग्दछ ।

अर्को कुरा चाहिँ प्रदेशमा कर्मचारी व्यवस्थापनको विषय पनि महत्वपूर्ण रहेको छ, कर्मचारी व्यवस्था कसरी भइरहेको छ, तपाईंले कस्तो भूमिका खेलिरहनुभएको छ ?

मैले अघि पनि भनेँ, अलमलको कुरा सबैभन्दा ठूलो व्यवधानको कुरा नै यही कर्मचारी समायोजनको कुरा छ । जस्तै, मेरो सचिवालयमा कति कर्मचारी रहनुपर्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । केही कर्मचारी त हुनुपर्छ, जस्तो सचिव हुनुपर्छ, सहसचिव हुनुपर्छ, उपसचिवहरू, अधिकृतहरू र अन्य कर्मचारी हुनुपर्छ । तर त्यो केही पनि भएको छैन । अन्य कार्यालयबाट आएका चार पाँच जना लोकल कर्मचारीहरूले अलिकति सहयोग मात्र पुर्याइरहेका छन् । कर्मचारीको त साँच्चै भन्ने हो भने अहिले ठूलो अड्चन छ ।

यसका लागि केन्द्र सरकारसँग कतिको पहल गर्नुभएको छ ?

निरन्तर गरिरहेको छु, केन्द्र सरकार भन्नाले मेरो मर्यादाक्रमको हिसाबले अरूसँग त समन्वय हुने कुरा भएन । मैले भन्ने भनेको प्रधानमन्त्रीलाई नै हो । उहाँसँग मेरो कुरा भइरहन्छ । सबै समस्या मैले प्रधानमन्त्रीलाई नै अवगत गराएको छु ।

तपाईंले प्रदेश नं. ६ को भविष्य कस्तो देख्नुभएको छ ?

हेर्नुस्, प्रदेश नम्बर ६ को भविष्य एकदम उज्यालो छ, अत्यन्त उज्ज्वल भविष्य छ । किनभने प्रदेश नम्बर ६ मा जनसङ्ख्या एकदमै कम देखिएको छ, यहाँ सांसदहरूको सङ्ख्या पनि कम छ । हिजोका वा विगतका सरकारका उपेक्षाले भनौँ, असन्तुलित व्यवहारका कारणले होला यो प्रदेश विकास, आर्थिक र शैक्षिक दृष्टिले पिछडिएको छ । तर यो प्रदेशको भविष्य उज्ज्वल छ भन्नेमा धेरै आधारहरू छन् । जस्तै, सबैभन्दा ठूलो भूमिका यही प्रदेशमा छ । सबैभन्दा ठूलो वनसम्पदा यही प्रदेशमा छ । सबैभन्दा ठूलो जलस्रोत यही प्रदेशमा छ । तराईदेखि हिमालसम्म सबैभन्दा फराकिलो प्रदेश यही छ । जहाँ अनेक किसिमका प्राकृतिक खनिज र जैविक विविधताहरूले भरिपूर्ण भएकाले यस प्रदेशको विकासका सम्भाव्यताहरू अत्यन्तै बढी छन् ।

अन्त्यमा, यो प्रदेशमा नयाँ सरकार बन्दैछ, आउँदै गरेको सरकालाई तपाईंको भनाइ के छ र तपाईंले कस्तो अपेक्षा गर्नुभएको छ ?

मैले विगतदेखि नै भन्दै आइरहेको छु, काममा कुनै ढिला सुस्ति नहोस् । भष्टाचार मुक्त भएर अरू प्रदेशका लागि मोडेल बनोस् र विगतका जुनजुन कमजोरीका कारण यो क्षेत्र बढी सम्भाव्यता भएर पनि कमजोर हुन गयो अब त्यो नहोस् । हाम्रो विकासको गति कहीँ अवरुद्ध नहोस्, त्यो मापदण्डमा हामी पुग्न सकौँ । यहाँ भएका अथाह प्राकृतिक सम्पदाको बढीभन्दा बढी प्रयोग गर्नुपर्छ र त्यसका लागि सबैभन्दा ठूलो प्राथमिकता शिक्षामा दिनुपर्छ । हामीले यो क्षेत्रमा गर्ने विकासका विभिन्न पक्षहरूलाई लिएर त्यहीअनुसारको प्राविधिक र विशेषज्ञहरू  शिक्षाको माध्यमबाट उत्पादन गर्न सक्नुपर्छ । जुन विकासका लागि मानव संसाधन आवश्यक छ, त्यसको पटक्कै अभाव नहोस् भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप