केन्द्रीय संस्करण

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

person access_timeफागुन ३, २०७४ chat_bubble_outline0

सल्लेरी, सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । 

सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । उनले भने “मंगलबारदेखि हिउँ परेको छ ।” वुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगै हल्का बर्सात भएपछि जनजीवन कस्टकर बने पनि स्थानीयवासी भने हर्षित भएका छन् । 

लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ । बुधबार दिउँसो करिब १ः३० बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीयवासी राजेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतले भने “जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुशी लाग्यो ।” 

त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ । हिउँ खेल्नेहरुको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिए । उनले भने “हामी विद्यालयमा थियौँ, हिउँ पर्न थाल्यो, रमाइलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भीड नै लागेको छ ।” 

जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य बर्सात भएको छ भने अत्यधिक चिसो महसुश गरिएको छ । पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X