शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हार्यो नेपालसँग क्यानडा, करण बने नायक: खेल नसकिँदै नेपाल छनोट

बिहीबार, ०३ फागुन २०७४, ०६ : २०
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं - नेपालले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले लिगमा पाँच खेलबाट सर्वाधिक ८ अंक जोड्यो । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । क्यानडा र नामिबियाले पाँच खेलबाट समान ६ अंक जोडे पनि रनरेटमा पछि परे। आजको नयाँ पत्रिकामा खबर छ ।

अन्तिम ओभरमा ८ रन
अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको थियो । क्यानडाले अन्तिम ओभर स्ट्राइक बलर सेसिल पर्भेजलाई दिएको थियो । यता क्रिजमा करणले नै स्ट्राइक लिएका थिए । करणले पर्भेजका पहिलो चार बलमा कुनै रन लिन सकेनन् । क्यानडाले लगभग खेल आफ्नो पडकमा लिइसकेको थियो । तर, करणले पर्भेजको पाँचौँ बलमा छक्का प्रहार गरे । इनिङकै अन्तिम बल फ्याँकेका पर्भेजले वाइड फ्याक्दा नेपालको स्कोर १९४ भएको थियो । पर्भेजको अन्तिम बलमा रन नलिँदा पनि नेपालले खेल नहार्ने पक्का भइसक्यो । करणले पर्भेजको अन्तिम बलमा मिडविकेटमा एक रन लिँदै नेपाललाई जिताए ।

करण नायक
पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा १ सय ९५ रन जोड्दै विश्वकप छनोटमा स्थान सुरक्षित ग¥यो । नेपालको सनसनी जितमा करण केसी नायक भए । इनिङको एक समयमा नेपाल १४४–९ को स्थितिमा थियो । क्रिजमा दशौँ क्रमका करण केसी र ११औँ क्रममा सन्दीप लामिछाने थिए । करणले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बटुलेपछि क्यानडा स्तब्ध बन्यो । करणले सन्दीपसँग दशौँ विकेटका लागि ७.५ ओभरमा ५१ रनको साझेदारी गरेका थिए । करणले म्याच विनिङ पफर्मेन्समा तीन चौका र चार छक्का समावेश रह्यो ।

विश्वकप छनोट समीकरण
सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा आइसिसीको वरीयतामा रहेका शीर्ष दश टोलीले प्रतिस्पर्धा गर्नेछन् । आइसिसी वरीयताको शीर्ष आठभित्र रहेका राष्ट्रले सीधै विश्वकप खेल्नेछन् । शीर्ष आठभित्र पर्न नसक्दा दुईपटकको पूर्वच्याम्पियन वेस्ट इन्डिजले पनि विश्वकप खेल्न पहिलोपटक छनोटको बाटो रोज्नुपरेको छ । वेस्ट इन्डिजबाहेक अफगानिस्तान, जिम्बावे र आयरल्यान्डले पनि छनोट खेल नै खेल्नेछन् ।

विजेरत्नेको शतक ओझेलमा
टस हारी ब्याटिङ गरेको क्यानडाका लागि श्रीमान्थ विजेरत्नले नटआउट १ सय ३ रन बटुलेका थिए । उनले १ सय ५२ बलमा आठ चौका प्रहार गरेका थिए । नेपालको जितसँगै विजेरत्नको शतक छायामा परेको छ । नेपालको बलिङमा वसन्त रेग्मीले ३४ रन खर्चेर तीन विकेट लिए । सन्दीपले ९ ओभरमा ४० रन खर्चेर दुई विकेट हात पारे ।

खेल नसकिँदै नेपाल छनोट
यद्यपि, नेपालले क्यानडामाथि इनिङको अन्तिम बलमै जित निकाले पनि ४९.५ ओभरमै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पुगिसकेको थियो । पर्भेजले छैटौँ बल फ्याँक्नुअघि अर्को खेलमा युएईले नामिबियालाई १९ रनले हराएको थियो । युएईको नतिजा आइसक्दासम्म नेपाल र क्यानडाको समान १९४ रन थियो । अन्तिम बलमा रन नलिएको अवस्थामा पनि खेल बराबरीमै सकिन्थ्यो । यस समीकरणमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा रहन्थे । तर, नेपालसँग पराजित भएपछि क्यानडा शीर्ष स्थानबाट सीधै तेस्रो स्थानमा पुग्यो । नामिबिया अन्तिम खेलमा पराजित भएपछि चौथो स्थानमै सीमित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप