बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किम जोङ उनको सेक्रेट हतियार

बुधबार, ०२ फागुन २०७४, १६ : ०३
बुधबार, ०२ फागुन २०७४

उत्तर कोरियाका नेता किम जोङ उनलाई संसारको ध्यान आफूतर्फ तान्न मिसाइल चलाउन आवश्यकता छैन ।
उनीसँग कैयौँ शक्तिशाली हतियार छन् । यो हतियार भने यान्त्रिक नभई उनकी महिला दूत हुन्, जसको उति नै चर्चा हुने गर्छ, जति उनको मिसाइलको हुन्छ ।

यीमध्ये पनि आजकल सबैभन्दा बढी चर्चा छिन् उनकी बहिनी किम यो जोङ । किम यो जोङले दक्षिण कोरियाली दर्शकको ध्यान आफूतर्फ तानिन् । जब उनले आफ्नो दाइको सन्देश लिएर दक्षिण कोरियाको राष्ट्रपति भवनमा कदम राखिन्, टिभीमा उनको हरेक हाउभाउलाई देखाइयो ।

किम यो जोङको चम्किलो कपडा, उनको कपाल र उनको हाउभाउको टिभी च्यानलहरूमा चर्चा भइरहँदा उनी विश्वको कैयौँ देशमा कालो सूचीमा रहेकी व्यक्ति हुन् भनेर एक क्षण सबैले बिर्सिए ।

जब किम यो जोङले दक्षिण कोरियाको पियोङचेङमा भइरहेको ओलम्पिकमा प्रवेश गरिन्, दर्शकहरूको घाँटी र तिनको मोबाइल उनीतर्फ मोडियो ।

उनी रहस्यमयी देशको एक मानवीय अनुहार बनेर निस्किइन् । भिडमा रहेको यो रिपोर्टरलाई एक युवकले भने, “यसले चमत्कार र आश्चर्यचकित पार्नेछ । मैले यो रूपमा उत्तर कोरियालाई देखेको थिइनँ ।” उनी पियोङचेङमा आफ्नो भाइको छवि सुधार्न आएकी थिइन् । तर उनले मिडियामा पूरा आफ्नो देशको छवि बदलिदिइन् ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका प्योङयाङ ब्युरो चिफ जिन ली भन्छन्, “दक्षिण कोरियाका जनताका लागि यो एक असामान्य घटना थियो ।”

छवि बदलियो 
जिन ली भन्छन्– “उनले सबैभन्दा सुन्दर महिलालाई यहाँ पठाए । जब तपाईं उत्तर कोरिया जानुहुन्छ, यस्तै सुन्दर महिलाहरू तपार्इंलाई रिझाउन पठाइन्छ ।”

“तिनको काम नै तिनको देश र त्यहाँको जनता त्यति खराब छैनन् भन्ने पार्नु हुन्छ ।”

छवि सुधारको काम केही दिन पहिलेबाट सुरु भएको थियो, जब उत्तर कोरियाका महिला ब्याण्ड दक्षिण कोरियाको राजधानी सियोल आइपुगे । 

उत्तर कोरियाका ‘आर्मी अफ ब्युटी’ दक्षिण कोरिया पुगेलगतै सुन्दर देखिन तीव्र चाह गर्ने दक्षिण कोरियालीहरूको ध्यान आफूतर्फ ताने । तिनलाई देखेर कत्ति पाका उमेरका दक्षिण कोरियालीहरूले बिना मेकअप सुन्दरतामा जोड दिने आफ्ना यौवन दिन सम्झिए ।

एक पूर्वचियरलिडरको डर
उत्तर कोरियाकी चियरलिडर ग्रुपकी पूर्वसदस्य रहिसकेकी हैन सो–हे भन्छिन्, “हामीबाट उत्तर कोरिया समाजवादी आत्मनिर्भर देश हो भनेर प्रदर्शन गरिने आशा गरिन्छ । यो आशा गरिन्छ, हामी दुस्मनको मनमुटुमा असर गरौँ साथै यो आशा पनि गरिन्छ, हामी आफ्नो पहिचानमा गर्व गर्छौं भनेर देखाऊँ ।”

हैन सो–हेलाई तब उत्तर कोरिया छाड्नु पर्यो जब उनको भाइ उनको देश निकालामा पर्यो । यदि उनी त्यहीँ रहेको भए उनी र उनको परिवारलाई जेल सजाय हुने थियो । हाल हैन सो–हे दक्षिण कोरियामा स्वतन्त्र जीवन बिताइरहेकी छिन् ।

उनी उत्तर कोरियामा ट्रेनिङका दिनहरू सम्झँदै भन्छिन् “हामीलाई के बताइन्थ्यो भने हामी अर्को देशमा आफ्नो देश र आफ्नो नेता किमको सम्मान बढाउन जाँदै छौँ । मेरी एक साथी भन्थिन्, उनी आफ्नो देश नभुल्न आफ्नो सुट्केसमा आफ्नो देशको माटो र किम जोङ उनको बुवा (तत्कालीन राष्ट्रपति)को सानो मूर्ति लिएर हिँड्छिन् ।”

सांस्कृतिक अन्तर
पियोङचेङमा आइस हक्की म्याचको दौरान दुवै देशको सांस्कृतिक अन्तर देख्न पाइयो । 

दक्षिण कोरियाका चियरलिडर छोटो स्कर्ट र बुटमा ‘सेक्सी डान्स’ गरेको देखिँदा उत्तर कोरियाली चियरलिडर देशभक्तिपूर्ण धुनले उत्साह बढाइरहेका थिए ।

हैन सो–ही २००३ को एक घटनाको सम्झना गर्दै डराउँछिन् । उनी भन्छिन्– “जब चियरलिडर दक्षिण कोरिया ओर्लियो, वर्षा भइरहेको थियो । एक चियरलिडरको हातमा किम जोङ इलको झण्डा थियो, उनी भिजिन् ।” “त्यसपछि सबै चियरलिडर आफ्नो बसबाट उत्रिए र झण्डालाई भिज्नबाट बचाउने कोसिसमा लागे । दक्षिण कोरियाको जनतालाई यो अचम्म लाग्यो । यस्तो अन्तर छ उत्तर र दक्षिण कोरियाबीच ।”

उत्तर कोरिया मामिलाका जानकार इयान ब्रेमरले ट्विटरमा लेखेका छन् “उत्तर कोरियका चियरलिडरले बबाल प्रदर्शन गरे । तर ती जनता एक आपराधिक देशका बन्धक हुन् । यस कुराले मन दुःखाउँछ ।”
यस्तो लाग्छ उत्तर कोरियाले सबैको मन लोभ्याउन सकेको रहेनछ ।

–बी.बी.सी.बाट  अनुवाद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप