शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काउन्टिहो कथा : भास्को डी गामादेखि बार्सिलोनासम्म

बुधबार, ०२ फागुन २०७४, १५ : ०५
बुधबार, ०२ फागुन २०७४

युट्युबमा काउटिन्होका फुटसल भिडियोहरू हेर्नुस् । गोल गरेपछि आँखामा देखिने उनको चमक र गर्विलो मुस्कान उस्तै–उस्तै छ । यस्तो मुस्कानसँग लिभरपुलका फ्यानहरू ५ वर्षसम्म अभ्यस्त भए । अहिले बार्सिलोनाका फ्यानहरू हुँदैछन् । युवा काउटिन्होले सानो मैदानमा त्यसरी नै विपक्षीहरूलाई छक्याउथेँ । जसरी, इङ्ल्यान्डका ठूला मैदानमा ५ वर्षसम्म छक्याए ।

१२ जुलाई सन् १९९२ मा फिलिपो काउटिन्होको जन्म ब्राजिलको राजधानी रियो दि जेनरियोमा भएको थियो । राजधानी नजिकैको रोचास्थित त्यस्तो बस्तीमा काउटिन्हो हुर्किए, जहाँ उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थको भण्डारण हुने गरेको थियो । कङ्क्रिटको जङ्गल भनेर चिनिने यो बस्तीका खुला मैदान र सडकहरू काउटिन्होका लागि हराभरा स्थान थिए ।  

दुई दाजुहरूको पछि–पछि उनी फुटबल कुदाउँदै हिँड्थे । छोटो समयमै उनले दाजुहरू क्रिस्ट्रियानो र लियन्द्रो मात्रै नभएर टोलका सबै बालकहरूलाई उछिने ।  चर्चित क्लब भास्को डी गामाले ट्रायलमा बोलायो । ‘म ६ वर्षकै उमेरबाट फुटबल खेल्थँे । जब मास्को डी गामामा जोडिएँ, त्यतिबेला म ७ वर्षको थिएँ । अनि फुट्सल खेल्न थालेँ । ११ वर्ष पुगेपछि मैले ठूलो मैदानमा खेल्न थालेँ,’ काउटिन्होले भनेका छन्, ‘जब तपाईं फुटसल खेल्नुहुन्छ । त्यतिबेला धेरै छरितो हुनुपर्छ । मैदानमा स्पेस सानो हुन्छ । प्राविधिक रूपमा दक्ष बनाउन फुट्सलले ठूलो सहयोग गरेको छ ।’

भास्को डी गामाको युथ टोलीमा छँदा बेला–बेलामा उनको जम्काभेट नेइमारसँग हुने गर्दथ्यो । त्यति बेलासम्म न काउटिन्होको चर्चा विश्वव्यापी थियो, न त नेइमारकै । 

यो सन् २००३ को कुरा थियो जतिबेला काउटिन्होले ठूलो मैदानमा खेल्न थालेको २ वर्ष मात्रै भएको थियो । यतिबेला सन्तोषको युवा एकेडेमीबाट उत्पादन भएका रोविन्हो र डियगो चर्चामा थिए । उनीहरूले ब्राजिली फुटबल हाँक्ने अनुमान गरिरहेका थिए ।

काउटिन्होको समय आउँदै थियो । सन् २००८ मा नेइमारको सान्तोषलाई भास्को डी गामाले यु–१७ कोपा ब्राजिलमा हरायो । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका काउटिन्हो चर्चामा आए । धेरै युरोपेली क्लबले आँखा लगाए । इन्टरले भर्खरै नाम सुनिएका १६ वर्षीया खेलाडीमाथि ४ मिलियन युरोको बाजी लगायो । त्यो पनि २ वर्षपछि क्लबमा भित्र्याउने शर्त राखेर । उनले थप २ सिजन भास्कोबाटै ऋणमा खेल्ने सम्झौता भयो । 

च्याम्पियन्स लिगमा चम्किएको क्षण 


सन् २०१० मा इन्टर आउने बित्तिकै काउटिन्होले आफ्नो कला देखाउन थाले । केही दिन उनको अभ्यास नियालेपछि तत्कालीन प्रशिक्षक राफा बेनिटेज प्रभावित भए । उनले घोषणा नै गरे, ‘काउटिन्हो टोलीको भविष्य हुनसक्छन् ।’

सन् २०१० को अक्टुबरमा भएको टोट्टेनह्याम र इन्टर मिलानबीचको च्याम्पियन्स लिगको खेल सम्झनेहरूले ग्यारेथ बेलको ठूलो तारिफ गर्छन् । सान सियरोमा भएको यस खेलमा घरेलु टोली इन्टरले १० खेलाडीमा सीमित टोट्टेनह्यामलाई ४–३ ले हराएको थियो । टोट्टेनह्यामबाट सबै ३ गोल बेलले गरेका थिए । यो खेलमा काउटिन्होको प्रदर्शन पनि कम थिएन । 

काउटिन्होले इन्टरलाई जित दिलाउने क्रममा ४ गोलमध्ये २ गोलमा असिस्ट गरेका थिए । इन्टर आएको सुरुवातमै घरेलु मैदानमा गरेको यस्तो प्रदर्शनपछि काउटिन्होको वाहवाही भयो । तर सधैँ यस्तो राम्रो भएन । उनले सन् २०१०–०११ को सिजन २ गोल मात्रै गर्न सके । यसै सिजन प्रशिक्षक राफा बेनिटेज बर्खास्तीमा परे । सिजनको अन्त्यसम्म काउटिन्हो पनि टिम बाहिर भइसकेका थिए । 

अर्को सिजनको सुरुवातमा पनि उनले टोलीमा स्थान बनाउन सङ्घर्ष गर्नुपर्यो । त्यसैले जनवरीमा उनलाई ऋणमा स्पेनिस क्लब इस्प्यानोल पठाइयो । अहिले टोट्टेनह्यामको प्रशिक्षक रहेका अर्जेन्टिनी माउरिसियो पोक्चेटिन्हो इस्प्यानोलको प्रशिक्षक थिए । उनले काउटिन्होको खुबीलाई मज्जाले उपयोगमा ल्याए । १६ खेल खेल्दै काउटिन्होले ५ गोल गरे । रायो भालेकानजोसँग गरेको गोलले उनलाई समर्थकहरूको प्रिय बनायो । इस्प्यानोल उनीसँगको ऋण सम्झौता लम्ब्याउन चाहन्थ्यो । तर प्रतिभा चिनिसकेको इन्टरले क्लबमा फिर्ता बोलायो । 

‘काउटिन्हो स्पेन गएपछि परिपक्व बनेर फर्किएका छन् । उनले विश्व फुटबलकै नयाँ स्टार हुन्,’ टोलीका चर्चित स्ट्राइकर डियगो मिलिटोले उनी फर्किएपछि न्यानो स्वागत गर्दै भनेका थिए । तर, सन् २०१२–१३ को सिजन पनि काउटिन्होले राम्रो गरेनन् । १९ खेल खेलेर उनले १ गोल मात्रै गरे । 

सिजन समाप्त नहुँदै इन्टरले उनलाई लिभरपुलमा बेच्ने निर्णय गर्यो । त्यो पनि केवल ८ मिलियन पाउन्डमा । इन्टरका धेरै फ्यानहरू यी युवा प्रतिभालाई अझै केही समय फक्रने मौका दिनुपर्ने पक्षमा थिए । उनीहरूले सस्तैमा काउटिन्होलाई बेचेर क्लबले गल्ती गरेको भन्दै विरोध जनाएका थिए । तर इन्टरका मालिकहरू उनले राम्रो प्रदर्शन गर्ने आशामा बस्दा–बस्दा थकित भइसकेजस्तो देखिन्थे । ‘ब्राजिलबाट आउँदा उनी केवल १८ वर्षका थिए । त्यसपछि राफा बेचिटेजको प्रशिक्षणमा उनले राम्रो खेल्ने अपेक्षा थियो ।  काउटिन्होलाई राफाले ४–२–३–१ को समिरणमा खेलाए । जहाँ उनले राम्रा खेल्न सकेनन्,’ इन्टरका निर्देशक पियरो असिलियोले पश्चाताप गर्दै भनेका थिए, ‘हामीले बेच्यौँ । तर म चाहन्थेँ । युवा टोलीका खेलाडीले यही राम्रो गर्नुपर्ने थियो । उनीहरूले अन्य क्लबमा राम्रो खेलेको देख्दा हामीलाई दुःख लाछ । ’

लिभरपुलका ठूला स्टार 
इन्टरले हारेको बाजी लिभरपुलले जित्यो । ८ मिलियन पाउन्डमा क्लब भित्र्यिाएका काउटिन्होलाई प्रशिक्षक ब्रेन्डन रोजर्सले १० नम्बरको जर्सी दिए । लिभरपुलमा उनले डेब्यु  सिजनमा १३ खेल खेल्दै ३ गोल गरे । उनको खेल सुरुदेखि नै हेर्न लायक थियो । उनको तुलना क्रिस्ट्रियानो रोनाल्डोसँग हुन थाल्यो । प्रिमियर लिगमा यस्तै खेल डेब्यु सिजनमा म्यानचेस्टरका लागि रोनाल्डोले खेलेका थिए । रोनाल्डोलेजस्तै काउटिन्होले पनि विपक्षी खेलाडीहरूलाई डिस्टर्ब गर्थे । गोलका लागि छरितो पास उपलब्ध गराउँथे । ड्रिब्लिङ र बलमाथिको नियन्त्रण गज्जबको थियो । विपक्षी टोलीको रक्षापङ्क्ति भत्काउन माहिर काउटिन्होको सम्मानमा विपक्षी टोलीका समर्थकहरूको शिर पनि पटक–पटक झुक्ने गथ्र्यो । काउटिन्होले प्रिमियर लिगका दर्शकहरूलाई मनोरञ्जन दिएको डेब्यु सिजन लिभरपुल सातौँ स्थानमै सीमित भयो । 
अर्को सिजन लिभरपुलको कथा फेरियो । लिभरपुलले जित हासिल गरेका महत्वपूर्ण खेलमा उनले लुइस सुआरेज र डेनियल स्टुआरेजाई गोलका लागि अवसर सिर्जना गरे ।  लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधिका लागि अन्तिम क्षणसम्म प्रतिस्पर्धा गर्यो । म्यानचेस्टर सिटीसँग २ अङ्कले पछि परेर उपाधि गुमाए पनि लिभरपुलको प्रशंसा सबैले गरे । काउटिन्होले लिगको अन्त्यतिर उपाधि होडमा रहेको सिटीविरुद्ध निर्णायक गोल गरे । ‘यो गोल प्रिमियर लिगकै अहिलेसम्मको उत्कृष्ट गोल हो,’ लुइस सुआरेजले आफ्नो आत्मकथामा लेखेका छन् । 

सन् २०१४–१५ को सिजन सुरु नहुँदै सुआरेजले लिभरपुल छाडे । त्यसपछि काउटिन्हो टोलीका सबैभन्दा ठूला स्टार बने । तर दबाब थेग्न सकेनन् । २०१५–१६ मा प्रशिक्षक योर्गेन क्लोपले लिभरपुल सम्हालेपछि काउटिन्हो र रोर्बटो फिरिमानोले फेरि एक पटक लिभरपुललाई ठूला खेलमा विजयी गराए । सन् २०१६–१७ को सिजन काउटिन्होका लागि अर्को एक अविस्मरणीय वर्ष बन्दै थियो । यस सिजन लिभरपुलले अङ्कतालिकाको चौथो स्थानमा रहेर लिग टुङ्ग्यायो । सुआरेजको बर्हिगमनपछि लिभरपुल चौथो स्थानमा अटाएको यो पहिलोपटक थियो । काउटिन्होको प्रदर्शन उसको सफलताको प्रमुख कारण थियो । 

यस सिजन बार्सिलोना आउनुअघि लिभरपुलबाट उनले निकै कम खेले । तर जति खेल खेले । त्यसमा प्रभावकारी प्रदर्शन गरे । उनले खेलेका १३ खेलमा ७ गोल र ६ असिस्ट गरे । ४ वर्षपछि च्याम्पियन्स लिग खेल्ने क्रममा उनले लिभरपुलबाट ४ खेलमा ५ गोल र २ असिस्ट गरे । अब,  बार्सिलोनामा आबद्ध भएकाले उनले यस सिजन च्याम्पियन्स लिगका बाँकी खेल गुमाउनेछन् ।  

बार्सिलोनामा नयाँ परीक्षा 
इस्प्यानोलका पूर्वप्रशिक्षक मारिसियो पोचेटिन्होले उनको तुलना लियोनल मेसी र रोनाल्डिन्होसँग गरेका छन् । ‘फिलिपोको खुट्टामा विशेष जादु छ,’ उनले भनेका छन् । पास उपलब्ध गराउने मामिलामा उनको आँखा निकै तेजिलो मानिन्छ । उनलाई लिभरपुलका समर्थकहरूले ‘लिट्टिल म्याजिसियन’ उपनाम  दिएका छन् । उनी दुवै खुट्टाले उत्तिकै राम्रो खेल्छन् र लामो दूरीबाट प्रहार गर्न पनि माहिर छन् । 

इङ्ल्यान्डमा आफूलाई प्रमाणित गरिसकेका काउटिन्हो यतिबेला बार्सिलोनामा अर्को परीक्षा दिँदैछन् । हुन त इस्प्यानेलबाट ऋणमा खेल्दा शानदार प्रदर्शन गरेर ला–लिगामा पनि आफ्नो छाप छाडिसकेका छन् । तर, बार्सिलोनामा रहेर खेल्नु अहिले पनि विश्वका ठूला स्टारहरूका लागि चुनौतीपूर्ण मानिन्छ । अन्यत्र क्लबका स्टार फुटबलरहरू पनि यहाँ मेसीका अगाडि सामान्यजस्ता लाग्छन् । मेसी, सुआरेज, इभान राकिटिक, पाउलिन्हो, ओसानमाने डेम्बेले  लगायतका स्टार खेलाडीहरूले भरिएको बार्सिलोनाको टोलीले उनीबाट ठूलो अपेक्षा गरेको छ । सन्न्यास लिने समय आइसकेका स्टार मिडफिल्डर आन्द्रेस इनिस्टाको अभाव उनले क्लबलाई खड्कन नदिने अपेक्षा गरिएको छ । 

काउटिन्होले अपेक्षा अनुसारकै उत्कृष्ट प्रदर्शन पनि देखाउन थालेका छन् । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले भ्यालेन्सिया विरुद्धको दोस्रो लेगमा  २–० को जित निकाल्दा उनले क्लबका लागि डेब्यु गोल गरे ।  संयोगवस्, उक्त गोल पूर्व लिभरपुलकर्मी लुइस सुआरेजकै पास सम्भव भयो । काउटिन्होले लिभरपुलमा पनि सुआरेजकै गोलमा आफ्नो पहिलो गोल गरेका थिए । त्यसपछि ५ वर्षमा उनले १ सय ५२ खेल खेल्दै ४१ गोल र ३५ असिस्ट गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप