शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङ अस्पतालमै पाइन्न सरकारको कुनै पनि निःशुल्क सेवा

बुधबार, ०२ फागुन २०७४, १४ : ३८
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ । देशरभर उपचार गरेर निको नभएका बिरामीलाई प्रायः टिचिङ अस्पताल रिफर गरिन्छ । स्वास्थ्य उपचारको लागि सरकारीदेखि गैरसरकारी अस्पतालमा धाउँदा रोग निको नभएपछि अन्तिम अवस्थामा यो अस्पतालमा बिरामी  रिफर हुन्छन्  । यसो त यो अस्पतालाई रिफर सेन्टर पनि भनिन्छ । 

स्वास्थ्य सेवा लिन आउनको संख्या पनि निकै बढ्दो छ । सार्वजनिक बिदा बाहेकक अन्य दिन यस अस्पतालमा सेवाग्राहीको घुइँचो नै हुन्छ । तर देशकै ठूलो शिक्षण अर्थात् धेरैले टिचिङ नामबाट चिनेको यस अस्पतालमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले घोषणा गरेको कुनै निःशुल्क सेवा भने छैन । विपन्न नागरिक, जेष्ठ नागरिक, गर्भवति महिला, जन—आन्दोलनका अपाङ्ग तथा घाइतेले टिचिङमा उपचार गर्न आउदा सहुलियत र निःशुल्क सेवाको खोजी गर्छन् । तर उनीहरुले टिचिङबाट यो कुनै पनि सेवा पाउदैनन् र अस्पतालले पनि उनीहरुलाई सरकारी अस्पतालमा जान सजेष्ट गर्छन् ।  

आमा सुरक्षा, शिशु स्याहार, गर्भवती महिलालाई निःशुल्क आइरन चक्की र भत्ताको व्यवस्था र अनि ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था रहेको छ । तर तपाईले टिचिङभने सामान्य सिटामोल पनि किन्नु पर्छ । यसोत सेवा लिन आउने धेरै जसोले टिचिङलाई सरकारी अस्पतालकै रुपमा हेर्ने गरेका छन् । त्यस कारण अस्पताल प्रशासनसँग सहुलियतको तथा निःशुल्कको माग गर्छन् ।

टिचिङ स्वास्थ्य मन्त्रालय भन्दा पनि शिक्षा मन्त्रालय अन्तर्गत संचालन भएको हुदा शिक्षा मन्त्रालयको नीति, नियम र ऐन अनुसार यो अस्पताल चलेको छ । यो अस्पताल शिक्षा मन्त्रालयको मातहतको शिक्षण अस्पताल भएको हुँदा सरकारले व्यवस्था गरेको निःशुल्क तथा सहुलियत सेवा टिचिङ छैन् भन्छन् अस्पताल प्रशासन प्रमुख गोविन्द प्रधान । त्रिभुवन विश्व विद्यालय अन्तर्गत संचालन गरिएको हुँदा अध्ययनको लागि आउनको संख्या धेरै रहेको छ । 

अहिलेसम्म स्वास्थ्य मन्त्रालयले टिचिङमा विरामीको चापलाई मध्येनजर गर्दे यस्ता कार्यक्रम राख्नुपर्ने हो तर छैन । सरकारको कार्यक्म नभएको कारण गर्भवती महिलाले पाउने आईरन चक्की गाँउ गाँउमा निःशुल्क पाइन्छ भने टिचिङमा किन्नुपर्छे हुन्छ । स्वास्थ्य मन्त्रालयले नागरिकलाई दिएको निःशुल्क कुनै पनि कार्यक्रम टिचिङमा नभएको हुदाँ अन्य ठाँउमा निःशुल्क पाइने औषधि तथा सेवाको लागि तपाईले पैसा तिर्नुपर्ने हुन्छ । रातोपाटी अनलाईनसँग कुरा गर्दै प्रशासन प्रमुख प्रधानले भने, ‘गर्भवति महिलाले खाने गाँउको स्वास्थ्य सस्थामा पाईने सामान्य आइरन चक्की यहाँ किन्नु पर्छ ।’ 

सरकारको सेवा लिने भए अन्त्यै अस्पताल जानुस्

जेष्ठ नागरिक, जनआन्दोलनका घाइतेहरुले सरकारले प्रदान गरेको निःशुल्क सेवाको खोजी गर्ने गरेको प्रमुख प्रधान बताउँछन् । तर यस्ता सेवा टिचिङमा नभएको कारण त्यहाँ बिरामीलाई अन्य अस्पतालमा पठाउने गरेको छ । मासिक कम्तीमा पनि ५ जनालाई अन्य अस्पताल पठाइन्छ । काठमाडौँ महानगरपालिकामा विद्या सुन्दर शाक्य मेयर भए पछि जेष्ठ नागरिकलाई निःशल्क सेवा दिनुपर्ने पत्र टिचिङमा प्रशासनलाई पठाइएको थियो । यस्तै ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर सेवा प्रदान गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको थियो । तर ,सेवा प्रदान गरे बापतको खर्चको जिम्म कसरी र कस्ले लिने भन्ने विषयमा महानगरले जानकारी नगराएको कारण निःशुल्क सेवा दिन नसक्ने भन्दै अस्पताल प्रशासनले महानगरलाई पत्र पठाएको प्रधानले बताए । दैनिक कम्तीमा पनि ३० जना महिलाले टिचिङबाट प्रसूति सेवा लिइरहेका हुन्छन् । तर, सरकारी अस्पतालमा प्रसूतिको लागि कुनै पनि खर्च लाग्दैन् भने टिचिङमा पैसा तिरेर प्रसूति गराउँदै आइरहेका छन् ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण गिरीले टिचिङ अस्पतालमा निःशुल्क सेवामा सरकार र अस्पताल प्रशासनबीच समन्वयन गर्ने काम भइरहेको बताए । टिचिङ शिक्षा मन्त्रालय अन्तर्गत भएपनि देशभरको नागरिकको स्वास्थ्य सेवा लिने मुख्य अस्पताल भएको भन्दै प्रवक्ता गिरीले रातोपाटीसंग भने मितिनै तोक्न नसकौला तर छिटै निःशुल्क कार्यक्रम सञ्चालन हुने छ ।

स्वास्थ्य मन्त्रालयको चासो दिएन 

प्रशासन प्रमुख प्रधान भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले निःशुल्क सेवाको कार्यक्रम अस्पताललाई दिएको खण्डमा सेवा सुरु गर्न कुनै पनि समय लाग्दैन । सरकारले दूर्गम जिल्लामा ७० प्रकारको निःशुल्क औषधि पु¥याउन सकेको छैन होला । तर, सबै नागरिक सेवा लिन आउने शिक्षण अस्पतालमा निःशुल्क औषधिदेखि अन्य सेवाको कार्यक्रम लागु गरेको खण्डमा गाँउमा सेवा लिन नपाए पनि टिचिङबाट लिनपाउदा लाभ मिल्नेछ ।’

स्वास्थ्य सेवा लिनेको सङ्ख्यालाई मध्येजनर गर्दै निःशुल्क सेवा कार्यक्रमको लागि टिचिङ प्रशासनका जिम्मेवार व्यक्तिहरु स्वास्थ्य मन्त्रालयमा नधाएको भने होइन । सेवा सुरु गरेको समयमानै अस्पताल प्रशासन मन्त्रालय जाँदा पनि खासै सुनुवाई नभएको प्रधानले बताए । 

जिल्ला अस्पतालबाट नहुने धेरै बिरामीलाई टिचिङमा रिफर गरिन्छ । नेपालको सबै स्थानमा सडकको व्यवस्था छैन । महङगो मूल्य तिरेर भएपनि हेलिकप्टरबाट टिचिङमा दैनिक बिरामी आउँछन् । त्यस्ता बिपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न सकेको खण्डमा कार्यक्रम अर्थपूर्ण हुने उनको भनाई  छ ।  

सरकारले ७० प्रकारका भनिएको सबै औषधि स्थानीय स्वास्थ्य चौकीमा पनि पाइने भने होइन । जिल्ला अस्पतालमा ७० वटै, त्यसभन्दा मुनिका स्वास्थ्य संस्थामा प्राथमिक केन्द्रमा ५८ प्रकार र त्यस भन्दा मुनिका स्वास्थ्य चौकीमा ३६ प्रकारका गरी ७० प्रकारका निःशुल्क औषधि वितरण हुन्छन् । सरकारले ४० प्रकारको निःशुल्क औषधि सेवा घोषणा गरेको झण्डै ८ वर्ष पछि फेरि ३० प्रकारको औषधि थप गरेर ७० प्रकारको पु¥याएको हो । जस अन्तर्गत मानसिक रोग मधुमेह,उच्च् रक्तचाप,मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेट राखिएको छ । 

बिपन्न नागरिक सेवा 
सरकारले निःशुल्क उपचार गर्न सक्ने भनेर ८ रोग पनि घोषणा गरेको छ । मुटु रोग, मिर्गाैला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगका बिरामीको लागि सरकारले बिपन्न नागरिक कोर्ष मार्फत कुनै मा सहुलियत र कुनैमा निःशुल्क उपचार गर्दै आइरहेका छ । टिचिङबाट विपन्न अन्तर्गत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सहकार्य भए अनुसार यो रोगको  मात्रै सेवा पाईरहेका छन् । 

विश्व विद्यालयले चिकित्सक, प्राविधि कर्मचारी,फ्याकल्टी कर्मचारीलाई सेवा दिदै आईरहेको छ । अन्य सबै व्यवस्था अस्पताल आफैले गर्दै आईरहेको  छ । स्वास्थ्य मन्त्रालय टिचिङमा निःशुल्क सेवा संचालन गरेको खण्डमा देशभरका नागरिक लाभान्वित हुने छन् ।

सरकारको भनाई 
यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण गिरीले टिचिङ अस्पतालमा निःशुल्क सेवामा सरकार र अस्पताल प्रशासनबीच समन्वयन गर्ने काम भइरहेको बताए । टिचिङ शिक्षा मन्त्रालय अन्तर्गत भएपनि देशभरको नागरिकको स्वास्थ्य सेवा लिने मुख्य अस्पताल भएको भन्दै प्रवक्ता गिरीले रातोपाटीसंग भने मितिनै तोक्न नसकौला तर छिटै निःशुल्क कार्यक्रम सञ्चालन हुने छ । यस्तै टिचिङसँगै पाटन अस्पताल र धरानको एक अस्पतालमा पनि स्वास्थ्य मन्त्रालयको निःशुल्क सेवा लागु हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप