शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के तपाईले ट्राफिक नियम उल्लंघन गर्नुभो, अब तपाईका घरमा यसरी तुरुन्तै आइपुग्छन् ट्राफिक प्रहरी

बुधबार, ०२ फागुन २०७४, १४ : २८
बुधबार, ०२ फागुन २०७४


– अच्युत रेग्मी 

काठमाडौँ– तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो । 

ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो ।  दुई वर्ष पहिलेदेखि महाशाखाले सिसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको हो । 

महाशाखाले नियम मिच्ने सवारी साधनलाई सिसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो ।  महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताँछन् । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” उनी भन्छन् । 

सिसी क्यामरामार्फत महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए । 

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गर्ने भएको छ । 

आफू चढेको सवारी साधनले जथाभावीरुपमा हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो भिडियो महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ ।  सवारी साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ ।

काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर मात्र छ । उपत्यकामा हाल एक हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् । 

यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँर काठमाडौँ उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी साधन सञ्चालनमा रहेको बताउँछन् । “साँघुरो सडक र धेरै सवारी साधनका कारण उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ,”– उनी थप्छन्। 

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल चालकले ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गरेका घटना बढेपछि महाशाखाले यो अभियान शुरु गरेको बताउँछन् । “एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले पनि बदमास नगरुन् भनेर हामी उक्त कारबाही अभियान शुरु गरेका हौँ,” – उनी भन्छन् । 

यसअघि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी साधनलाई कारबाही गर्नुका साथै सडकमा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप