शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीदेखि आँचलसम्म प्रेममा, यी हुन् प्रेममा रहेका कलाकार

बुधबार, ०२ फागुन २०७४, १३ : ४३
बुधबार, ०२ फागुन २०७४

काठमाडौं –एक समय कलाकारको प्रेमको चर्चा मिडियामा छाउँदा सनसनी नै हुन्थ्यो । उनीहरूको प्रेमका समाचार ब्रेकिङ बन्थे । तर चलचित्र क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै यो विषय पनि सामान्य हुन थालेको छ । कलाकार प्रेमी प्रेमीकाका रूपमा सार्वजनिक कार्यक्रममै पुग्न थालेका छन् । उनीहरूले आफ्नो प्रेम सामाजिक सञ्जालबाट समेत सार्वजनिक गर्ने गर्छन् । आज ‘भ्यालेनटाइ डे’ अर्थात प्रेम दिवस । प्रेम दिवसको अवसर पारेर प्रेममा रहेका कलाकारको चर्चा आजको विषय बनाइएको छ । 

प्रियङ्का र आयुष्मान
अभिनेत्री प्रियङ्का कार्की र आयुष्मान देशराज अहिले प्रेममा रहेका छन् । दुवैले मिडियासामु आफ्नो प्रेम स्वीकारी सकेका छन् । दुवै अहिले आफ्नो प्रेम कसरी बलियो बनाउने भन्ने चक्करमा लागेका छन् । राजधानीमा आयोजना हुने अवार्ड समारोहमा यी दुवैसँगै देखिने गर्छन् ।  

आयुष्मानकी आमा (बैङ्कर रविना देशराज श्रेष्ठ) को सम्बन्धले आयुष्मान र प्रियङ्काको दोस्ती बढेको थियो । पछि त्यही दोस्ती प्रेममा परिणत भयो । करिब दुई वर्षदेखि उनीहरू प्रेममा छन् ।

सृष्टी र सौगात


पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता सौगात मल्लको प्रेम पनि बाहिर आएको विषय हो । यी दुवैले लुकाउँदै आएको प्रेम अहिले बाहिर आएको छ । सृष्टीले सौगातसँगको प्रेम स्वीकार गरे पनि सौगात भने अझै खुल्न सकेका छैनन् । यी दुवैले एकसाथ चलचित्र ‘लाहुरे’मा पनि देखिँदैछन् । सौगात अभिनित चलचित्रमा सृष्टी गेस्ट भूमिका पनि देखिन थालेकी छन् ।

शिल्पा र छविराज


अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीचको सम्बन्ध पनि लुकेको छैन । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग नजिकिएका हुन् । पटकपटक शिल्पा र छविले पनि विवाहको हल्ला चलाउने गरेका छन् । छवि र शिल्पा दुवैले आफ्नो परिवारले आफूहरूको सम्बन्धलाई स्विकारेको बताउँछन् । छविले शिल्पालाई बिहे गरे भने उनको यो चौथो विवाह हुनेछ, भने शिल्पाको दोस्रो ।

साम्राज्ञी र मयंक


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि प्रेममा छिन् । उनले आफू प्रेममा रहेको कुरालाई अस्विकार गर्दै मयंक खड्का आफ्ना साथी मात्र भएको बताउँदै आएकी छन् । साम्राज्ञी र मयंकका तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनीहरूको प्रेम बाहिर आएको हो । तर, मिडिया इन्टरभ्युहरूमा भने उनले मयंकसँगको प्रेम स्विकार गरेकी छैनन् ।

वर्षा र संजोग


अभिनेत्री वर्षा राउत र संजोग कोइरालाको प्रेमले ७औँ वसन्त पार गरिसकेको छ । लामो समयदेखि प्रेमी–प्रेमिकाका रूपमा रहेका यी दुवैको प्रेमको चर्चा कम हुने गरेको छैन । धेरै पहिले एक चलचित्रको अडिसनमा यी दुवैको भेट भएको थियो । अहिले यी दुवै अभिनेता शिव श्रेष्ठले निर्माण गर्ने चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा एकसाथ देखिँदै छन् । दुवैको परिवार पनि प्रेमको बारेमा जानकार छन् । करिअर सुरुवाती चरण भएकाले अहिले विवाहको योजना नरहेको दुवै बताउँछन् ।

आस्मा र संयम


आस्मा र संयमको प्रेमले एक समय राम्रो बजार ततायो । केहीपछि  ब्रेकअपको हल्ला पनि फैलियो । तर, यो जोडीले अहिलेसम्म ती कुराको विषयमा मुख खोलेका छैनन् । परिवारसँग नजिक रहेका व्यक्तिको कुरो पत्याउने हो भने अहिलेसम्म पनि उनीहरूको सम्बन्ध राम्रो छ । ‘सायद’ चलचित्र चलेपछि आस्मा संयमसँग नजिक भएकी थिइन् । एक टिभीमा काम गर्ने आस्माको रिपोर्टिङका क्रममा पहिलो पटक संयमसँग भेट भएको थियो । आस्मा पनि चलचित्र अभिनय छिन् । संयमको पनि अभिनय यात्रा चलिरहेको छ । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । संयमका सबै परिवार अमेरिकामा छन् । उनी अमेरिका नजानुको कारण आस्मा यही रहेकाले हो भन्ने कुरा मिडियामा लुकेको छैन । 

आना र सोनम  


अभिनेत्री आना शर्माको प्रेम पनि मिडियामा नलुकेको विषय हो । सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय आनाले पोस्ट गर्ने तस्बिरले पनि उनको प्रेम देखिन्छ । उनको युवा सोनाम छिरिङ शेर्पासँग प्रेम रहँदै आएको छ । आनाले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरले पनि सोनाम र उनीबीच गहिरो प्रेम रहेको बुझ्न गाह्रो पर्दैन । कतै अङ्कमाल गरेका त कतै गालामा चुम्बन गरेका सोनामसँगका तस्बिर केही पहिले सामाजिक सञ्जालबाट बाहिर आएका थिए । 

नम्रता र दावा


‘प्रेम बजार’मा अभिनेत्री नम्रता श्रेष्ठ पनि अछुतो रहिनन् । प्रेम घलेसँग छुट्टिएर एक्लो जीवन बिताइरहेका बेला उनको मनमा नयाँ प्रेमीले दावा स्टिभन शेर्पाले बास जमाए । शेर्पा बेल्जियमकी नागरिक रहेकी आमाबाट जन्मिएका दावा पेसाले पर्यटन व्यवसायी हुन् । दावा नम्रतासँग धेरै पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । दावासँग नम्रताले गत वर्षको होलीसमेत सँगै मनाएकी थिइन् । नम्रता दावालाई खुबै माया गर्छिन् । दावा पनि उत्तिकै माया गर्छन् । यद्यपि यी दुवैको योजना अहिले विवाह गर्ने भने नरहेको बुझिएको छ । नम्रताले प्रेम सम्बन्धलाई नकार्न नसके पनि विवाहको बारेमा भने मुख खोलेकी छैनन् । 

पूजा र सुदर्शन 


अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाबीचको प्रेम सम्बन्धले धेरै वर्ष पार गरिसकेको छ । उनीहरूको प्रेमको चर्चा एकताका मिडियामा खुबै हुने गथ्र्याे । प्रेमको हल्लालाई यी दुवैले मन्द रूपमा नकार्दै आए । पूजा र सुदर्शन सधँै एकै प्रोजेक्टमा देखिनुले पनि दुवै बीच कुछकुछ रहेको छ भन्ने अनुमान लगाउन मिडियालाई गाह्रो परेन । पछिल्लो समय यी दुवैले एकसाथ चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । अहिले नयाँ चलचित्रमा पनि यी दुवै एकसाथ रहेका छन् । 

पल र आँचल


पल शाह र आँचल शर्माको प्रेमको चर्चा मिडियामा खुबै हुने गरेको छ । ‘नाई नभन्नु ल ४’ बाट अभिनयमा भित्रिएका यी दुवैले ‘जोनी जेन्टलम्यान’ र ‘सत्रु गते’ एकसाथ अभिनय गरेका छन् । पलले आफूलाई अभिनय अफर गरिएको भिडियो जोडी आचल राख्न सिफरिस गर्ने गरेको समेत बाहिर आएको विषय हो । तर यी दुवैले प्रेमलाई स्वीकारेको भने छैनन् । ‘हामी मिल्ने साथी हौ’, दुवैले बाहिर भन्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप