बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर कप महिला भलिबलको उपाधि एपीएफलाई

मङ्गलबार, ०१ फागुन २०७४, १७ : ०२
मङ्गलबार, ०१ फागुन २०७४

चितवन– चितवनमा सम्पन्न प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । 

पहिलो सेटमा प्रतिस्पर्धात्मक २९–२७ को जित हात पारेको एपीएफले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्याे । उपाधि जितेको एपीएफले २ लाख रूपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाएको छ । 
दोस्रो बनेको न्यू डायमण्डले १ लाख पुरस्कार सहित ट्रफि र प्रमाणपत्र पाएको छ । यस्तै, तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पारेको छ । नेपाल आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा ३–० ले पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पारेको हो । पुलिसले ५० हजार र सान्त्वना स्थान हासिल गरेको नेपाल आर्मीले २५ हजार नगद पुरस्कार जित्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भएकी छन् । उनले नगद १० हजार पुरस्कार पाएकी छन् । त्यस्तै न्यू डामयण्डकी प्रतिभा माली वेष्ट स्पाइकर र यसै क्लबकी कृपा अधिकारी वेष्ट सर्भर भएकी छन् । नेपाल पुलिसकी कमला पुन वेष्ट सेटर, एपीएफकी उषा विष्ट वेष्ट ब्लकर, एपीएफकी मनिषा तामाङ वेष्ट डिफेन्डर र आर्मीकी निकता ठगुन्ना नयाँ प्रतिभाशाली खेलाडीका रुपमा पुरस्कृत भएका छन् । उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाएको प्रचारप्रसार संयोजक रामहरि सेढाइले बताए । 

समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल आयोजना भएको थियो । बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लव सहित ७ वटा टिमको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप