शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु

मङ्गलबार, ०१ फागुन २०७४, १६ : ०३
मङ्गलबार, ०१ फागुन २०७४

सुर्खेत– प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ ।  यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन भएका छन् । 

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुट्नुभएको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिए । 

संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।

त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिए । 

प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो । 

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप