बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामीसँग किन झर्किन्छन् नर्स ?

मङ्गलबार, ०१ फागुन २०७४, १४ : ०५
मङ्गलबार, ०१ फागुन २०७४

अञ्जु तामाङ

काठमाडौँ– उमेरले ५० पुगेकी गङ्गा थापा नर्सिङ पेसामा आबद्ध भएको ३० वर्ष भयो । उनले २० वर्षको उमेरदेखि नै शिक्षण अस्पताल (टिचिङ) मा नर्सको काम थालेकी हुन् ।

नेपालका अधिकांश अस्पतालमा नर्सहरूले बिरामीप्रति प्रायः राम्रो व्यवहार नगरेको गुनासो सुनिन्छ ।

किन त ?

हामीले यो विषय बुझ्ने प्रयास गरेका छौँ उनै गङ्गासँग ।

शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागको इन्चार्जसमेत रहेकी गङ्गा दैनिक घरबाट निस्कँदा बिरामीलाई राम्रो सेवा दिने सोच्छिन् । अस्पातल आएको केही घण्टासम्म बिरामी तथा आफन्तहरूलाई राम्रो व्यहार नै गर्छिन् पनि । तर १२ बज्दै जान्छ अनि उनी पनि नचाहेरै बिरामीको आफन्तहरूसँग झर्किन्छिन् । भन्छिन्– ‘अब बिहानभर काम गरेको हुन्छ । बिरामीको चाप भएको कारण कहिले खाजा खान पाइन्न भने १२ बज्दासम्म खान खाने फुर्सदसम्म नै नहुँदा यस्तो अवस्था सिर्जना हुन्छ ।’

गङ्गा नर्सिङ सङ्घको बरिष्ठ उपाध्यक्षसमेत हुन् । सिनियर नर्स गङ्गा भन्छिन्– ‘बिरामीको सेवामा खटेको नर्स बिरामीसँग झर्किनुहुन्न ।’ तर, बिरामी भेट्न आउने प्रत्येक आफन्तहरूले पटक, पटक एउटै कुरा सोधिरहने भएकाले नर्सहरू बिरामीभन्दा पनि भिजिटरसँग झर्किने गरेको उनले स्वीकारिन् ।

उनी भन्छिन्– ‘एउटा बिरामीलाई हेर्नका लागि एक दिनमा कम्तीमा ५ पटकसम्म भिजिटर आउने गर्छन् । सबैलाई बिरामीको बारेमा जानकारी गराउनु पर्नेहुन्छ । उनीहरू सोध्न आउँछन् । आफ्नो आफन्त बिरामी हुँदा चिन्ता त लाग्छ नै तर बिरामीलाई रोगको बारेमा जानकारी गराउने, उपचार गराउने, समय समयमा हेर्ने काम नर्सको भइरहँदा पनि समयमा काम नहुँदा आफन्तहरू नै नर्सहरूसँग ठूलो स्वर गर्ने हुँदा नर्सहरू झर्किने गरेका छन् ।’

बिरामी अनुपातमा नर्सको कमी

 स्वास्थ्य नीति अनुसार आईसीयू, सीसीयू, आकस्मिक कक्षमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्ने व्यवस्था छ । जेनरल वार्डमा ६ जना बिरामी बराबर एक जना नर्स हुनुपर्छ । तर त्यो नीतिअनुसार नेपालमा नर्स छैनन् । एक जना नर्सले २० देखि २५ भन्दा बढी नै बिरामी हेर्दै आउनुपरेको छ । ‘हाल टिचिङ अस्पतालको कुरा गर्नुहुन्छ भने ४ सय नर्स छन् । तर बिरामीको सङ्ख्याअनुसार नर्सको सङ्ख्या कम हो । टिचिङमा झण्डै ८ सयको हाराहारीमा वेड सङ्ख्या रहेको छ । बिहान, दिउँसो र बेलुका गरी नर्सले ३ सिफ्टमा काम गर्नुपर्ने हुन्छ ।’ प्रर्याप्त समय नहुँदा र नर्सहरू बिरामी केन्द्रित हुनुपर्ने अवस्थामा भिजिटरहरूलाई जवाफ दिइरहनुपर्ने भएकाले पनि समस्या आएको उनको बुझाइ छ ।

गङ्गा थप्छिन्– ‘सकेसम्म बिरामीलाई राम्रो व्यवहार गर्ने सोचमा नर्सहरू हुन्छन् । अध्ययन नगरेका नबुझ्ने व्यक्तिले एउटै कुरालाई बारबार सोध्ने अनि बुझ्ने व्यक्तिहरू सरकारी अस्पतालमा अमेरिका, जापान अनि बेलायत जस्ता देशहरूको सेवा खोज्छन् । यस्ता विभिन्न कारणले गर्दा राम्रो व्यवहार गर्दा गर्दै पनि नराम्रो हुने गरेको छ । वृद्धि विकास, बिरामीको सङ्ख्या, नर्सले पाउनुपर्ने सेवा सुविधा, समयमा पारिश्रमिक नपाउनु, बढुवा नहुनु जस्ता समस्या नर्सले भोग्दै आइरहेका छन् । नर्सहरू बिरामीलाई सेवा दिने क्रममा झर्किनुको मुख्य कारण पनि यिनै हुन् ।’ 

‘२४ घण्टा सेवामा खट्नुपर्ने, रातिको समयमा घर जाँदा सवारी साधनको व्यवस्था नहुनु, पर्याप्त पारिश्रमिक नहुने, बिनातलबमा लामो समय काम गर्नपर्नेु, जस्ता करणले पनि नर्सहरूमा यस्ता भाव झल्किने गर्छन्’ थापाले बताइन् । 

महिला भएकै कारण हाम्रो कुरा सुनिदैन

नर्स पेसामा ३० वर्षको अनुभव प्राप्त  सिनियर नर्स थापाले महिला भएकै कारण हेपिनु परेको सुनाइन् । उनले काम गर्दै आएका विभागका उपकरणहरू बिग्रदा बनाउने व्यक्तिलाई बोलाउन जाँदा महिला भएकाले चासो नदिने गरेको अनुभव पनि छ उनीसँग । डाक्टर भगवान कोइरालाको नेतृत्वमा नाक, कान, घाँटी विभाग सञ्चालन भएका बेला विभागमा कहाँ के बिग्रेको छ भन्दै मेन्टेन सामग्रीहरूको बारेमा जानकारी लिन आइरहने तर अहिले त्यस्तो संस्कार हराएको उनले सुनाइन् ।

‘हामी २४सै घण्टा बिरामीको सेवा लागि रहन्छाँै । बिरामीको माया डाक्टरलाई भन्दा बढी हामीलाई हुन्छ । तर बिरामीले पनि एक छिन् आउने डाक्टरलाई महत्व दिने नर्सलाई खासै केही होइन जस्तो व्यवहार गर्दा नमज्जा लाग्छ’, उनले बताइन् ।

३५ सयदेखि काम गर्छन् नर्स

स्वास्थ्य नीतिअनुसार नर्सले पाउने न्यूनतम पारिश्रमिक भने २५ हजार हो । सरकारी अस्पतालमा काम गर्ने नर्सहरूलाई सेवा सुविधाअनुसार पारिश्रमिक पाएका छन्  । तर निजी अस्पतालमा काम गर्ने नर्सहरूलाई भने ३५ सय, ७ हजारदेखि बढीमा १६ हजार पाउने गरेका छन् । यस्तै केही निजी अस्पतालले २० हजार दिएको पनि उनले बताइन । नर्सहरूलाई एकखालको पारिश्रमिक नभएको हँुदा युवानर्सहरूको चित दुखाइको विषय बनेको छ । यस्तै केही गैरसरकारी अस्पतालले केही गैरसरकारी नर्सहरूलाई खाममा हालेर पारिश्रमिक दिने गरेको हुँदा नर्स पेसाप्रति वितृष्णा जागेको देखिन्छ ।

 सङ्घीय संरचनामा नर्सहरूको अपेक्षा

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नर्सहरूको मागलाई सरकारले अहिलेसम्म चित्त बुझ्दो तरिकाले सम्बोधन गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयमा भएको नर्सिङ महाशाखा पनि आजभन्दा २० वर्ष पहिला नै खारेज भइसकेको छ । यो समयसम्म जति समस्या भोगे पनि अबको सङ्घीय संरचनामा देशको नर्सले समस्या भोग्नु नपरे हुन्थ्यो भन्ने नर्सहरूको आशा हो । अब बन्ने प्रादेशिक सरकारले नर्सहरूलाई सम्मानजनक तवरबाट सेवामा लगाउने उनीहरूको विश्वास रहेको छ ।  

२२ वर्षमा भयो बढुवा

टिचिङमा काम सुरु गरेको २२ वर्षपछि गङ्गाको सिनियर नर्स अफिरसमा बढुवा भयो ।

आज भन्दा ८ वर्ष पहिला आफ्ना छोरी सरहका उमेरका नर्सहरूसँग प्रतिस्पर्धा गरेर नै बढुवा भइन् उनी । भन्छिन्– अहिलेका युवा नर्सहरूसँग नयाँ नलेज छ । हामीले पढ्ने समयमा कम्प्युटर, ल्यापटपको व्यवस्था थिएन् । अहिले प्रविधि पनि धेरै अगाडि बढिसकेको हुँदा प्राविधिक रूपमा पुराना नर्सहरू अनुभवी भए पनि लिखितमा समस्या हुने गरेको छ । यस्तै नर्सहरूको बढुवाका लागि १० देखि १५ वर्षमा बल्ल खुलाएको हुन्छ । परीक्षा नदिऊँ भने आफूभन्दा जुनियर नर्स अगाडि आउने, परीक्षा दिँदा प्राक्टिकलभन्दा थ्योरी धेरै आउने हुँदा पुरानो नर्सलाई गाह्रो हुने बताइन । गङ्गा भन्छिन्– प्रश्न पत्रमा ५० प्रतिशत थ्योरी र ५० प्रतिशत प्राक्टिकल राखेको खण्डमा राम्रो हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप