केन्द्रीय संस्करण

यो त शक्तिको दुरूपयोग हो (प्रदेश सांसद विशाल खड्काको अन्तरवार्ता)

person access_timeफागुन १, २०७४ chat_bubble_outline0


१५ वर्षको उमेरमा जनयुद्धमा सहभागी भएर करिब ८ वर्ष जेल जीवन बिताएका विशाल खड्का दोलखाबाट प्रदेशसभामा भारी मतान्तरले निर्वाचित भएका युवा नेता हुन् । उनी पार्टीको पोलिटब्युरो सदस्य हुन् । प्रदेश नम्बर ३ को राजधानी हेटौँडालाई बनाउने कुरा चलिरहँदा उनी त्यसको विकल्पमा प्रदेश राजधानी भक्तपुर अथवा काभ्रेमा हुनुपर्ने विचार राख्छन् ।
उनै खड्कासँग हेटौँडालाई प्रदेशको राजधानी किन नबनाउने ?
३ नम्बर प्रदेशको स्तरोन्नतिको विकल्पलगायत विषयमा हेटौँडाबाट रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।
 
हेटौँडालाई प्रदेश राजधानी नबनाउने भन्दै तपाईंले जुन अभियान चलाउनु भएको छ, त्यसका आधार के हुन् ?
 
हाम्रा विभिन्न सहरका आआफ्नै विशेषता, महत्व र ऐतिहासिकता छन् । हामीले कुनै पनि गाउँ अथवा सहरलाई नयाँ स्वरूपमा ढाल्नेबारे छलफल चलाउँदा त्यसको ऐतिहासिकता, महत्व र विशेषतालाई छुट्याएर हेर्न मिल्दैन । हेटौँडा हाम्रो बीच त्यस्तो सहर हो, जसले आफ्नो पहिचान औद्योगिक नगरीका रूपमा विकास गरिसकेको छ ।
 
नेपालका १० वटा औद्योगिक क्षेत्रमध्ये एउटा उद्योगिक क्षेत्र हो हेटौँडा तर अन्य ९ वटा औद्योगिक क्षेत्र बराबरको क्षेत्रफल हेटौँडाले ओगटेको छ । जसको हामीले आजको दिनसम्म ५० प्रतिशत मात्रै उपयोग गर्न सकेका छौँ । त्यसैले मलाई लाग्छ हामीसँग हेटौँडाको ऐतिहासिकता खोस्ने कुनै आधार र जनमत छैन । हामीले त्यसलाई समृद्ध बनाउन सक्छौँ, हामीले त्यसको थप विकासका निम्ति नीति, कार्यक्रम र योजना ल्याउन सक्छौँ तर त्यसको ऐतिहासिकता मेट्ने अधिकार राख्दैनौँ ।
 
हाम्रा केही अन्य साथी, मित्रहरूले यो दूरीको हिसाबले अपाएक ठाउँ भयो भन्नुभएको छ, तर मलाई त्यस कुरामा त्यति दम छैन । आजको विश्व भनेको ग्लोबल भिलेज हो । यो कुरा आईटीको हकमा मात्र लागू हुँदैन, यो यातायातको हकमा पनि त्यति नै सान्दर्भिक कुरा हो ।
 
हामीले यातायातलाई व्यवस्थित गर्न सक्दैनौँ भन्ने मलाई लाग्दैन । हामीसँग विश्वका धेरै उदाहरणहरू छन् तर मूल कुरा हामीले हेटौँडालाई प्रशासनिक निकायका रूपमा विकास गर्ने कि औद्योगिक नगरीका रूपमा ? यो महत्वपूर्ण सवाल हो । मलाई लाग्छ यहाँका जनताको जीवनस्तर उकास्न, यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीको सवाललाई दीर्घकालीन रूपमा हल गर्न तथा देशलाई समतामूलक आर्थिक समृद्धितर्फ लैजान हामीले यसलाई औद्योगिक नगरीकै रूपमा विकसित गर्नुपर्छ ।

 
हेटौँडामा पहिलेदेखि नै क्षेत्रीय प्रशासनिक निकाय छ, यहाँ प्रदेश राजधानीका लागि पुग्ने भौतिक पूर्वाधारहरू पनि प्रयाप्त छन् । त्यस हिसाबले तपाईंहरूले फेरि त्यही पूर्वाधार निमार्णका लागि अन्यत्र जति समय, परिश्रम र अर्थको खर्च गर्नुपर्ने हुन्छ, त्यो यहीँ उपलब्ध भयो भने त्यो सबै कुरा अन्यत्रको विकासमा लगाउनु सजिलो नहोला ?
 
तपाईंले भनेको कुरा सामान्य ढङ्गबाट निकै उपयुक्त र सान्दर्भिक लाग्छ । मैले पनि यो प्रदेशको अध्ययन गर्नुअघि तपाईंले जस्तै धारणा राख्थेँ । तर हाम्रा प्राकृतिक स्रोत, त्यसको उचित उपयोग, जनतालाई त्यसबाट दिइने दीर्घकालीन फाइदा र हाम्रो दीर्घकालीन रणनीतिलाई मध्येनजर गरेर यसको मूल्याङ््कन गर्नुपर्छ ।
 
यो प्रदेश जहाँ देशका १० वटामध्ये तीनवटा राष्ट्रिय निकुञ्ज तथा एउटा संरक्षण क्षेत्र, नेपालका ८ वटा हिमशृङ्खलामध्ये ३ वटा हिमशृङ्खला, देशैभरी भएका ‘ए ग्रेट’का नदी (हिमाल मूल भएका) आधा दर्जन उपलब्ध छन् भने तीनको वास्तविक उपयोग र जनतालाई समृद्ध गर्ने योजना के हुन सक्छ ? भन्ने हामीले नसोची केही बोल्न र निर्णय गर्न मिल्दैन ।
 
हामीले नीति बनाउने हो भन्ने कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ । नीति कस्तो बनाउने भन्ने विषयमा तपाईंले फ्रान्सका शासक र नेपालका शासकलाई दाँजेर हेरे हुन्छ । फ्रान्सले आजभन्दा झण्डै एक सय ५० वर्ष अघि ८ लेनको बाटो बनाउँदा यो शासक बौलायो भने तर हाम्रोमा केही वर्षअघि मात्रको कुरा हो चीनले काठमाडौँमा पाहाडको फेँदीमा बाहिरी चक्रपथ बनाई दिन्छुभन्दा किन चाहियो हामीलाई त्यत्रो भनियो ।
 
आजको अवस्था के छ तपाईंलाई मैले भनि रहनुपर्दैन । आज त्यही चीनले फेरि हाम्रो साँघुरो चक्रपथलाई फराकिलो गर्दैछ । भन्नुको अर्थ हामीले कुनै पनि काम गर्ने गरी नीति बनाउँदा आजका लागि होइन कि आजभन्दा २०० वर्ष अगाडिसम्म हेर्न सक्ने हुनुपर्छ ।  
 
हामीले प्रदेश राजधानीबारे छलफल चलाउँदै गर्दा समग्र प्रदेशको मानचित्र राखेर सोच्नुपर्छ । हामीले रसुवागढी–गुम्देल ला–च्छोवारदेखि बाँदरझुलासम्म र गणेश हिमालदेखि रामेछाप–साँघुटारसम्मको सोच राख्नुपर्छ । हामीले त्यहाँ बसोवास गर्दै गरेका जाति, जनजाति, अल्पसङ्ख्यक, सामथ्र्य हुने र नहुने सबैको बारेमा नीति बनाउन सक्नुपर्छ । यो त्यस्तो प्रदेश हो जहाँ नेपालको धनीभन्दा धनीदेखि ओडारमा बसोवास गर्ने चेपाङलाई समेत हामीले समेटनु पर्नेछ । यो सवाल मात्र प्रदेश राजधानी कहाँ बनाउने भन्ने हुँदै होइन ।
 
यो त हामीले यहाँको जनतालाई समुन्नत बनाउन, देशको नाम लिएर गर्व गर्न सक्ने हैसियत निर्माणका लागि भनेको हो । त्यसैले मैले उठाएको विषय प्रदेश राजधानीको कुरा मात्र होइन । मैले यस्ता धेरै विषयमा कुरा उठाएको छु, जहाँ अन्य ठूला सहर बनाउनु पर्नेछ भन्ने कुरा पनि समेटिएको छ । कुरा मात्र कत्ति हो भने तपाईंहरूले प्रदेश राजधानी कहाँ बनाउने भन्ने मात्रै सुन्नुभयो ।
 

तपाईंले काठमाडौँ नजिकै अर्को व्यवस्थित सहर बनाइनुपर्छ भन्दै आउनु भएको छ । काठमाडौं भन्ने बित्तिकै मानिसहरूको दिमागमा धुलो, फोहोर, अव्यवस्था, सडक जाम र व्यवस्थित सहरीकरण नै आउने गर्छ अनि तपाईं जस्तो युवाले नयाँ ठाउँको परिकल्पना गर्नुको सट्टा त्यही काठमाडौं वरपरको कुरा किन सोचेको होला ? के त्यो सम्भावना तीन नम्बर प्रदेशको अन्य कुनै पनि भूगोलले बोक्दैन ?
 

प्रकृतिले हामीलाई निकै ठूलो अवसर र सुन्दरता दिएको छ । हामीले प्रकृतिलाई थप जोगाउनुपर्ने ठाउँमा त्यसको अनुचित दोहन, व्यवस्थापनको कमजोरी, सोचमा रहेको दरिद्रता र नीति बनाउनेहरूको सङ्कीर्ण स्वार्थले गर्दा हामी पुग्नुपर्ने ठाउँमा पुग्न सकेनौँ । काठमाडौँ जो देशको राजधानी पनि हो त्यसलाई हामीले अलिकति पनि व्यवस्थित गर्न सकेनौँ । सरकारसँग सहरीकरणको कुनै सोच नै भएन । भन्दा दुःख लाग्छ तर सत्य यही नै हो हाम्रा नेताहरूमा सोचको कमी छ । साक्षर छन् तर ज्ञानको कमी छ । हामी युवा पुस्ता हो, हामीले पनि त्यही पुरानै ढङ्गबाट सोच्ने, चिन्तन गर्ने शैली अपनायौँ भने हामी नयाँ पुस्ता होइन, बुढोभन्दा पनि बुढो हुन्छौँ ।
 
हाम्रो राजनीतिमा अहिले नमुना सहर बनाउने भन्ने कुरा नसा जस्तै भएको छ । सबैले नमुना सहर बनाउने भन्नु हुन्छ तर त्यहाँको प्राकृतिक स्रोत, मानवीय स्रोत, त्यहाँको क्षमता, अवसर र चुनौती के–के हुन् भन्नेबारे खासै चासो नदिएको देखिन्छ । अनि तपाईंले कसरी बनाउनु हुन्छ नमुना सहर ? यो तीन नम्बर प्रदेश देशकै त्यस्तो प्रदेश हो जहाँबाट मुलुकको कुल राजस्व सङ्कलमध्ये यो प्रदेशले मात्रै ४० प्रतिशत योगदान गर्दै आएको छ ।
 
यहाँ देशभर रहेका कुल १० वटामध्ये ८ वटा विश्वसम्पदा सूचीमा परेका सम्पदा छन् । हामीले त्यसको विकासका निम्ति दीर्घकालीन सोच राख्नु पर्दैन ? हामीले नमुना सहर बनाउने भन्दैमा बन्ने होइन । राष्ट्र निर्माणको कुरा भोट मागे जस्तो होइन । भोट नपाउँदा उम्मेदवार पराजित हुन्छ, सोच र इमानदारीता नपाउँदा राष्ट्र पराजित हुन्छ । विश्व मानचित्रमा हामी पराजित हुने कि नहुने भन्ने कुरा यही सोच र त्यसको कार्यान्वयनमा अडिएको छ । 
 
तपाईंले सोधेको अर्को कुरा के काठमाडौँभन्दा बाहिरको कुनै पनि भूभागले त्यहाँको जस्तो सम्भावना बोक्दैन ? भन्दा मलाई लाग्छ सबै ठाउँको भूगोलले त्यो सम्भावना बोक्छ । के तपाईं भन्न सक्नुहुन्छ कतारको रेतको कुनै मोल छैन, किनभने अफ्रिकामा खेती गर्न थालिएको छ । के तपाईं भन्न सक्नु हुन्छ, कर्णालीको भूगोलको कुनै मोल छैन किनभने हामीसँग काठमाडौं र जीरी छ । कुरा यो होइन । मैले माथि नै भनेँ कुरा त्यसको ऐतिहासिकता जोगाउँदै गरिने विकासको हो । त्यसको महत्व स्थापित गर्दै समृद्ध गर्ने हो । ३ नम्बर प्रदेश जसले सबै प्रदेशहरूलाई दिशानिर्देश गर्ने जिम्मेवारी बोकेको छ, उसले हलुका ढङ्गले, उसले सोचबिना केही पनि निर्णय गर्न मिल्दैन । रूपचन्द्र विष्ट जो हाम्रा अगुवा हुन्, उनले हामीलाई सिकाएका छन्, मान्छेले थाहा पाएन भने कसरी ऊ अन्धो हुन्छ भन्ने । हामीसँग देख्न सक्ने दृष्टि भएर मात्र हुँदैन हामीसँग त्यसलाई कार्यान्वयन गर्न सक्ने सोचसहितको ल्याकत पनि चाहिन्छ ।
 
त्यसैले मलाई के लागेको छ भने हामीले तीन नम्बर प्रदेशको राजधानी काभ्रे अथवा भक्तपुर बनायौँ र त्यसलाई भेनस सहर जसरी विकास गर्न सक्यौँ भने हामीले दोलखा, रामेछाप र रसुवालाई विद्युत उत्पादन केन्द्रको रूपमा स्थापित गर्न सक्यौँ भने, हामीले हेटौँडालाई मूलतः औद्योगिक नगरी र केही हदसम्म आधुनिक कृषि उत्पादनको थलोका रूपमा विकसित गर्न सक्यौँ भने, चीतवन र नुवाकोट, धादिङलाई कृषिजन्य सामग्री उत्पादन तथा पर्यटनको केन्द्र रूपमा स्थापित गर्न सक्यौँ भने बल्ल हामीले राष्ट्र निर्माणमा भूमिका खेलेको हुन सक्छ । होइन भने जनताले हामीलाई पत्याउने आधार के ? यसका लागि हामीले काठमाडौँदेखि बाहिर अन्तर प्रदेश विमानस्थल, व्यवस्थित सहरीकरण अनुरूप सहरको विकास गर्नुपर्ने आवश्यकता छ ।
 
प्रदेश नामाङकनबारे अनौपचारिक छलफल चलिरहेको छ, अधिकांशतः हामी के देख्छौँ भने धर्मनिरपेक्ष देशका विभिन्न गाविस, नगरपालिका लगायतका नाम हिन्दु देवी–देवताको नामबाट राखिन्छ यो त आफैले गरेको कामको विरुद्ध भएन र ? तपाईंहरूले आफ्नो प्रदेशको नाम के राख्ने सोच्नु भएको छ ?
 
तपाईंले निकै सान्दर्भिक कुरा उठाउनु भयो तर यो विषयले सदनमा औपचारिक प्रवेश पाइसकेको छैन । मलाई लाग्छ नामाङकनको विषय पनि सङ्घीयतालाई हामीले के आधारमा लागू गर्ने सोचेका थियौँ त्यसै आधारमा गर्नुपर्छ । ३ नम्बर प्रदेशको सीमाङकन के आधार गरिएको थियो भन्नेले नै यसको नामाङ्कनको विषयलाई प्रष्ट पार्छ जस्तो लाग्छ ।
यसको सीमाङकन दुई क्लस्टरलाई जोडेर गरिएको थियो, जसलाई आधार मान्दा हामीले ताम्सालिङ–नेवा अथवा नेवा–ताम्सालिङमध्ये कुनै एउटा राख्दा जायज हुन्छ जस्तो लाग्छ । यसको अलावा हामीले यहाँको प्राकृतिक विम्बलाई पनि नामाङ्कनको आधार मान्न सक्छौँ । त्यस हिसाबले नेपालको समय सूचकका रूपमा रहेको गौरीशङकर हिमाललाई पनि उपयुक्त ढङ्गले प्रयोग गर्न सक्छौँ ।
 
हिजोआज सबैजसो नेता, कार्यकर्ता, प्रशासनियक निकायका व्यक्तिहरूले समृद्धि, समृद्धि र समृद्धि मात्र भनेको सुनिन्छ । तर उनीहरू कसैले पनि समृद्धि कसका लागि, किन र कसरी भनेर भन्दैनन् । तपाईंको आफ्नो सोचमा यो प्रदेशलाई कसरी मानवीय विकास सूचकाङ्कमा उच्च बनाउने सोच्नु भएको छ ?
 
तपाईंले राम्रो विषयको उठान गर्नुभयो । हामीले भनेको समृद्धि सामाजिक न्याय सुनिश्चित हुने, स्रोत साधनहरूमा एउटा समुदाय, वर्गको होइन कि सबै समुदाय, वर्गको पहुँच हुने खालको समृद्धिको कुरा गरेको हो । त्यस्तो खाले समृद्धिलाई मैले साझा समृद्धि भन्ने गरेको छु । हामीले पुँजीवादी मोडेलको समृद्धिको कुरा गर्यौँ भने मोदीको गुजरात मोडेल, हुँदै अम्बानीको समृद्धिमा गएर त्यो समृद्धि टुङ्गिन्छ ।
 
हामी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको कुरा यहाँ सान्दर्भिक हुन आउँछ । समाजवाद पुँजीवादी मुलुकहरूले पनि भन्न सक्छन् तर त्यसले लिने नीति र कम्युनिस्टहरूले भन्ने गरेको समाजवादले लिने नीतिमा भिन्नता हुन्छ । हामी जनताको तल्लो तप्काले पनि आफ्नो अधिकार र साधनस्रोतमा पहुँच पाओस भन्ने हाम्रो उद्देश्य रहन्छ ।
 
समृद्धिकै नाममा आज विश्वको ९८ प्रतिशत जनताले उपभोग गर्ने साधान स्रोत जम्मा २ प्रतिशत मानिसहरूको हातमा छ । त्यसलाई भुलेर, नदेखेझँै गरेर हामीले कोरा समृद्धिको कुरा गर्न मिल्दैन । हामीले संविधानमा समाजवाद उन्मुख भनेर लेखेपछि त्यहाँसम्म जाने मोडालिटी के हुने भन्नेबारे पनि सोच्नैपर्छ । हाम्रो समृद्धि अर्को समुदायका लागि असमानता निम्त्याउने खालको हुनु हुँदैन । जस्तो कि अन्य केही देशहरूमा भइरहेका छन् ।
 
उनीहरू ड्याम बनाउन परेमा, प्राकृतिक साधनहरूको दोहन गर्न परेमा त्यहाँका आदिवासीहरूलाई उठाउँछन् । सडक फराकिलो पार्नु पर्यो भन्ने नाममा सडक छेउका गरिबहरूको झुप्रो भत्काउने गरिको समृद्धिको कल्पना हामीलाई कुनै नयाँ होइन । त्यसले समृद्धि होइन केही मानिसहरूका लागि पृथ्वी स्वर्ग र अधिकांश मानिसका लागि पृथ्वी नर्क बनाउने मोडेल अपनाइरहेको छ । म त्यस्तो खाले विकास मोडेलको पक्षमा छैन । त्यसैले हामीबीच साझा सोच र दायित्वको विकास हुनु जरुरी छ ।
 

विश्वको तुलनामा हामी सामान्यभन्दा सामन्य समस्यामा जेलिएका छौँ जस्तो लाग्छ । जस्तै, बोक्सीको नाममा हुने हिंसा, राजश्वला बार्ने नाममा हुने मृत्यु, सुत्केरीको राम्रो हेरचाहको अभावमा मृत्युदर बढी हुनु, अव्यवस्थित सहरीकरणका कारण मानिसहरूको जीवन व्यवहारमा आएको परिवर्तन, सडकजन्य दुर्घटनामा हुने मृत्यु, आर्थिक उपार्जनको अभावमा पढाइ छोड्न बाध्य हुनु आदि अब बन्ने प्रदेश सरकारले यस विषयलाई कसरी सुल्झाउनेछ ? के यस विषयमा केही छलफल भएको छ ?
 
यो प्रदेशमा तामाङ, नेवार, बाहुन, क्षेत्रीदेखि अति विपन्न तथा सीमान्तकृत चेपाङ हुँदै थामी, जिरेल, सुरेल समेतको बसोबार रहेको पाइन्छ । यहाँको शैक्षिक स्थितिको कुरा गर्ने हो भने १० कक्षासम्म अध्ययन गर्दै गरेका अधिकांशले स्नातकसम्मको यात्रा गर्न पाउँदैनन् । त्यसमा झनै महिलाहरूको स्थिति दयनीय नै छ । यस्तो किन भइरहेको छ भन्नेबारेमा हामीले एक पटक राज्यले यस विषयमा कस्तो नीति बनायो र कार्यान्वयन गर्यो भनेर हेर्नुपर्ने हुन्छ । त्यसैगरी सडक दुर्घटनामा मात्र अधिकांश मानिसहरूले ज्यान गुमाउनुपरेको छ । हाम्रो प्रदेश सरकारले र त्यहाँ सहभागी हुने सबै माननीयज्यूहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनु भएको होला भन्ने मेरो विश्वास छ ।
 
यस स्थितिलाई परिवर्तन गर्न हामीले ठोस कदम नचाली भएको छैन । अब धेरै ढिला भइसक्यो । अब पनि हामीले यसबारेमा नसोच्ने हो भने हामीले जनतालाई उन्नत गर्न, समाजिक चेतना निर्माणका लागि राजनीतिमा लागेको हो भन्ने अवस्था रहन्न । अहिले सरकार बनाउने विषयमा छलफल चलिरहेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार हामीले यो प्रदेशमा एमालेलाई समर्थन गरेका छौँ । यस प्रदेशको विकास र जनताको समृद्धिका लागि मूलभूत रूपमा वाम गठबन्धनद्वारा तयार पारिएको रोडम्यापलाई नै पच्छ्याउने हो तर त्यतिले मात्र पुग्छ भन्ने मलाई लाग्दैन । त्यसैले हामीले इतिहासबाट शिक्षा लिँदै आफ्नै पहलमा केही काम गर्नुपर्नेछ । त्यसका लागि हामीजस्ता साथीहरूले पनि उचित जिम्मेवारी पाउनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।
 
अन्त्यमा उप–महानगरपालिकाद्वारा सांसदहरूका लागि सहुलियतमा घडेरी र निवास उपलब्ध गराइने र त्यसमा सभासदहरूले सहमति थपेको कुरा सुन्नमा आएको छ के यो गर्न मिल्ने कुरा हो ?
 
पार्टीहरूले, तिनका नेताहरूले जे सोच्नुपर्ने हो त्यो सोच्न छाडेर अरू नै केही कुरा सोच्न र चिन्तन गर्न थालेपछि त्यसको प्रभाव यहाँसम्म र योभन्दा पनि तलसम्म देखिन्छ भन्नेमा म ढुक्क छु । भन्नुको अर्थ हाम्रा पार्टीहरूले, हाम्रा नेताहरूले उम्मेदवार बनाउने बेलामै गैरराजनीतिक व्यक्तिहरूलाई उम्मेदवार बनाइदिएपछि हुने निर्णयहरू यस्तै हुन् । यसमा मलाई हाम्रो निर्वाचन प्रणालीमा केही समस्या छ भन्ने लाग्छ । सही के हुन्छ, हामीले अझै अध्ययन गरेर सही बाटो पहिल्याउन पर्छ । तपाईंले जुन कुरा उठाउनुभयो, मैले यसबारे आधिकारिक केही पनि सुनेको छैन । मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हो । यदि त्यसो गरिएको हो भने मलाई लाग्छ यो आफ्नो अख्तियारीको दुरूपयोग हो । जनताको अदालतबाट हेर्दा यो अख्तियारीको ठाडो दुरूपयोग हो । त्यसो गर्न मिल्दैन । 

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X