शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाको प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट स्वदेश फिर्ता

सोमबार, २९ माघ २०७४, १६ : १४
सोमबार, २९ माघ २०७४

एजेन्सी– लोकतान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट आइतबार राति स्वदेश फर्किएको छ ।  प्योङचाङ शीतकालीन ओलम्पिक प्रतियोगिता २०१८ को उद्घाटन समारोहमा सहभागी हुन आएको टोली उच्चस्तरीय भेटघाट गरेर आइतबार फर्किएका छन् । 

उत्तर कोरियाको संसद्का प्रमुख तथा देशको राजनीतिक प्रणालीअनुसार आलङ्कारिक राष्ट्रपतिसमेत मानिनुहुने किम योङ नामको नेतृत्वमा उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया आएको थियो ।  प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको प्रथम उपनिर्देशक किम यो जोङ पनि सहभागी भएका थिए । 

उनीहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई उनकै कार्यालय ब्लु हाउसमा भेटवार्ता गरेको थियो ।  उक्त भेटवार्ताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणा पत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेका थिए । 

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्य समेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिए ।  सर्वोच्च नेता किमले जति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएका थिए । 

राष्ट्रपति मुन र भ्रमण टोलीकाबीचमा अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गरेका हुन् । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण र भेटवार्ता हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप