बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'नो गाँजा जोन'मा बाबाजीहरु लठ्ठ (फोटोफिचर)

सोमबार, २९ माघ २०७४, १३ : ५४
सोमबार, २९ माघ २०७४

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दर्शनका लागि आवश्यक सबै खालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए । 

कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक व्यवस्थापनसम्बन्धि व्यवस्था, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक व्यवस्था गरेको हो । जस अनुसार दर्शनका लागि पिंगलास्थान, उमाकुन्ड र मित्रपार्कबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

महाशिवरात्री मेलामा गाँजालगायतका नशालू पदार्थ सेवन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन हुनेछ । महाशिवरात्री मेलामा नशालु पदार्थ सेवन गर्न नदिने गरी सुरक्षाको उचित प्रबन्ध गरिएको पनि कोषका सदस्य सचिव ढकालले बताए । 

कोषले पशुपति मन्दिर परिसर भित्र गाजा, भाङलगायतका नशालु पदार्थ सेवन गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी दिएको छ । तर, मन्दिर परिसर क्षेत्रमा भारतबाट आएका बाबाजीहरुले खुलेआम गाँजा सेवन गरिरहेको देख्न पाइन्छ ।

सोमबारदेखि नै पशुपति क्षेत्र भित्र पर्ने रुटहरुमा मालबहाक तथा भारी सवारी साधनहरुलाई महाराजगंज–चक्रपथ–चावहिल प्रवेशमा रोक लगाइएको छ । कोषले आईतबारदेखि नै पशुपति क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गरेको छ । मेलामा आकस्मिक सेवा दिने गरी स्वयम सेवक र चिकित्सकहरुको व्यवस्था पनि गरिएको छ ।

यस वर्ष विशेष पासको भने व्यवस्था गरिएको छैन । आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीको समन्वयनमा विशेष व्यवस्था हुनेछ । कोषका सदस्य सचिव ढकालका अनुसार वृद्धवृद्धा, अशक्तहरुलाई आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीहरुले दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने छन । कोषले यस वर्ष १२ लाखसम्म दर्शनार्थी आउने अनुमान गरेको छ ।

यस वर्ष फागुन १ गते महाशिवरात्री मेला परेको छ । मेलाका लागि भारतबाट समेत साधुहरु आउने गरेका छन । उनीहरुलाई आवास र खानाको व्यवस्था समेत कोषले गर्ने गर्दछ । त्यसैगरी कोषले दर्शनार्थीहरुको स्वास्थ्यमा समस्या आए तत्काल उपचार गर्न आवश्यक स्वास्थ्य शिविर पनि संचालन गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप