बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डविना ‘मूलधार’को माओवादी बनाउने यस्तो कोसिस !

सोमबार, २९ माघ २०७४, १२ : ३२
सोमबार, २९ माघ २०७४

काठमाडौँ– एमाले र माओवादीबीच पार्टी एकताका लागि जति सघन संवाद भइरहेका छन्, त्यही स्तरमा प्रचण्डविनाको ‘मूलधार’को माओवादी बनाउने कोसिस पनि भएका छन् ।
यदि प्रचण्डले आफू नेतृत्वको माओवादीलाई एमालेसँग एकतामा लगे भने उनीविनाको माओवादी ‘मूलधार’को हुन्छ कि हुँदैन, यो चाहिँ अर्कै बहसको विषय हो ।

देशमा तीनवटै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावपछि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ‘नाटकीय’ निकटता देखा पर्यो ।
घटनाक्रमहरू हेर्दा ती सबै ‘मूलधार’को माओवादी बनाउने एउटा कोसिस जस्तो देखिन्छ ।

यी दुवै नेताले प्रचण्ड नेतृत्वको माओवादीले जनयुद्धकालीन मुद्दा छाडेको र त्यसको विरासत आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् ।

‘नाटकीय’ यसकारण कि वैद्यको पार्टीले तीनवटै चुनाव उपयोग गरेको थियो भने विप्लवको पार्टीले बहिष्कार । तर, वैद्य माओवादीले पनि चुनावलाई ‘क्रान्तिकारी उपयोग’को नारा दिएको थियो । यद्यपि त्यसअघि पनि उनीहरूबीच केही मुद्दामा सहकार्य भएको थियो ।

चुनावसम्म जेसुकै भए पनि यी दुई पार्टीबीच पार्टी एकताका लागि सघन संवाद भएका छन् । यद्यपि एकताले मूर्त रूप लिन्छ कि लिँदैन, त्यसबारे भने अहिले नै भन्न सकिने अवस्था छैन । एमाले र माओवादीबीच वाम गठबन्धन हुँदै जसरी पार्टी एकताका लागि संवाद वाक्ला भए, वैद्य र विप्लव पनि नजिक देखिन थाले । कतिपयले यसलाई माओवादी र एमालेबीच एकता भए मूलधारको माओवादी गठनको प्रयासका रूपमा हेरेका छन् ।

एकताका लागि कोसिस
–पछिल्लो पटक माघ २५ गते वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा विज्ञप्तिमा निकाल्दै तत्काल एकताको पहल गर्ने उल्लेख गरे ।
‘कथित संविधानको कार्यान्वयनको सन्दर्भमा संसदवादी दलहरूले तीनै तहका निर्वाचनद्वारा नेपालमा प्रतिक्रान्ति पूरा गर्ने धृष्टता गरिराखेका छन्  राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरू थप गम्भीर बनेका छन् । यो स्थितिले राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरूका बीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही सावित भएको छ र यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।’ वैद्य र विप्लवको विज्ञप्तीमा छ ।

यस अगाडि यी दुवै पार्टीले प्रदेश र प्रतिनिधिसभाको चुनावलगत्तै आआफ्नो पार्टीको वैठक बोलाएका थिए । त्यसपछि दुवै पार्टीका शीर्ष नेताहरूबीच बैठक भयो । उनीहरूले तत्कालीन राजनीतिक अवस्थाले क्रान्तिकारी शक्तिहरूबीचको एकता अनिवार्य बन्न गएको निष्कर्ष निकाले ।

जस्तो कि पुस ९ गते वैद्य र विप्लवले जारी गरेको संयुक्त विज्ञप्तीमा क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा धु्रवीकरण गर्न अनिवार्य आवश्यकता बन्न पुगेको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको थियो– ‘कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरूबीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन् । त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको भने नेपाली काङ्ग्रेसले दलाल पुँजीवाद तथा पश्चगामी पार्टीहरूलाई गोलबन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा धुव्रीकरण गर्न अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’

पुस ६ देखि ९ सम्म वैद्य पार्टीको केन्द्रीय समितिको वैठक बसेको थियो र त्यहीबीचमा वैद्य र विप्लव पार्टीका शीर्ष नेताबीच पनि संवाद भएको थियो । त्यसपछि संयुक्त विज्ञप्ती आएको थियो ।

वैद्य माओवादीको पनि भिन्दै विज्ञप्ती आएको थियो पुस ९ मा नै । विज्ञप्तीमा एकतामा जोड दिँदै भनिएको थियो, ‘सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने उद्देश्यमाथि जोड दिँदै माक्र्सवाद–लेनिनवाद–माओवादको पथ प्रदर्शनमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादमा जानचाहने कम्युनिस्ट समूहहरूसित वार्ता, संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ ।’

चुनाव अगाडि यी दुई पार्टीका नेताहरू पोखरामा एकै पटक आआफ्ना पार्टी वैठकमा व्यस्त थिए । जतिबेला देशमा वाम र लोकतान्त्रिक गठबन्धनबीचको राजनीतिक धु्रवीकरणले तरङ्ग पैदा गरिरहेका थियो, त्यही बेला वैद्य र विप्लव भने पोखरामा व्यस्त थिए ।

असोज अन्तिम साता पोखरामा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी राष्ट्रिय सम्मेलन भएको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पनि पोखरामा केन्द्रीय समितिको वैठक भएको थियो । केन्द्र र प्रदेशको चुनावको मिति घोषणा भएको अवस्थामा नयाँ रणनीति बनाउन वैद्य माओवादी सम्मेलनमा जुटेको थियो ।

पछिल्लो पटक परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक भएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पोखर वैठक प्रदेश र केन्द्रको चुनावमा कसरी रोक्ने भन्ने रणनीति बनाउन बसेको थियो । पोखरा वैठक भन्दा अगाडि सो पार्टीको साउनमा बनेपामा वैठक बसेको थियो ।

गत असोजमा पोखरामा भएको राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै वैद्यले क्रान्तिकारी पार्टीहरूबीच एकता हुने बताएका थिए । उनले त्यहाँ क्रान्तिकारी शक्तिहरूबीच एकता गर्न विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने बताएका थिए ।

‘क्रान्तिकारी पार्टीहरूबीच एकता हुन्छ ।  यसका लागि विप्लव र ऋषि कट्टेलको  नेकपासँग कुराकानी भएको छ । छलफललाई  छिट्टै नै निष्कर्षमा पुर्याएर एकता गर्छौं ।’ वैद्यको भनाइ थियो ।

एकता दुवैको खाँचो
 

एकता वैद्य र विप्लव दुवैका लागि खाँचो जस्तो देखिन थालेको छ ।
 

वैद्यलाई झ्टका
वैद्य माओवादी चुनावमा जान त्यति इच्छुक थिएन । यसका लागि वैद्यले एउटा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति अर्थपूर्ण छ ।

असोज २२ देखि २६ गतेसम्म मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भयो ।

राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न सो पार्टीले पार्टी मुख्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई व्यङ्ग्य गर्दै वैद्यले भनेका थिए, ‘हामी सुँगुरको खोरमा जान थालेका छौँ ।’

क्रान्तिका लागि चुनाव उपयोग गर्न थालेको बताउँदै उनले भनेका थिए, ‘यो संसदीय चुनाव सुँगुरको खोर हो । हामी पनि सुँगुर खोरभित्र पस्न थालेका छौँ । तर, यो हामीले क्रान्तिका लागि गर्दैर्छौं ।’

वैद्यको यो भनाइले उनको पार्टी साङ्गठिनक र राजनीतिक दुवै हिसाबले तयारीविना चुनावमा जान लागेको सङ्केत गरेको थियो । उनीमाथि चुनाव उपयोगको दबाब पनि थियो ।

देशभक्त गणतान्त्रिक मोर्चामार्फत वैद्य माओवादी चुनावी मैदानमा उत्रेको थियो । तर देशभर एक करोड ५ लाख मत खस्दा यो मोर्चाले १३ हजार नौ सय ४२ मत अर्थात सदर मतको शून्य दशमलव १५ प्रतिशत भोट पायो ।

स्थानीय तहमा पनि भाग लिएको यो मोर्चालाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीको शानदार प्रदर्शन हुन्छ भन्ने लागेको चाहिँ थिएन । जे जति मत आयो, यो चाहिँ वैद्य पार्टीका लागि सुखद थिएन र सम्मानजनक पनि । चुनावले वैद्य माओवादीको सङ्गठनको हैसियत पनि उजागर गरिदियो ।

त्यसपछि वैद्य माओवादीभित्र एक्लै केही गर्न सकिन्न भन्ने दबाब पैदा भएजस्तो देखिन्छ ।

प्रचार भयो तर चुनाव रोकिएन
एकातिर वैद्यको पार्टीले चुनावमा कमजोर उपस्थित गर्यो भने अर्कोतिर नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजको नारासहित प्रदेशसभा र प्रतिनिधिसभा चुनाव बहिष्कार गर्यो ।

नेपाल कम्युनिस्ट पार्टीको बहिष्कार सामन्य थिएन, सकेसम्मको कोसिस गर्यो । दर्जनौँ ठाउँमा चुनाव विरोधी गतिविधि गर्यो ।

यो पार्टीले चुनाव भाड्न कतै बम पड्कायो, कतै चुनावी सभा र अभियानलाई अवरोध गर्न खोज्यो । तर, विप्लव पार्टीका कारण चुनाव रोक्नुपर्ने अवस्था आएन । यो पार्टीले चुनावमा जे जति बम पड्कयो, त्यसको औपचारिक जिम्मा लिएन । बरु, जनताले गरेको प्रयत्न मात्र भन्यो ।

प्रशासनले नेपाल कम्युनिस्ट पार्टी धेरै नेता–कार्यकर्ता पक्राउ गर्यो । यसैबीच मङ्सिर १० र २१ गरी दुई चरणमा चुनाव सम्पन्न भयो ।

चुनावसम्म आउँदा विप्लवको एकीकृत क्रान्तिमाथि पनि त्यही पार्टीभित्र प्रश्न उठन थाल्यो ।


 
अब सडकमा भेट्ने ठाउँ
चुनावको उपयोग गरेको वैद्य माओवादी र बहिष्कार गरेको नेपाल कम्युनिस्ट पार्टी अब पाँच वर्ष संसदीय राजनीतिबाट टाढा भए । अब उनीहरूका लागि राजनीतिक मुद्दा उठान गर्ने ठाउँ सडक मात्रै हो ।

सडकमा सानो शक्तिको उपस्थितिले राज्यलाई दबाब बनाउन कठिन हुन्छ । यो कुरा वैद्यले पनि महसुस गरेका हुन सक्छन् र विप्लव पनि ।

अनि त चुनावका बेला आआफ्नो बाटो लागेका वैद्य र विप्लव चुनाव सकिएपछि फेरि एकै ठाउँ उभिने कोसिसमा जुटे ।

चुनावमा भाग लिएपछि सम्मानजनक मत नपाएको वैद्य पार्टी र चुनाव भाड्न खोजे पनि नसकेको विप्लव पार्टीबीच बढ्दो निकटतामा यसले काम गरेको हुन सक्छ ।

सङ्घर्षका लागि मुद्दा तय
दुवै पार्टीले सङ्घर्षका लागि मुद्दा पनि तय गरेका छन् ।

राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको सङ्घर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणमा उनीहरूको जोड छ ।

 तत्काल कार्यगत एकताको पहल गरी संयुक्त सङ्घर्षलाई अगाडि बढाउने उनीहरूको तयारी छ ।

वैद्य र विप्लवले सङ्घर्षका लागि तय गरेका मुद्दा छन् ।

–साम्राज्यवादी शासकहरूले आआफ्ना दलाल तथा भरौटेहरूको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएका छन् । यो प्रक्रियामा मुख्यतः भारतीय शासकवर्गले १९५० को असमान सन्धि र अन्य विविध सम्झौताहरूमार्फत् नेपाली जलस्रोतमाथिको हस्तक्षेप, सीमा अतिक्रमण र व्यापारिक हस्तक्षेप बढाउँदै लगेको छ ।

–माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने देउवा सरकारको पछिल्लो निर्णय, वीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक आदि कुराले स्थितिलाई अरू गम्भीर बनाएको छ ।

–खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको मूल्य आकासिँदो छ । बेरोजगारीका समस्या विकराल छन् र कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गरेको छैन ।

–यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित वाम गठबन्धनका नेताहरूले देखाएको निकृष्ट दलालीको रवैयाबाट प्रस्ट हुन्छ ।

–यस स्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरूसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको छ ।

संयुक्त कार्यक्रम
–दुवै पार्टीले संयुक्त सङ्घर्ष मात्रै होइन, संयुक्त कार्यक्रम पनि आयोजना गर्ने भएका छन् । जस्तो कि उनीहरूले फागुन १ गते जनयुद्ध दिवस तथा फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहलाई केन्द्र र जिल्लामा संयुक्त रूपमा मनाउने निर्णय गरेका छन् ।

एकतबारे वैद्य माओवादी र विप्लव पार्टीका नेता के भन्छन् ?
 
सीपी गजुरेल, नेकपा क्रान्तिकारी माओवादी : अहिले नै पार्टी एकता हुन्छ भन्ने छैन । 
हामीले अहिलेको राजनितिक परिस्थिका साथै विगतमा एक अर्काले गरेका गतिविधि समेतलाई मूल्याङ्कन गर्यौँ । विगत र अहिलेको राजनीतिक परिस्थितिलाई मूल्याङ्कन गर्दा दुवै पार्टीबीच कार्यगत एकता, संयुक्त मोर्चा र सकेसम्म पार्टी एकता आवश्यक छ भन्ने हामीलाई महसुस भएकै हो ।

विगतमा विप्लवजीहरू अगल भए पनि उहाँहरूलाई वामपन्थी शक्तिको रूपमा नै मानेका थियौँ । दुवै पार्टीबीच एकप्रकारको सम्बन्ध कायम नै थियो ।

तत्काल हाम्रो विचार र कार्यदिशामा केही अन्तर कायम नै छ । यसले अहिले नै पार्टी एकता हुन्छ भन्ने छैन । अब कार्यगत एकता, संयुक्त मोर्चा बनाएर जाने सिलसिलामा मतभिन्नताको विषयमा छलफल, बहस गर्दा विचार, राजनीतिक लाइन र कार्यदिशा मिल्यो भने पार्टी एकता हुन्छ ।

पार्टी एकता गर्दा अव हामीमा साङ्गठनिक समस्या हुँदैन । अहिले हामीले सङ्गठन निर्माण गर्दा पार्टी सङ्गठनलाई सकेसम्म चुस्तदुरुस्त बनाएका छौँ । विप्लवजी पनि त्यस्तै देखिन्छ, त्यसले पार्टी एकतामा समस्या आउँदैन ।

पार्टी फुटेर हामी क्रान्तिकारीहरूको आत्मगत स्थिति कमजोर भयो भन्ने हामीलाई महसुस भएको छ । त्यो वास्तविकता हो यसलाई हामी लुकाउँदैनाँै । हामी एकता महसुस गरेर निरन्तर छलफल अघि बढाएका हौँ ।   
 
 
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत वम : म पार्टी एकता हुनेमा विश्वस्त छु  ।
बुढाहरूले क्रान्ति गर्न सक्दैनन् भन्ने बाहिर आएको अनधिकृत कुरा मात्र हो ।

नेपालको अहिलेको राजनीतिक अन्तरविरोध र परिस्थितिलाई कसरी बुझ्ने र त्यसलाई कसरी ह्यान्डलिङ गर्ने भन्ने कुरामा केही मदभेद भएर छुट्टिएका हौँ ।

नेपालका कम्युनिस्टमा विडम्बना के भने हतार हतारमा एकता गर्ने गर्छौं । हतार हतारमा फुट्ने प्रवृत्ति छ, त्यो गलत हो । अहिले हामी सबैले महसुस गरेको कुरा पनि हो ।

विचार, राजनीतिक आधार साथै नेपालको प्रतिरोधात्मक परिस्थितिलाई बुझ्ने आधारभूत कुराहरू र दृष्टिकोणमा समानता भयो भने हामीबीच पार्टी एकता हुन्छ । म पार्टी एकता हुनेमा विश्वस्त छु ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा मुख्यत पदीय भागवन्डा, अझ भनौँ संसदीय प्रयासमा रहेका अथवा पुँजीवादी राजनीतिको प्रभावमा रहेको पार्टीहरूमा साङ्गठनिक समस्या देखिएको छ । तर क्रान्तिका लागि एकता गर्ने क्रान्तिकारी कम्युनिस्टहरूको बीचमा एकता गर्ने भएकाले साङ्गठनिक कुरा ठूलो विषय होइन ।

मूलतः नेपालको कम्युनिस्ट पार्टीहरूमा सबैले पुरानो कार्यदिशाबाट क्रान्ति सम्भव छैन भन्ने बुझेका छन् ।

हामी मालेमावादको सार्वभौम सिद्धान्तमा आधारित रहेर, अहिलेको विकसित परिस्थितिलाई सम्बोधन गर्दै त्यसैको आधारमा नै एकीकृत जनक्रान्तिको संश्लेषण गरिएको छ ।

त्यसैले हामीबीच कार्यदिशमा विवाद हुँदैन ।
 
 
कार्यदिशा र कार्यशैली फरक
–वैद्यले जनवादी क्रान्तिको कार्यदिशा नै अगाडि सारेका छन् भने विप्लवले एकीकृत क्रान्तिको । यस्तो अवस्थामा यी दुई पार्टीबीच एकीकरणका लागि बेलाबेला संवाद हुने गरेको छ । दुवै पार्टीले पार्टी प्रमुखलाई महासचिव बनाएका छन् । नेकपाका केन्द्रीय नेता अर्धभूमिगत छन् ।

–कार्यशैलीमा पनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच फरक छ । जस्तो कि, पछिल्लो पटक नेकपाले माघ २३ गते मात्रै आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेको थियो । यस अगाडि पनि उसले यस्ता खालका घटना घटाउँदै आएको छ । तर, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीले भने शान्तिपूर्ण सङ्घर्ष गर्दै आएको छ ।

विगत पनि रमाइलो छ
–प्रचण्ड नेतृत्वको माओवादीसँग वैद्य र विप्लवसँगै अलग भएका थिए ।

–प्रचण्डसँग अलग भएपछि ०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भएको थियो ।

–विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रूपमा प्रस्तुत गरियो ।

–त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए ।

–तर, विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध–विच्छेदको पत्र बुझाए ।

–लगत्तै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे ।

–दुईवटा फरक–फरक पार्टी भए पनि वैद्य र विप्लवले बेला–बेलामा कार्यगत एकतादेखि पार्टी एकतासम्मका लागि संवाद गर्दै आएका थिए ।

–चुनावपछि उत्पन्न राजनीतिक शक्ति सन्तुलनपछि फेरि वैद्य र विप्लवले एकताको गृहकार्य सुरु गरे ।

–विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र गत वर्ष फागुन पहिलो साता रोल्पाको थवाङमा भएको थियो ।

–आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

–प्रतिवेदनमा उनले पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखेका थिए । पछि यसलाई अनुमोदन गरिएको थियो । उसले हेमन्तप्रकाश वली नेतृत्वको कम्युनिस्ट न्युक्लियस नेपालबीच पार्टी एकता पनि गर्यो ।
 
प्रचण्डको आफ्नै दाबी
प्रचण्डले भने बेलाबेलामा वैद्य र विप्लव दुवै आफूले नेतृत्व गरेको मूलधारको माओवादीमा फर्कने दाबी गर्दै आएका थिए । तर, एमालेसँग एकताका लागि संवाद भएपछि प्रचण्डको यस्तो अभिव्यक्ति आउन छाडेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप