बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के हो मधुमेह ? यस्ता छन् बच्ने उपाय

आइतबार, २८ माघ २०७४, १३ : १५
आइतबार, २८ माघ २०७४

काठमाडौँ । नेपालमा हाल अनुमानित तथ्याङ्कलाई मान्ने हो भने ९ लाख मधुमेहबाट पीडित छन् । यस्तै ३० लाख नेपाली  मधुमेह रोगको नजिक रहेका छन् । परिवर्तनशील जीवनशैलीका कारण बढी मात्रमा सहरी क्षेत्रका नागरिक यो रोगबाट प्रताडित छन् । हामीले मधुमेह, रोगथाम, यसबाट बच्ने उपाय र मधुमेह भएका व्यक्तिले अपनाउनु पर्ने कुराहरूको बारेमा डा. जया प्रधानसँग कुराकानी गरेका छौँ । डा. प्रधान पीके क्याम्पसका सहप्राध्यापक तथा डाइबिटिज नेपालको कोषाध्यक्ष हुन् ।      

मधुमेह के हो ?

सामान्य शब्दमा भन्दा हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । जुन ग्लुकोज प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन नामका ग्रन्थिले रसलाई कोषहरूमा पुर्याउने र यी कोषहरूमा ग्लुकोजको शक्तिमा परिणत भई शरीरका विभिन्न कार्यहरू संचानमा मद्दत पुर्याउँछन् । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुनाले वा प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुनाले रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ ।

मधुमेहका प्रकार
यीबाहेक पनि सेकेन्डरी डाइबिटिज विविध कारणले हुन सक्छ । हर्माेनको कार्यमा गडबडी हुनाले, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थिमा सङ्क्रमण हुँदा पनि मधुमेह हुनसक्छ । हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मुधुमेह भएको तथ्याङ्कले जनाएको छ ।

यस्ता व्यक्तिलाई मुधुमेह हुने बढी सम्भावना हुन्छ

— तपाईंको परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा ।

— शरीरको तौल बढी भएमा वा बी.एम.आई. (शरीरको तौल, केजी, उचाइ (मिटर) २) २२.९ भन्दा कम बढी भएमा ।

— कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा ।

— निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा ।

— गर्भवती अवस्थामा मधुमेह भएमा ।

— रगतमा चिल्लोको मात्रा बढी भएमा ।

— उच्च रक्तचाप भएमा ।

— मानसिक तनाव एवम् चिन्ता भएका व्यक्तिहरूलाई मधुमेहको रोग लाग्ने सम्भावन बढी हुने डाइबिटिज नेपालकी कोषाध्यक्ष जया प्रधानले बताइन् ।

 

मधुमेहले निम्त्याउनसक्ने समस्या

मधुमेह भएका रोगीलाई मस्तिष्कघात, हृदयघात, अन्धोपन, स्नायुसम्बन्धी समस्या र मिर्गाैलासम्बन्धी समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् । त्यस कारण मधुमेहका बिरामीले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । मधुमेह रोगको बारेमा शिक्षा लिने, सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने यस्तै औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिन्छ ।

 

मधुमेहबाट बच्ने उपाय

— मधुमेहबाट बच्नका लागि रगतमा चिनी, ग्लुकोजको परिमाण ठीक मात्रामा राख्नु पर्छ । जस्तै (खाली पेटमा ७०–१२० मि.ग्राम÷डे.लि र खाना खाएको २ घण्टा पछि १८०.मि.ग्राम÷डे.लि. भन्दा कम सकेसम्म १४० र मि. ग्राम÷ड.लि.भन्दा कम राख्नु पर्छ ।

— उचाइ अनुसार शरीरको तौल ठीक मात्रामा राख्नु पर्छ ।

— रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।

तपाईंलाई मुधुमेह भएको छ भने नियमित यो जाँच गराउनुस्

मधुमेह भएका व्यक्तिले नियमित स्वास्थ्य जाँच गर्दा मधुमेहबाट हुनसक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । जसका लागि तपाईंले खाली पेटमा र खाना खाएको २ घण्टापछि रगतको जाँच गर्नुपर्छ । यस्तै प्रत्येक ६ महिनामा एच.बी.ए.आई.सी. गर्नुपर्छ । तपाईंलाई मधुमेह भएको छ भने प्रत्येक वर्ष लिपिङ प्रोफाइल, मिर्गाैला, कलेजो, थाइराड, आँखा, मुटु र पिसाबको रुटिन जाँच गर्नुपर्ने हुन्छ ।

यस्ता खानपिनमा ध्यान दिनुहोस्

— खानपानबाट प्राप्त हुने पौष्टिक तत्वहरू– कार्बाेहाइड्रेट, प्रोटिन र चिल्लो शक्तिको स्रोत भएको हुनाले यस प्रकारको र परिमाणमा ध्यान दिन जरुरी हुन्छ ।

(क) कार्बाेहाइड्रेट– जटिल प्रकारको कार्बाेहाइड्रेटयुक्त खाद्य पदार्थ, पूरै अन्न र यसबाट बनेको परिकार, साग, तरकारी (माडयुक्त तरकारीबाहेक) ताजा फलफूल, दाल गेडागुडी ठीक परिमाणमा दैनिक खानामा समेट्नु पर्छ ।

(ख) प्रोटिन— पूर्ण प्रोटिनयुक्त, जस्तै बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध तथा दाल, गेडागुडी आदि ठीक मात्रामा प्रयोग गर्नुपर्छ  ।

(ग) उमेर र शारीरिक क्रियाकलाप तोकिएको क्यालोरीको परिमाणअनुसार प्राप्त हुने किसिमले खानपानको व्यवस्था गर्नु पर्छ ।

— तपाईंले दैनिक खाने खानामा प्राप्त हुने सबै प्रकारका पौष्टिक तत्वहरू, कार्बाेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठीक परिमाणमा प्राप्त हुने गरी सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ ।

—हरेक पटकको छाक नछोडी नियमित रुपमा ठीक समयमा खान खानु पर्छ, भोकै बस्नु हँुदैन ।

— मधुमेह भएका व्यक्तिले नियमति तथा पटक पटक गरी खानुपर्छ । तर हरेक पटकको खानाको प्रकारबाहेक परिमाणमा विशेष ध्यान दिनुपर्छ । अन्यथा बढी खानाले स्वस्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक प्रधानको भनाइ रहेको छ ।

— गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जाम, जेली, चकलेट, जुस आदि कार्बाेहाइड्रेट खानेकुरा नखाँदा नै राम्रो हुन्छ । यस प्रकारको खानाले शरीरमा चिनीको मात्रा बढाउँछ ।

— दैनिक खानामा हरियो सागसब्जी तथा मौस अनुसारको फलफूल सिफारिस गरिए अनुसारको समावेश गर्नुपर्छ ।

— खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गर्दा सफा, शुद्ध पानी पनि प्रशस्त पिउनु पर्ने हुन्छ ।

— बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाएको खाना खाँदा राम्रो हुन्छ ।

— रेस्टुरेन्ट, होटलमा खाँदा विशेषतः कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिनुपर्छ ।

— औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सबाट प्राप्त सिफरिस अनुसार खानाको तालिका मिलाउँदा राम्रो हुन्छ ।

— नुनको प्रयोगमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

— धूमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनु पर्छ ।

— सम्बन्धित विशेषज्ञ तथा चिकित्सकको सल्लाहअनुसार उपचार व्यवस्थापन विधि उपनाउनु पर्छ ।

— मधुमेहको नियन्त्रण एवम् व्यस्थापनमा कुनै पनि विधि जस्तै व्यायाम, औषधिको सेवन तथा इन्सुलिनको प्रयोग गरेको अवस्थामा माथि जानकारी गराएको खाना सम्बन्धी कुरालाई मनन गर्न सकेको खण्डमा एकातिर औषधिको प्रयोगमा न्यूनीकरण गर्न सकिन्छ भने अर्काेतिर मधुमेह हुने अन्य जटिल स्वास्थ्य समस्याबाट बच्न तथा त्यस समस्यालाई कम गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप