बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ग्राउन्ड ६ : सुर्खेतमा घरबेटीले कोठाभाडा बढाएपछि सांसद आक्रोशित (भिडियोसहित)

आइतबार, २८ माघ २०७४, ११ : ४५
आइतबार, २८ माघ २०७४

सुर्खेत– प्रदेश नं. ६ को राजधानी वीरेन्द्र नगर सुर्खेतमा यतिबेला प्रदेशसभा सांसदको जमघट छ । ४० जना प्रदेश सांसदमध्ये केही अझै होेटलमा कोठा बुक गरेर बसिररहेका छन् भने धेरैजसोले बसोबासको व्यवस्था मिलाएका छन् । केहीले सुर्खेतको वीरेन्द्रनगरमा रहेका आफन्तका घरमा डेरा जमाएका छन् भने केहीले कोठामा भाडामा लिएर बस्न सुरु गरेका छन् ।

सरकारले वीरेन्द्रनगरलाई अस्थायी राजधानी तोकेर प्रदेशका प्रशासनिक कार्यालय खडा गर्न सुरु गरेपछि यहाँ सांसदहरूले बसोबास लागि ठाउँ खोजेका थिए ।

प्रदेश नं. ६ का १० जिल्लाका ४० सांसद यतिबेला वीरेन्द्रनगरमा केन्द्रित भएका छन् । भोलि अर्थात माघ २९ गते यहाँ सभामुखको निर्वाचनको कार्यक्रम रहेको छ ।

‘बजारमा हिँड्यो भने सांसदसँग ठोक्किने डर छ, जता हेर्यो उतै सांसद छन् ।’– एक स्थानीयले भने । यहाँ प्रदेशसभाका मात्र नभई राष्ट्रिय सभा र प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको पनि बाक्लै उपस्थिति रहेको छ ।

सांसदलाई कोठा महँगो

 

शनिबार साँझ वीरेन्द्रनगर सडकमा भेटिए कालिकोट प्रदेश ‘क’का सांसद कर्मराज शाही । २ हप्ताअघि उनले ३ कोठा भाडामा लिएका छन् । घरबेटीले महिनाको १० हजारमा ३ कोठा दिएका छन् । तर सुर्खेतमा यो भाडा निकै महँगो भएको उनले बताए । सुर्खेत प्रदेश राजधानी बन्ने भएपछि घरबेटीले भाडा बढाउन थालेको उनको दाबी छ । घरबेटीले घरभाडा बढाउन थालेपछि आफूले घटाउन प्रयास गर्ने उनले बताए ।

उनले भने– ‘अस्थायी राजधानी हुँदैमा कोठा भाडा बढाउन हुँदैन, यो राम्रो कुरा होइन, पहिला सस्तो थियो अहिले महँगो छ । कोठा पाउन सजिलो छ तर भाडा तिर्न गाह्रो ।’

घरबेटीले सुरुमै चर्को भाडा लिएकाले समस्या परेको उनले बताए ।

एमालेको समानुपातिक प्रणालीबाट निर्वाचित सांसद पद्मा खड्काको घर सुर्खेत हो । यसकारण उनले कोठा भाडामा लिनुपरेको छैन । तर अलि विकट जिल्लाबाट आउने सांसदले समस्या भोग्नुपरे पनि बजारमा सांसदले कोठा नपाएको, बढी भाडा तिर्नुपरेको भन्ने हल्ला मात्र भएको उनले सुनाइन । निर्विकल्प सुर्खेत नै प्रदेश राजधानी हुने भए पनि सांसदहरूलाई सरल घर भाडा दिलाउन आफू लागिपर्ने उनले बताइन् ।

डोल्पाका सांसद नन्दसिंह बुढा १० दिनदेखि वीरेन्द्रनगरस्थित होटल अशोकामा बसेका छन् । सुर्खेतमा एक्कासि कोठाभाडा बढेको उनले बताए । उनले भने– ‘पहिला २ हजारमा पाइने एउटा कोठालाई अहिले ३ हजार, ३५ सय भन्न भन्न थाले । केन्द्र हुने भएपछि मान्छे बढ्छ भनेर भाडा बढाएका होलान् । अरू माननीयहरूले पनि कोठा भाडा बढेको बताइराख्नु भएको छ ।

उनी पनि अब कोठा खोज्ने तयारीमा लागेका छन् । सुर्खेतमा सरकारी भवन पनि प्रशस्त रहेका कारण खाली भवनलाई संसद क्वार्टर बनाउन उनको सुझाव छ । सरकार नबनुन्जेल कोठा खोजेर भाडामा बसोबास गर्नुको विकल्प नरहेको, पछि बसोबासको व्यवस्था मिल्ने उनले बताए ।

डोल्पाबाट एमालेकी समानुपातिक सांसद पद्मा बोहोरा पनि अहिले होटल अशोकामा बस्ने गरेकी छिन् । शनिबार उनी कोठा खोज्न सुर्खेत बजार गएकी थिइन् । कोठा पनि पाइयो तर काठमाडौँको भन्दा पनि महँगो भएको उनले बताइन् । गत २१ गतेदेखि उनी होटलमा बस्दै आएकी छिन् । एउटा फ्ल्याटको १५ देखि २० हजारसम्म मागेपछि उनले संसदीय दलको नेता यमलाल कँडेललाई गुहारेकी थिइन् ।

होटलमा सांसदलाई ‘नो डिस्काउन्ट’

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्नेवित्तिकै कतिपय प्रदेशका होटल व्यवसायीले सांसदहरूलाई खाना र आवासमा छुटको अफर सार्वजनिक गरेका थिए । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडा तोकेपछि त्यहाँका होटल व्यवसायीहरूले खाना र आवासमा १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेका थिए । यस्तै प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि उत्साहित भएका त्यहाँका होटल व्यवसायीहरूले हेटौँडाको जस्तै छुटको उपहार दिएका थिए ।

तर वीरेन्द्रनगरमा रहेका होटल व्यवसायीले भने सांसदलाई छुटको व्यवस्था गरेनन् । कारण सुर्खेतबाहेक प्रदेश नं. ६ को राजधानीको विकल्पमा अर्को नहुनु र सुर्खेत राजधानी बनाउनेमा सबैतिरबाट सर्वसहमती जुटेपछि ढुक्क भएका हुन् । जसकारण उनीहरूले छुटको बहार ल्याएर सांसदलाई फकाउने कष्ट गरेनन् ।

वीरेन्द्रनगरमा रहेको फूलबारी होटल तथा गेस्ट हाउसका सञ्चालक जितबहादुर रानाले आफ्नो होटलमा केही सांसद बस्न आए पनि छुटको व्यवस्था नगरेको बताए । उनले अन्य होटलले पनि यस्तो अफर नगरेको बताए । यहाँस्थित सम्राट होटल, मनकामना होटल, सिद्धार्थ होटल, सुमेरु होटल लगायतमा सांसदहरूले बसोबास गर्ने गरेका छन् ।

भिडियो नखुले यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप