शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलेजोबारे जान्नैपर्ने तथ्य

शनिबार, २७ माघ २०७४, ११ : १२
शनिबार, २७ माघ २०७४

केही दिनअघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल २५ प्रतिशत कलेजोले बाँचिरहेको सार्वजनिक गरे । थाहा पाउँदा ७५ प्रतिशत कलेजो बिग्रिसकेको अवस्था रहेको र बाँकी २५ प्रतिशत जोगाएर आफू बाँचिरहेको उनले बताएका थिए । तर, के बिग्रिएको कलेजो जोगाउन सकिन्छ ? कलेजोबारे जान्नैपर्ने तथ्य :

प्रा.डा. अनिल मिश्र
कलेजो रोग विशेषज्ञ

-कलेजोमा समस्या देखिए जटिल अवस्थामा पुग्न नदिन समय–समयमा रक्तपरीक्षण गराइराख्नुपर्छ । कलेजोलाई हानि हुने औषधि प्रयोग गर्नुहुँदैन ।

-कलेजो यस्तो महत्वपूर्ण अंग हो, जसले खाएको खाना पचाएर शरीरमा पोषण दिन भूमिका खेल्छ । हाम्रो शरीरको २२ फिट लामो आन्द्राभित्र हुने सम्पूर्ण पाचन क्रिया मिलाउने काम कलेजोले नै गर्छ । कलेजो बिग्रियो भने कब्जियत तथा अपचको समस्या निम्तिन्छ ।

-शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्रिएको संकेत हो ।

-कलेजो बिग्रिएसँगै पाचन क्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने/ढुस्स हुने, ग्यास बन्ने समस्या देखिन थाल्छ । कहिलेकाहीँ भने लक्षण नै नदेखिन पनि सक्छ । रक्तपरीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ ।

-कलेजोको प्रमुख शत्रु मद्यपान हो । अल्कोहलमा रक्सीको मात्रा पनि हुन्छ तर अत्यधिक अल्कोहल सेवनले कलेजोमा हानि पुर्‍याउँछ । कलेजोमा समस्या देखिइसकेको छ भनेचाहिँ अल्कोहल छुन पनि हुँदैन ।

-इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका प्राणघातक सरुवा रोग लाग्छन् । हेपाटाइटिस बी, सीजस्ता कलेजो बिगार्ने दीर्घरोग पनि इन्जेक्सनका माध्यमबाट सरेका हुन्छन् । अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशतले इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

-नेपालमा कलेजोमा समस्या लिएर आउनेहरू बढी मद्यपान गर्ने नै छन् । अल्कोहल सेवन गर्नेको कलेजो बिग्रिने सम्भावना ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने रङ फेरिँदै अन्ततः ९० प्रतिशतसम्म कलेजो खराब हुन्छ । रक्सी खान छोडे सामान्य अवस्थामा फर्किन्छ र औषधिले
निको पार्छ ।

-कलेजो बिग्रिएपछि पनि रक्सी सेवन नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट कलेजोलाई सही अवस्थामा फर्काउन गाह्रो हुन्छ । तर, केही समयका लागि रोकथाम भने गर्न सकिन्छ ।

-कलेजो बिग्रिएको थाहा हुँदाहुँदै पनि रक्सी सेवन गर्दै गयो भने पूरै ड्यामेज अवस्थामा पुग्छ । यो अवस्थालाई सिरोसिस भनिन्छ । यो अवस्थामा पुगेपछि ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

-अत्यधिक मदिरा सेवन गर्नेबाहेक लागुऔषध दुव्र्यसनी, पौष्टिक खाना खान नपाएका व्यक्तिको कलेजो बिग्रिने गर्छ ।

-कतिपय अवस्थामा शरीरमा आइरनको उत्पादन ह्वात्तै बढ्यो भने पनि कलेजोमा समस्या निम्तिन्छ । शरीरमा धेरै आइरन उत्पादन हुनुलाई हेमोक्रोमाटोसिस भनिन्छ । त्यसो त आवश्यक हेमोग्लोबिन निर्माण गर्न शरीरलाई आइरन आवश्यक पर्छ तर धेरै भयो भने केलेजोका लागि फाइदाजनक हुँदैन । त्यसैले वेला–वेलामा शरीरमा आइरनको मात्रा जाँच गराइराख्नुपर्छ ।

-ओभरडोज औषधि पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो । त्यसो त सबैखाले औषधिमा भन्दा पनि विशेष केही औषधिको हकमा यो लागू हुन्छ । दुखाइ र ज्वरो कम गर्ने कतिपय औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ । अन्जानमै यसले कलेजो खाइदिन सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप