केन्द्रीय संस्करण

एमालेमा एकताको बाधक तत्व को र के ?

person access_timeमाघ २६, २०७४ chat_bubble_outline0

पार्टी अध्यक्ष ओली पार्टी निर्णयअनुसार वाम एकता विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसित वान टु वान गम्भीर वार्तामा व्यस्त रहेका छन् । तर यहीबीचमा एकतामा गम्भीर आँच पुर्याउने गरी एमाले पार्टीका एकाध नेता मनोगत प्रलाप गरिरहेको देख्नु र सुन्नु परेको छ । 

ओली–प्रचण्ड वार्ता निक्कै गम्भीर देखिन्छ । यो एकता सामान्य लभ गरे जस्तो सतही र उपरी आधार, संरचना  र विषय नै होइन । यो आजीवन घरजम गर्ने,  घर परिवार र भावी सन्ततिको सुरक्षित र सुन्दर भविष्यका लागि गरिने वार्ता तथा  विषय हो । यो जैविक एकता कायम गर्ने जस्तो अत्यन्त गम्भीरतम विषय हो । यस्ता विषयले समय लिन्छ र लिनु पनि पर्छ । 

त्यसमा पनि लभ गर्दै अनि छुटानाम गर्ने वर र वधुका बीच अन्तिम पटक गरिने दाम्पत्य सम्बन्धका विषयमा निर्णय लिँदा माओले भनेझैँ सय पल्ट नाप मात्र होइन हजार पल्ट नाप अनि काट गर्नुपर्छ  । अब राम्ररी खेरखार  र वाचा बन्धन नगरी हतारमा बिहे गरेर फुर्सदमा पछुताउने जस्तो गल्ती अब दोहोरिन दिन  हुँदैन । विवाह पनि एउटा सम्झौता हो । 

यसमा पनि उमेर, योग्यता, क्षमता र हालसम्मका सामाजिक प्रचलन र परम्परागत  मान्यतालाई पनि  हेर्नुपर्छ । यस्ता विषयमा भावी वर र वधुको गम्भीर एकल वार्ताको निचोड नआउँदै लमीले बाठो भएर बोल्नै हुँदैन । अनि तिनका ज्येष्ठ  जन्तीले जन्तेबाख्रो खाने हतारमा अन्यथा बोल्न सुहाउँदैन तर यस एकतामा एकाध एमाले लमीहरू र वरिष्ठ जन्ती नै नितान्त निजी निकृष्ट स्वार्थबस छक्का दाउ हानेर शुभ लाभ प्राप्त गर्ने दाउमा रहेको देखिन्छ ।

 जनताको दलान र दरबारको रछान छुट्याउन नसक्नेहरू ओलीलाई वाचा पूरा नगर्ने धोकेवाजसम्मको फरेब फलाक्न थालेका छन् । स्वयम् पार्टी उपाध्यक्ष भीम रावलले पुष्पकमल प्रचण्डलाई विगतमा पूर्वसहमति अनुसार प्रधानमन्त्री बनाउन ओलीले कुनै धोका नदिएको बताइसकेका छन् । 

 अर्का एमाले वरिष्ठ नेता खनालले  प्रचण्डको महत्वाकाङ्क्षामा फलामे  लिस्नो लगाइदिए । भावी राष्ट्रपति   हुन आतुर, बेचैन र व्यग्र खनालले यसैलाई च्याँखे थापेर प्रचण्ड नै पार्टी अध्यक्ष हुन्छन् भनिदिए ।  तर खनालमा वैचारिक अडान भने देखिन्न । उनले नेपाल गणतन्त्र कालमा प्रवेश गरेपछि नयाँ जनवादी क्रान्ति पूरा भयो भने । राजा वा राजतन्त्र फालेको भोलिपल्ट नै जनवादी क्रान्ति पूरा भयो भन्नु र अब समाजवाद प्राप्तिमा लाग्नुपर्छ भन्ने कुरा मनोगत कुरा अहो । जबजले गणतन्त्र प्राप्तिपछि अर्थात् जनवादी वा जनताको बहुदलीय जनवादी क्रान्तिको राजनीतिक कार्यभार पूरा गर्न पनि अहिले तत्काल गरिहाल्ने  प्रमुख तीन कामको   किटानी गरेको छ । यसलाई नवौँ महाधिवेशनको प्रतिवेदनको ८.९ उपशीर्षक जनताको जनवादी व्यवस्थाको सुदृढीकरण अन्तर्गत उल्लेख गरेको छ । त्यसैगरी यही दस्तावेजमा नेपाली समाज प्रारम्भिक पुँजीवादी समाजमा रूपान्तरण भएको छ भनिएको छ (पृ.१७) । त्यसैगरी यही दस्तावेजमा जतिबेला पुँजीवादी उत्पादन पद्धतिले जन्म लियो, समाजको चरित्र पुँजीवादी भइहालेन भनिएको छ र यही लाइनमा विभिन्न उत्पादन पद्धतिहरूमध्ये जुन उत्पादन पद्धति प्रभुत्वशाली छ, त्यसैले समाजको चरित्र निर्धारण गर्छ पनि भनिएको छ (पृ.९२) । यतिका सुस्पष्ट र सपाट विषय र सामग्री हुँदाहुँदै पनि नीतिगत भ्रम छर्नु किमार्थ जाती हुँदैन ।

यसै पनि नयाँ जनवाद वा जनताको बहुदलीय जनवादका तीन मुख्य कार्यभार हुन्छन् । एक जनवादी क्रान्तिको पहिलो कार्यभार राजनीतिक हुन्छ । अहिले सामन्तवाद र यसको नायक राजतन्त्र समाप्त भएर गणतन्त्र आयो र उपरी संरचनामा परिवर्तन भएकै हो तर संविधान लागू गर्ने, कार्यान्वयन गर्न बाँकी छ र जबजले भनेझैँ सामन्तवादी शोषण उत्पीडन समूल समाप्त गर्ने कुरा त अझै बाँकी छ । त्यसपछि जबजका अनुसार पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने  अवधि पूरै बाँकी छ । अनि दोस्रो कार्यभार नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक  दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने जबजले किटान अहिले गर्नेपर्ने अवधि  छ । यति काम गरिसकेपछि जनवादी वा जनताको बहुदलीय जनवादी क्रान्ति पूरा हुन्छ । यस बेलासम्ममा राष्ट्रिय औद्योगिकीकरण भएर पुँजीगत सम्पन्नताको आधार तयार हुन्छ अनि मात्र जबजले तेस्रो चरणअन्तर्गत समाजवादमा सङ्क्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि जबजमा उल्लेख गरिएको छ । 

त्यति गरेपछि समाजवादमा नेपाली समाज प्रवेश गरेपछि पनि त्यस अवस्थामा बहुदलीय प्रतिस्पर्धालाई जबजले आत्मसात् गरेको छ र यसलाई माओवादी केन्द्रले एक्काइसौँ शताब्दीको जनवादले पनि स्वीकारेको अवस्था छ । त्यसैले वाम एकतापछि एकताको महाधिवेशन नहुन्जेल जबज र एक्काइसौँ शताब्दीको जनवाद दुवैलाई सिद्धान्तका रूपमा लिएर जानुपर्छ । यतिका विषय र सन्दर्भ वस्तुगत रूपमा उल्लेख हुँदा पनि खनाल त्यस विपरीत बोलिरहेको देखिन्छ ।

खनालले इटहरीमा सम्पन्न एमाले प्रदेश नं. १ को पहिलो सभामा नवौँ महाधिवेशनको फैसला  विपरीतको मन्तव्य नै दिए । उनीपछि बोल्ने पार्टी महासचिव तथा प्रभावशाली नेता ईश्वर पोखरेलले वरिष्ठ नेताको मन्तव्यको परोक्ष खण्डन गरेका थिए । एमाले नामको यो कस्तो पार्टी हो र तिनका एकाध नेताका मनोगत  आलाप र प्रलाप सुन्दा छक्क परिन्छ । एमाले पार्टीको उपल्लो तहका नेता छन्, त्यही पार्टीको सिद्धान्त, सङ्गठन, कार्यदिशा र कार्यक्रमबाट अगाडि बढिरहेका छन् अनि राजनीतिक र राजकीय तमाम अवसर पाएका छन् तर तमाम यथार्थ र वास्तविकता बिर्सिएर अझै अरू अवसरको भल छोप्न माओवादी पार्टीको खुल्ला खुलस्त बखान गर्छन् । यिनमा आन्दोलन  र अग्रगमनको चिन्ता पटक्क देखिन्न । कुनै नेता खुल्ला सभामा  पार्टी एकता नहुँदै हाम्रो अध्यक्ष प्रचण्ड भन्छन् । कोही जबज सिद्धान्त च्यात्ने कुरा खुलेआम गर्छन् अनि कोही चुनावमा बाउबाउ भनेर ओली गान गर्छन् अनि चुनाव जितेपछि बाउ सन्न्यास जाउ भन्छन् । यो दुनियाँ हँसाउने गतिविधि देख्नु परेको छ ।

यी सबै गतिविधि विलकुल नितान्त  निजी स्वार्थ केन्द्रित गतिविधि हुन् । ओली भने यो देशको समृद्धि, जनताको खुसहाली र आन्दोलन र यसका आधारहरू सुरक्षित राख्न भरमग्दुर प्रयत्नमा छन् । उनी सुदूर र सुन्दर भविष्यका लागि मन, वचन र कर्मले एकाग्र छन् । अरूले जस्तै कपट र खोटी मनले काम गर्थे भने देशमा अहिलेको जस्तो अकल्पनीय परिवर्तन हुनै सक्ने थिएन । खनाल र नेपाल सबैले त पार्टी प्रमुख र प्रधानमन्त्री भएकै हुन् त । सत्ता, शक्ति र सम्पत्तिमा अनाशक्त ओली लामो समय चुपचाप नै रहेकै हुन् र खनाल र नेपाललाई अपूर्वसाथ सहयोग गरेकै हुन् त । तर माखो नमरेपछि ओली जबर्जस्त रूपमा एकपछि अर्को गर्दै शिखरारोहण गरेको होइन र ? अहिले पनि ओली फाउ जिन्दगी देश, जनता र जनजीविकाका लागि भरपुर सदुपयोग गर्ने प्रणमा छन् । 

तर नितान्त स्वार्थ केन्द्रित एमाले जनलाई ओली उदय अपाच्य त भएकै थियो, अहिले ओलीको महानतम उद्देश्य अपाच्य हुन थालेको देखिन्छ । हिजैको लिङ्ग पहिचान नभएको एमाले नेपालको मात्रै होइन, विश्व राजनीतिको केन्द्रीय चासो बनेको छ । 

अहिले त पार्टी एकता नहुँदै प्रचण्डको आरती उतार्नेहरू आफ्नो स्वार्थ पूरा हुने बित्तिकै तिनलाई राक्षसी वर्णन सुरु गर्नेछन् । अहिले माधवकुमार नेपालको तारिफ गर्नेहरू एक समय उनै नेपाललाई सेक्स अपिल गर्ने अनुहार नभएको नेता पनि भन्थे । ओलीले आफूलाई वानप्रस्थको सल्लाह दिने नेतालाई राम्ररी सम्झाएछन् । यसबाट ओली सकेसम्म सम्झाइबुझाइ गर्दा रहेछन् तर आहारिस र आलोचना गर्ने कसम खाएकाहरू कहाँबाट परिचालित भएर यस खालको तमासा गरिरहेका छन् बिस्तारै खुल्ने नै छ ।

नत्र कुन बेला के बोल्ने भन्ने कुरा पनि थाहा नपाउने सामान्य ज्ञान नभएको वुजु्रक नेता एमालेमा होला र त्यतिमाथि ती कसरी पुगे होलान् ? एउटा कुरा चाहिँ साँचो के हो भने गुटगत राजनीतिका कारण एमाले पार्टी भद्रगोलको स्तरमा पुगेको कुरामा अब शङ्क छैन । 

लोभी, पापी, शर्म, बेसर्म, नैतिक अनैतिक, योग्य र अयोग्य भन्ने कुराको लामो समय पूरै बेवास्ता गरिएको देखियो । यसमा ओलीले लगाम लगाउन खोजेकै हुन् तर यस्तो भइगयो कि पूरै लगाम लगाउने हो भने ओली एक्लो बृहस्पति हुने खतरा देखिन्छ । यसो गर्दा केही ओली वृत्तकालाई  पनि  खतराको घण्टी बज्ने देखिन्छ । 

अहिले गर्न लागिएको वाम एकता छुटी भिन्न भएका परिवारका बीचको मिलन पनि हो, छुटी भिन्न भएर बाक्लो दाल खान पल्केकाहरू अब संयुक्र परिवार बन्ने हो । यसले कामकाजी पारिवारिक सदस्यलाई त केही फरक पर्दैन । ऊ पद, पैसा र प्रतिष्ठालाई खासै वास्ता नगरी लुरुलुरु र खुरुखुरु निरन्तर काममा लागि रहन्छ । तर अर्को र अरू सदस्यहरू पद, प्रतिष्ठा र पैसालाई केन्द्र बनाएर त्यसैको ध्याउन्नामा हुन्छन् । अनि त्यसले त्यस कुरामा तलमाथि पर्ने सुइको पायो भने तिनले भोलि प्रचण्डलाई दाल सरह दल्ने निश्चित छ । 

त्यसैले अहिले सङ्घ र प्रदेशमा प्राप्त वाम वर्चस्व यिनै र यस्तै सिलबरे नेता प्रवृत्तिले खस्किन सक्छ ।  जबजकै बारेमा खनाल आजका दिनसम्म पनि हार्दिक रूपमा स्वीकार र समर्थनमा छैनन् । आफूमा अन्तनिर्हित अहम्वादी सामन्तवादी सांस्कृतिक अवशेषले उनलाई सहज रूपमा जबजलाई आत्मसात् गर्न दिइरहेको छैन । त्यसैले त जबजका बारेमा बोल्दा उनी अष्टबक्र मात्र होइन अठारबक्र कुरा गर्छन् । पदका लागि आफू मरिहत्ते गर्ने मानिस होइन  भनी भनी पदका लागि बेचैन देखिन्छन् । 

 ओली आफ्नै पार्टीका विसङ्गत व्यवहारका कारण पीडित रहेका हुन् । उनको प्रतिभा र क्षमताको परख गरेका केही नेताले भित्रभित्रै ओलीको व्यक्तिगत र राजनीतिक छवि धमिल्याउने अनेक चाल चलेको कुराको यही लेखक साक्षी छ । 

जननेता मदन भण्डारीले आफ्नो एक कवितांशमा कतिपय मानिस आफूमा तर्क सकिएपछि  रिसाउँछ, अनि आफैँले गल्ती गरेपछि रिसाउँछ अनि आफू हार्ने अवस्था आएपछि रिसाउँछ । ओलीको यति अद्भूत प्रतिभा र क्षमताको गला घोट्न उद्यत एकाध एमाले जनका अठारवक्र चरित्रले बाम एकताका विषयमा ओलीलाई अझ गम्भीर बन्न बाध्य बनाएको छ ।

 किनकि प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी, सरकार र सत्तामा रैँदालो गर्न उद्यत तत्वले नै सम्भव एकतालाई धरापमा पार्ने र एकता भयो भने पनि त्यसमा धाँजा पार्ने निश्चित जस्तै देखिन्छ ।     

(लेखकको निजि विचार)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ